नुवाकोट : नुवाकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने मिति सकिन दुई हप्ता मात्र बाँकी रहँदा प्रमुख नेताकै गाउँ खुला दिसामुक्त घोषणा हुन सकेको छैन । पूर्व अर्थमञ्त्री डा. रामशरण महतको साविक गा.वि.स कविलास र खानेपानी तथा सरसफाइ मञ्त्रालयकै जिम्मा लिएको दलको नेतृत्वमा रहेका दुई गाउँपालिका ककनी र पञ्चकन्यालाई अझै खुला दिसामुक्त घोषणा गर्न नसकेको हो ।
सरसफाइ कभरेजका दृष्टिकोणबाट अव्वल रहेको पञ्चकन्या गाउँपालिका नेतृत्व सम्हालेका पदाधिकारीकै सरसफाइ प्रतिको उदासीनताका कारण खुला दिसामुक्त घोषणा हुन सकेको छैन भने गाउँपालिकाले सरसफाइका काममा न्यूनतम् सयय समेत नदिंदा खुलादिसामुक्त घोषणाको आन्तरिक तयारी समेत गर्न सकिएको छैन ।
यसैगरी नुवाकोटमा ककनी गाउँपालिका सरसफाइ कभरेजका दृष्टिकोणबाट जिल्लाकै अत्यन्त कमजोर इलाकामा पर्दछ । साविकका ओखरपौवा, थानसिंङ, ककनी, मदानपूर र चतुराले गा.वि.स मिलेर बनेको यस गाउँपालिकाको साविक चतुरा खुलादिसामुक्त घोषणा भइसकेको छ भने थानसिंङ र मदानपूरमा शतप्रतिशत कभरेज भएको बताइएको छ तर साविक ककनी र ओखरपौवाको समग्र अवस्था हेर्दा अत्यन्त नाजुक रहेको छ ।
त्यसो त यस क्षेत्रमा सरकारी तथा गैर सरकारी क्षेत्रले पनि सहयोग नगरेका होइनन् तर नेतृत्व नै उदासीन बनिदिए पछि खुलादिसामुक्त अभियान प्रभावित बनेको हो । यति मात्र नभई स्थानीय निकायको चुनाव पछि नुवाकोटमा भएका कुनै पनि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकमा ककनी गाउँपािलकाका अध्यक्षको उपस्थिति रहेको छैन ।
ओखरपौवा र ककनीलाई खुलादिसामुक्त घोषणा गर्ने जिम्मेवारी लिएको सुआहारा कार्यक्रमले अथक प्रयास गर्दा पनि हाल सम्म ककनी ४ मात्र खुलादिसामुक्त घोषणका लागि तयार भएको छ ।


978 पटक हेरिएको 

