काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालले खानेपानी मन्त्रालयमा सरसफाइ पनि थप गरी मन्त्रालयको नाम खानेपानी तथा सरसफाइ मन्त्रालय कायम हुने व्यबस्था मिलाउन प्रधानमन्त्री के.पी. शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । खानेपानी र सरसफाइ एक अर्काको परिपूरक रहेको र सरसफाइ अभियानका कारण पानीजन्य रोगमा समेत कमी आएकाले भविश्यमा समेत यस अभियानलाई निरन्तरता दिन आवश्यक रहेकाले महासङघको टोलीले माग पत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
यस अघि समेत खानेपानी तथा सरसफाइ हेर्ने मन्त्रालय एउटै रहेको र सरकारले नेतृत्व गर्ने दक्षिण एसियाली सरसफाइ सम्मेलनले समेत सरसफाइलाई प्राथमिकतामा राखेकाले खानेपानी मन्त्रालयमा सरसफाइ थप गर्न माग गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।
खानेपानीको छुट्टै मन्त्रालय स्थापना गरेको भन्दै महासङघले प्रधानमन्त्री ओलीलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
संयुक्त रास्ट्र सङ्घले खानेपानी र सरसफाइलाई सन २०११ मै मानव अधिकारको रुपमा घोषणा गरिसकेको छ । नेपाल यसको पक्ष रास्ट्र हो भने नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ ले मौलिक अधिकारको रुपमा व्याख्या गरेको छ । देशभर सरसफाइ अभियान चलिरहेको बेला नव गठित मन्त्रालयको नाममा सरसफाइको नाम छुटाएर खानेपानी मात्र राखेर सरसफाइलाई उपेक्षित गरेको सरसफाइ अभियन्ताहरु बताउँछन ।


1880 पटक हेरिएको 

