धर्तीलाई माया गर्ने “लिटल च्याम्प”, जो खोज्दैछन् सरसफाइभित्र समृद्धि र समुन्नति

विनोद धौलागिरि, पृथ्वीनगर, झापा

उनीहरुको दैनिकी आफूलाई जन्म दिने बुबा आमासँग वाद–विवाद–प्रतिवाद गर्दै थालनी हुन्छ, “मुमा, तपाईले आँगनमा फाल्नुभएको फोहर एकैछिनमा घरभित्र आइपुग्छ, तपाईले फाल्नुभएको सूर्तीको खोलले हजारौं व्यक्तिलाई प्राणवायु दिने विरुवाको जरालाई माटोमा घुस्नबाट रोकिरहेको हुन्छ, बुबा ∕”

यसमा, उनीहरुलाई रत्तिभर दिक्दारी, ग्लानी र थकान छैन । उनीहरुलाई थाहा छ, आफूलाई जन्म दिने बुबा आमा आफ्ना लागि भगवान सरह हुन्छन् । तर, यो तीतो सत्य पनि वोध गरेका छन् कि आफूहरुको अस्तित्व जोगाउने धरर्ती अर्थात् पृथ्वी त्यस भगवानभन्दा पनि महान् हुन्छ । “हामीलाई यही धर्तीले अड्याएको छ, यही धर्तीले हाम्रो जीवन दिएको छ, र यही धर्तीले हाम्रो पहिचान कायम गरिदिएको छ”, भद्रपुर नगरपालिका, वडा नं. २ का किशोर विकल्प खनालको प्रतिवद्धता छ, “आफ्नी आमा समान मानेको यही धरतीलाई माया नगर्नेविरुद्ध जस्तोसुकै कठोर युद्ध लड्नुपरे पनि म लड्न तयार छु ।”

 

किशोर विकल्प खनाल आफूलाई जन्म दिने आमा र आफ्नो अस्तित्वको रक्षा गर्ने आमाबीच तुलना गर्छन्, “मलाई जन्म दिने आमा बोलेर आफ्ना कुरा राख्न सक्नुहुन्छ, तर मेरा पूर्खालाई जीवन दिने मेरी धरतीमाता न बोल्न सक्नुहुन्छ, न त आफ्ना कुरा अभिव्यक्त गर्न नै सक्नुहुन्छ ।”

मान्छेसँग बोलेर, कुरा गरेर, उसको इतिहास लिएर, विभिन्न प्राविधिक परीक्षण गरेर र अनुमान गरेर, जोखिमको बारेमा आँकलन गर्दै विरामीको औषधी लेखिदिने ‘डाक्टर’ र बोल्न नसक्ने पशुको सीमित प्राविधिक परीक्षण र आँकलनकै भरमा औषधी र सुझाव दिएर उसलाई निको पार्नका लागि ‘जोखिम’ मल्ने पशु चिकित्सकबीच तुलना गर्छन् किशोर विवेक ढकाल । “मलाई सुविधामा उपचार गर्ने मानिसको ‘डाक्टर सा’प’ बन्नुभन्दा अवोधको उपचार गर्ने ‘भेटेरिनरियन’जस्तै बन्नुमै धेरै खुशी छ”, उनी भन्छन्, “धर्तीको प्रशासक होइन, यसको सेवक बन्नुमै मैले मेरो अस्तित्वको रक्षा देखिरहेको छु ।”

 

थालनी, एक जटिल यात्राको

हेलित, अर्घेलिएको र कसैले पनि अँगाल्न नचाहने पहिचान हो ‘सरसफाइकर्मी’ । अहिले पनि, सरसफाइकर्मीको अर्को पहिचान हो, झाडुवाला । यही पहिचानभित्र आफ्नो भविष्य, र ‘दायित्व’ को खोजी गरिरहेका छन् विवेक र विकल्पजस्तै अरु दर्जन किशोर वयहरु । “हामीलाई थाहा छ, यो ‘कर्पोरेट’ समयमा आफूलाई सरसफाइमा समर्पित गर्नु एक जटिल यात्रा हो”, विकल्प प्रश्न गर्छन्, “समग्र समृद्धि यसैमा छ, र हामीले ‘सत्य’ लाई चिनेका छौं भने पहिचानका लागि भौंतारिनुपर्ने किन ?”

 

नेपालको पूर्वी प्रवेशद्वारको रुपमा रहेको झापाको सदरमुकाम भद्रपुरको वडा नं. १ र २ मा बसोबास गर्ने विवेक र विकल्पहरुको सपना छ, “आफू बस्ने धर्तीलाई माया गर्ने पुस्ता जन्माएर छोड्नपाए सन्तोषले मर्न पाइन्थ्यो ।”

वास्तवमा, वर्तमानको सामाजिक बुझाइ उनीहरुका लागि अनुकूल छैन । समय, परिवेश र परिस्थितिले पनि उनीहरुलाई चुनौति थपिदिएको छ । उनीहरुको व्यस्त दैनिकी र अध्ययनको ‘रुटिन’ उनीहरुका लागि थप कठिनाइ हुन् । तर पनि, उनीहरुमा पराजयको छनक भेटिदैन । “सत्यको वीऊ जोगाउने हामीजस्ता दुई चार जना सक्रिय भएनौं भने यस दुनियालाई सकारात्मक बाटोमा लैजाने कसले ?”, उनीहरुको सामुहिक जिज्ञासा छ ।

वास्तवमा नै, सामाजिक काम आफैमा फुर्सद निकालेर गर्नुपर्ने दायित्व हो, त्यसमाथि किशोरहरुका लागि अझै धेरै परिवन्द र वाध्यताहरु । “घरबाट समय निकाल्नै पनि कठिन हुन्छ, त्यसमाथि हामीले गर्ने निर्णयहरु र हाम्रा कदमहरुमा सामाजिक स्वीकृति पाउन झनै कठिन हुन्छ”, सदस्य अमर बस्याल भन्छन्, “सृजना, परिष्कार, नयापन र स्वीकृतिको चौतर्फी खडेरीको मनोवैज्ञानिक समस्याबीच भुमरीमा परिरहेका हुन्छौं हामी ।”

समुदाय सफा राख्ने काममा किशोरहरु खट्नु र दूर क्षितिजको सपना पूरा गर्न दौडिनु त्यसै पनि चुनौतिपूर्ण कार्य हो नै । त्यसमाथि अर्को कठिनाइ छ औपचारिक मान्यता, आर्थिक साधन श्रोत र विषयगत सहयोगको ।

 

उनीहरुले अनौपचारिक सञ्जाल बनाएका छन् यस्तै सरसफाइका ‘पागल’हरुको । यसलाई उनीहरुले दर्ता गरेका छैनन् । “पहिले समुदायले आफ्नो दिल र दिमागले स्वीकृति र दर्ता गर्न सक्नुप¥यो नि हाम्रो प्रयासलाई”, सदस्य मदन मगरको भनाइ छ, “समुदायको मन मस्तिष्कमा बस्न नसकेसम्म प्रशासन कार्यालयमा दर्ता भएर समुदायले वास्तविक रुपमा केही पनि पाउन सक्तैन ।”

औपचारिक रुपमा दर्ता नभएका कारण उनीहरुका प्रयासहरु धेरै ठाउँमा अस्वीकृत भएका छन् । “सिंगो समाजले देख्ने कामलाई पनि एउटा कागजको टुक्राले ‘औपचारिकता’ दिनुपर्ने रहेछ, है ?”, विकल्प प्रश्न गर्छन्, “हाम्रो प्रयासले औपचारिकता नपाएका कारण हाम्रा साश्वत अनुरोधहरु गर्भमै तुहिएर गएका छन् । के यो न्याय हो ?”

सरकारले औपचारिक संस्था खोज्छ काम गर्नका लागि, स्थानीय तहले दर्ता नम्बर खोज्छ, दाताले दर्ता प्रमाणपत्र खोज्छ । “यहाँ काम गर्ने दिल र दिमाग कसैले नखोज्ने रहेछ”, मदन मगर भन्छन्, “साँचो अर्थमा, स्वयंसेवा यान्त्रीकरण भएछ, र मरेछ ।”

 

“हामीले खुल्लामा दिसा गर्नुहुँदैन भनेर आवाज उठायौं, फोहर बाहिर नफालौं भनेर अनुरोध ग¥यौं, सडक बनाउने नाममा वर्षैभरि धूलो उडाएर हजारौंको ज्यान जोखिममा नपारौं भनेर विन्तीपत्र चढायौं, प्लास्टिकले धरतीलाई मार्छ, यसको प्रयोग कम गरौं भनेर सार्वजनिक स्थानमा सूचना टाँस्यौं”, उनको भनाइ छ, “यस्तो सूचना जारी गर्ने तँ को होस् भनेर हामीलाई हतोत्साह गर्नेगरी धम्कीहरु समेत आए ।”

गोलबन्दीको थालनी

नयाँ वर्ष २०७४ सँगै संगठित हुन थालेका किशोर किशोरीहरुले घर, आँगन र गल्ली बढार्दा बढार्दै क्लब स्थापना गरे : युथ यूनियन क्लब । क्लब बनिसकेपछि उनीहरुको पहिलो काम मानिसलाई फोहर जथाभावी नगर्ने र निश्चित स्थानमा फाल्नका लागि बानी पार्नुपर्ने थियो । यससँगै काम गर्ने तौरतरिकाको बारेमा युवाहरुलाई सचेतीकरण समेत गर्नुपर्ने थियो ।

“त्यसैले, हामीले युवाहरुलाई अभिमुखीकरण र विद्यार्थीहरुलाई सचेतीकरण गर्न थाल्यौं । विद्यालय र टोल तहमा समेत पुग्यौं सचेतनाका लागि”, अमर बस्याल भन्छन्, “हामीसँग ब्यानर लेख्ने रकम पनि थिएन, खाजा खाने पैसाबाट छुट्याएर हाम्रो प्रयासलाई संस्थागत रुप दिने प्रयास ग-यौं, र पहिलो पटक ब्यानर तयार ग-यौं ।”

सानो सानो सहयोग जम्मा गरी फोहर जम्मा गर्नका लागि सिमेण्टको रिङ तयार गरे आफ्नै हातले । ती रिङलाई रिक्सामा राखेर ठेल्दै सार्वजनिक चोकहरुमा पु-याए । रिङ रंग्याए र ‘फोहर मलाई’ लेखे । “त्यही रिङ राखिएको ठाउँमा उभिएर गुट्खा खाई खोललाई रिङ बाहिर फ्याँक्ने जमातको बहुमत छ अझै पनि”, विकल्प भन्छन् ।

 

 

उनीहरुले कुनै पनि सामाजिक अभियान, मेला, जात्रा, पर्व र जमघटहरुमा आफ्नो उपस्थिति छुटाउँदैनन् । सरसफाइका बारेमा बोल्छन् । “मानिसको मानसिकतामा परिवर्तन ल्याउनु सबैभन्दा कठिन रहेछ”, विकल्प भन्छन्, “सार्वजनिक सम्पत्तिलाई माया गर्ने वानी नपरेसम्म समाज सुधार्न नसकिने रहेछ । सार्वजनिक स्थललाई पनि सबैले आफ्नो दायित्वभित्रको स्थलको रुपमा लिनुपर्नेमा सबैले सरकारको सम्पत्तिको रुपमा लिन्छन् । यो नै सबैभन्दा ठूलो विडम्वना हो ।”

सह्दयीहरुबाट सानो सानो सहयोग जम्मा गर्छन् । यही जनवरीमा ओमनबाट मुकेश लिम्बूले पठाएको ५ हजार ६ सय ६९ रुपैयाँ नै उनीहरुले प्राप्त गरेको पहिलो बाह्य सहयोग हो । यस्ता सबै सहयोगलाई उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छन्, एउटा रजिष्टरमा आय व्यय दुरुस्त राख्छन् ।

खुल्ला दिसामुक्त अभियानमा साथ

भद्रपुर नगरपालिका, वडा नं. १ र २ पर्दछ साविक पृथ्वीनगर । मिश्रित बस्ती, सबै जागरुक, मेची राजमार्गले चिरेर जान्छ पृथ्वीनगरलाई । बाहिरबाट हेर्नेहरुले यहाँका सबै घरमा चर्पी देख्छन् । यथार्थ भने फरक छ । ३ हजार ७ सय १२ घरधुरी रहेको पृथ्वीनगरका १ हजार ६९ घरधुरीमा सुरक्षित शौचालय थिएनन् एक वर्ष अघिसम्म । २०७४ सालभरि खुल्ला दिसामुक्त अभियानका सहयोगीहरुसँगै युथ यूनियन क्लबका नवयुवाहरुले जोरप्रयास गरे । एक वर्षमा ६ सय ६४ घरमा सुरक्षित शौचालय बने ।

पृथ्वीनगरलाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकिसकिएको छ, अब ३० दिनमात्र बाँकी छन् । अझै ४ सय ५ घरमा सुरक्षित चर्पी निर्माण गर्नुपर्नेछ । “अहिलेसम्म प्रतिदिन औसत दुई वटाका दरले चर्पी बने । अब भने प्रत्येक दुई दिनमा २७ चर्पी निर्माण गर्नुपर्नेछ”, अध्यक्ष विकल्प खनालको भनाइ छ, “यो नै हाम्रो लागि सबैभन्दा ठूलो चुनौति हो ।”

 

उनीहरुलाई यो पनि थाहा छ, अब चर्पी बनाउन बाँकी घरधुरीमा सुरक्षित चर्पी बनाउनु त्यति सहज छैन । बाहिरबाट हेर्दा सुरक्षितजस्तै लाग्ने असुरक्षित चर्पीहरु छन् प्रत्येकजसो घरमा । पुरानो चर्पी नभत्काइकन नयाँ चर्पी बनाउन कोही तयार हुँदैनन् । “मानिसको वानी व्यवहारमा परिवर्तन ल्याउनु सबैभन्दा कठिन रहेछ”, विकल्प निस्कर्ष सुनाउँछन् ।

साना कदम, विशाल सपना

यी युवाहरुको कार्यसूचीको पहिलो नम्बरमा रहेको छ पृथ्वीनगरलाई खुल्ला दिसामुक्त गर्ने कार्य । “यसपछि नगरपालिकाले तयार गरेको पूर्ण सरसफाइ कार्ययोजनालाई हाम्रो वडामा सबैभन्दा पहिले कार्यान्वयन गरेर देखाउनुपर्नेछ”, सदस्य अमर बस्याल भन्छन्, “साना मान्छेले थालेका साना कदममा नै ठूला परिवर्तन अडेका हुन्छन् भन्ने देखाउन चाहन्छौं ।”

 

सपना विशाल छन् उनीहरुका । फोहरलाई घृणा गर्ने पुस्ता जन्माउनुपर्नेछ । सरसफाइबाट समृद्धिको खोजी गर्नुपर्नेछ । फोहर सफा गर्ने व्यक्तिलाई ‘कचरावाला’ होइन, ‘सफाइवाला’ भनी सम्वोधन गर्ने जनमानस तयार गर्नुपर्नेछ । “हामी थाकौंला कुनै बेला”, क्लबका सदस्यहरु निस्कर्ष सुनाउँछन्, “तर कुनै पनि हालतमा हामी हार्दैनौं, र हामीलाई हार्ने छुट पनि छैन ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार