हिमाली र पहाडी भेगका धेरै जसो जिल्लाको सरसफाइ अवस्था मजबुत बन्दै गएपनि तराई मधेसका केही जिल्लाको सरसफाइ अवस्था अझै पनि निक्कै नाजुक छ । प्रदेश २ का ८ वटा जिल्लाको सरसफाइको अवस्था सुधार्न विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकाय एकत्रित भएर लाग्दा समेत अपेक्षाकृत रुपमा प्रगति भएको छैन । केही समय अघि विकास साझेदार तथा सरकारी निकायको संयुक्त टोलीले ती जिल्लाको सरसफाइको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ती जिल्लाको सरसफाइको अवस्था कस्तो पाउनुभयो ? वास सम्वादको शुरुमा हामीले वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा लाई यही प्रश्न गरेका थियौं ।

हामीले धनुषादेखि पर्सासम्मको जिल्लाको सरसफाइको अवस्था अध्ययन गर्यौं । भ्रमणमा त्यहाँका बासिन्दाहरु यत्ति उत्साहित भएको पाएँ कि, म पनि थप उत्साहित भएको छु । सिरहा त खुला दिसामुक्त घोषणा नै भईसक्यो, यस्तै सप्तरी पनि ९९ प्रतिशत पुगिसकेको छ अब आरवाससीसीले अनुगमन गर्न मात्र बाँकी छ ।
धनुषाको ढल्केबरदेखि पर्साको पथलैयासम्मको भु भागको तथ्यांकलाई सरसर्ती केलाउँदा के देखिएको छ भने धनुषा र रौतहटको गति एकैनाशको छ । धनुषाको कभरेज लगभग ९२ प्रतिशत छ भने रौतहटको पनि त्यही हाराहारीमा छ । ९० प्रतिशत जत्ति छ सप्तरीको ।
महोत्तरीको कभरेज ८६ प्रतिशत पुगेको छ, त्यसपछि सर्लाही ८५ प्रतिशतमा छ र पर्सा पनि ८६ प्रतिशतको हाराहारीमा छ । बारा सरसफाइमा सबैभन्दा पछाडि अर्थात ७३ प्रतिशतमा भएपनि बाराको प्रगति राम्रो छ । बारामा सरसफाइले राम्रो गति लिएको छ । यसरी प्रदेश २ का जिल्लाहरुको सरसफाइको अवस्था हेरेपछि जिल्लाहरु अगाडि र खानेपानी तथा ढल निकास विभाग, वातावरणीय शाखा र मन्त्रालय चाहिं पछि परेको महसुस गरेको छु ।
जिल्ला अगाडि तर ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखा र मन्त्रालय चाहिं पछाडि यो चाहिं कसरी भयो ?
यो प्रश्न चाहिं अलि जटिल छ । तर जिल्लामा धेरै काम भएपनि केन्द्रमा तत्काल त्यसको तथ्यांक अद्यावधिक नहुने, जिल्लाका सबै सरोकारवाला बीच केही समन्वय अभाव जस्ता कारणले जिल्ला अगाडि र हाम्रो मन्त्रालय तथा विभाग र शाखा पछाडि परेको मैले फिल्ड भिजिट बाट महसुस गरेको छु ।
हामीले सन् २०१७ को अन्त्यसम्ममा खुला दिसामुक्त राष्ट्र बनाउने लक्ष्य पूरा हुन सकेन, यो अधुरो लक्ष्य २०७४ सालको अन्त्यसम्ममा त पूरा होला भनेका थियौं, अब यो पनि सम्भव देखिएन, देशले कहिलेसम्ममा खुलादिसामुक्त राष्ट्रको पहिचान बनाउँला ?
सन् २०१७ सम्ममा त सकेनौं, तर त्यो पक्षमा म छैन ।
के सक्यौ त ?
होइन, सक्न त सकेनौं तर कस्तो छ भने १०० मा ठ्याक्कै १०० नम्बर लिखित परीक्षामा पनि आउँदैन । हाम्रो विगत हेरौं, सन् १९९० मा हामी ६ प्रतिशतबाट अगाडि बढेका थियौं अहिले हामी ९६ प्रतिशत पुगिसकेको भनेपछि त हामीले विशिष्ट श्रेणी प्राप्त गरिसकेका छौं । ९६ मा पुगिसकेको हुनाले हामीलाई अब ग्रेस मार्क मात्र चाहिएको छ । हामीले पास गर्नुपर्ने नम्बरमा मोटामोटी ४ ( ५ नम्बर नपुगेको मात्र हो र अहिले हामी ग्रेस पिरियडमा छौं ।
हो, सन् २०१७ भित्र खुला दिसामुक्त राष्ट्र बनाउने सरसफाइ गुरुयोजनाको लक्ष्य थियो तर लक्ष्य पूरा गर्न थोरै मात्र बाँकी छ । खास गरी सरसफाइमा पछाडि रहेको २ नम्बर प्रदेशमा घुमेर आएपछि म के भन्न सक्छु भने ठ्याक्कै मिति तोक्न नसके पनि नेपाल अब चाँडो भन्दा चाँडो खुला दिसामुक्त हुने अवस्थामा पुग्दैछ । अब ७२ ७३ प्रतिशतको हाराहारीमा रहेका जिल्ला बाहेक अन्य सबै जिल्ला चाँडै खुला दिसामुक्त घोषणा हुने चरणमा पुग्नेछन् ।
प्रदेश नं. २ का जिल्लाहरु सरसफाइमा पछाडि छन् । यसैका कारण समग्र सरसफाइको आँकडालाई समेत प्रभावित बनाएको छ । झण्डै १ लाख चर्पी प्रदेश २ कै जिल्लाहरुमा बनाउनुपर्ने देखिन्छ । अन्य जिल्लाको दाँजोमा पुग्न के कुराले रोकेको रहेछ ती जिल्लालाई ?
सरसफाइ गुरुयोजना सन् २०११ मा आएको थियो । तर २ नम्बर प्रदेशमा सरसफाइ अभियान सञ्चालन हुन थालेको २ बर्ष मात्र हुँदैछ । एक त अरु जिल्लामा भन्दा ढिला गरी सरसफाइ अभियान शुरु भयो । जहाँ अफ्ठ्यारो छ त्यहाँ शुरुमै सरसफाइ अभियान शुरु हुनुपथ्र्यो ।
दुई बर्षमा भएको यो प्रगतिलाई उल्लेख्य मान्नुपर्छ । अर्को कुरा त्यहाँका बासिन्दालाई सदियौंदेखि खुला ठाउँमा दिसा गर्ने संस्कृतिले छुट दिएको छ । एकैचोटी हामीले टोइलेटमा हुल्दैछौं भने गाह्रो अवश्य हुन्छ । तर मलाई लाग्छ २ नम्बर प्रदेशमा चुनौती भन्दा अवसर बढी छन् ।
म सँग दुई वटा एजेण्डा छन् । बाँकी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने र ती जिल्ला खुला दिसामुक्त भइसकेपछि नेपाल राज्यभरि दिगो विकास लक्ष्य ६ नम्बरले दिएको कार्यदेश बमोजिम पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाउने ।
वास खबरलाई समय दिनुभयो, समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यबाद
धन्यबाद ! वास खबरलाई पनि, अन्त्यमा म के भन्न चाहन्छु भने एक्काइसौं शताब्दीमा मानिसहरु चन्द्रमा घर बनाउँदैछन्, तर हामीले खान जान्यौं, बिसर्जन गर्न जानेनौ ।
त्यसैले यदि तपाईको घरमा चर्पी छैन भने चाँडै चर्पी बनाउनुहोस्, तब यो सगरमाथाको देश, बुद्धको देश, जानकी माताको देश, हलेसी महादेवको देश पवित्र हुनेछ, स्वच्छ हुनेछ र नेपाल राष्ट्र दक्षिण एसियाली मुलुकहरुमै नमुना देश बन्नेछ ।


728 पटक हेरिएको 

