सोलुखुम्बु : सोलुखुम्बु जिल्लाका सबै स्थानीय तहलाई खुला दिसामुक्त घोषणा नगरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी भएको छ । सोलुखुम्बु जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न उपयुक्त रहे नरहेको अनुगमन गर्न आरवाससीसीको टोली सोलुखुम्बु आएको हो ।
सोलु दुधकुण्ड नगरपालिकालाई खुला दिसामुक्त घोषणा नगरी जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आरवाससीसीलाई अनुगमन गरिदिन पत्र पठाएपछि क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटाका मोहन धिताल संयोजकत्वको टोलीले जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेको हो ।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटाबाट आएको टोलीले सोलु दुधकुण्ड नगरपालिकाको वडा नंं. ५, ८ र ११ तथा नेचा सल्यान गाउँपालिकाको वडा नं. ३ को अनुगमन गर्ने भएको छ । सबै स्थानीय तहलाई खुला दिसामुक्त घोषणा नगरी जिल्लालाई नै खुलादिसामुक्त घोषणा गर्न अनुगमन गरिदिन बोलाएपछि अनुगमन टोली नै आश्चर्यमा परेको छ ।
‘हामी त बोलाएपछि आएका हौं, तर नगरपालिका नै खुलादिसामुक्त घोषणा भएको रहेनछ, यस्तो अवस्थामा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कुरा नै अगाडि बढ्न सक्दैन’ अनुगमन टोलीका सदस्य खगेन्द्र प्रसाद अधिकारीले भन्नुभयो ।
सरसफाइ गुरुयोजना २०६८ ले वडा तहलाई खुला दिसामुक्त घोषणा गरेपछि साबिकको गाउँ विकास समिति र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने र अन्त्यमा सबै गाउँ विकास समिति तथा नगरपालिकालाई खुला दिसामुक्त गरेपछि मात्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।
सुआहारा २ लाई पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्न स्वीकृति
सुआहारा २ लाई थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ नेलेमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले स्वीकृति दिएको छ ।
यसअघि सुआहाराकै सक्रियतामा खुला दिसामुक्त घोषणा भएको नेलेमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्न डीवाससीसीमा अनुरोध गरेको थियो । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटाबाट आएको टोलीका सदस्यहरु सहित बसेको डीवाससीसीको बैठकले सुआहारा २ लाई पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
डीवाससीसी र एमवाससीसी बीच समन्वय अभाव
डीवाससीसी र एमवाससीसी बीच समन्वयको अभाव देखिएको छ । सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले खुला दिसामुक्त अभियानमा खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको तर्फबाट कुनै पनि काम नभएको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रको वडा नं. ५ र ६ मा हरेकको घरमा चर्पी भएपनि सेफ्टी ट्याङ्क नभएकाले खुला दिसामुक्त घोषणा गर्ने आधार तयार भइनसकेको बताउनुभयो ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सोलुखुम्बुका सदस्य सचिव एवं खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयका प्रमुख कुल प्रसाद शर्माले घर घरमा चर्पी निर्माण भएपछि खुला दिसामुक्त गर्न सकिने र ढलको समस्या खुला दिसामुक्त घोषणा पछि सञ्चालन हुने पूर्ण सरसफाइ कार्यक्रमले समेट्ने बताउनुभयो ।
नगरपालिका प्रमुख शेर्पाले डिभिजन प्रमुख शर्माले बेला बेलामा कुरा फेरिरहेको आरोप समेत लगाउनुभयो । ‘खानेपानी र सरसफाइका लागि २५ लाख रुपैयाँ बजेट आएको र त्यो रकम ढल निकासमा खर्च गर्ने बताउनुभएको थियो तर अहिले कुरा नै गर्न रुचाउनुहुन्न, मैले यस विषयमा बैठक राख्नका लागि आग्रह गर्दा समेत मानिरहनुभएको छैन’ प्रमुख शेर्पाले भन्नुभयो ।
तर डिभिजन प्रमुख शर्माले भने त्यो रकम अहिले पनि खर्च गर्न बाँकी रहेको र आफ्नो मात्र एकल निर्णयले नहुने भएकाले डीवाससीसीको बैठकबाट सरसफाइ प्रबद्र्धनमा लगानी गर्न सकिने बताउनुभयो ।
जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख इञ्जिनियर बुद्धि नारायण श्रेष्ठले अनुगमन टोलीको धारणा एउटै हुनुपर्ने र सरसफाइको क्षेत्रमा जिल्लामा क्रियाशील संघसंस्थाबीच विवाद सिर्जना गराउन नहुनेमा जोड दिनुभयो । पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्ने दिइने विषयमा अनुगमनका लागि आएको टोलीका सदस्यहरुले फरक फरक धारणा राखेपछि इञ्जिनियर श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नगरपालिकालाई खुला दिसामुक्त घोषणा नगरी जिल्लालाई नै खुला दिसामुक्त गर्न लागे पनि पाएको जिम्मेवारी पूरा गरी अनुगमनबाट प्राप्त नतिजालाई विभागमा पेश गर्ने अनुगमन समितिका संयोजक मोहन धितालले बताउनुभयो ।
डिवाससीसीका अध्यक्ष बीर कुमार राईले पनि अहिलेकै अवस्थामा जिल्लालाई ओडिएफ घोषणा गर्न उपयुक्त नहुने बताउनुभयो ।


917 पटक हेरिएको 

