संस्थागत शौचालयको कन्तविजोग

हिमाल खरेल, कचनकवल (झापा) : एक वर्ष अघिसम्म घरायसी चर्पी निर्माणमा सबैभन्दा पछाडि रहेको कचनकवल गाउँपालिकामा अहिले घरायसी चर्पी धमाधम निर्माण भैरहे पनि संस्थागत शौचालयको कन्तविजोग छ ।

कचनकवल गाउँपालिका, वडा नं. ५ को कार्यालय रहेको भवन नै खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको समेत कार्यालय हो । वडाभरको सरसफाइ अभियानको नेतृत्व गर्ने समितिसमेत रहेको भवनकै शौचालय भने प्रयोग गर्न नमिल्ने अवस्थामा छ ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र युरिनलको व्यवस्था भए पनि एउटामात्र शौचालय खुल्ला गरिएको छ । त्यसमा पनि पानी नभएका कारण प्रयोग गर्न मिल्ने अवस्थामा छैन ।

महिला शौचालयमा भने पाइप, वडा कार्यालय भवन निर्माणका क्रममा बाँकी रहेका सामान, काठका टुक्रा लगायतका सामान राखिएको छ । “पानीको व्यवस्था समेत गर्न सकिएको छैन, अब सामान ल्याएर मर्मत गरी दुबै चर्पीलाई पूर्ण रुपमा सञ्चालन गर्ने योजना बनाएका छौं”, वडाअध्यक्ष महेशलाल गणेश भन्नुहुन्छ, “पहिलेदेखि नै त्यस्तै थिए, हाम्रो पनि कमजोरी रह्यो ।”

 

१ करोड ४७ लाख लाख रुपैयाँमा निर्माण भएको पाठामारी स्वास्थ्य चौकीका शौचालय समेत प्रयोगविहिन छन् । महिला र पुरुषका लागि यूरिनल सहितका छुट्टाछुट्टै शौचालय छन्, तर पानी नभएका कारण प्रयोगविहिन अवस्थामा छन् । पुरुष शौचालय प्रयोग भएको छैन, महिला शौचालय ब्लकको एकमात्र शौचालय प्रयोग भैरहेको देखिन्छ ।

“पहिले शौचालयमा पानी लैजाने मोटर समेत थिएन, अहिले मोटर किनेर ल्याएका छौं”, चौकीका स्वास्थ्य सहायक हरगोविन्दकुमार गणेशको भनाइ छ, “मोटरले पानी तान्दा चुहिएका कारण शौचालय सञ्चालनमा ल्याउन सकिएको छैन ।” २०७३ मंसीरमा उद्घाटन गरिएको स्वास्थ्य चौकीमा रहेका ७ जना कर्मचारीले एउटै शौचालय प्रयोग गरिरहेको देखिन्छ ।

विद्यालयका चर्पी लाजमर्दो अवस्थामा

सञ्चारकर्मी र सरसफाइ अभियानकर्ताहरुको टोलीले कचनकवलमा रहेका विद्यालयहरुको अनुगमन गर्दा विद्यालय सरसफाइको अवस्था लाजमर्दो भेटियो । कचनकवलमा रहेको जानकी आधारभूत शौचालयमा पानी नै छैन । त्यहाँ खुल्ला रहेका दुईवटा शौचालय फोहर छन् । यूरिनल समेत फोहर छन् ।

१ सय ३० विद्यार्थी रहेको श्री आधारभूत विद्यालयमा चर्पीका दुईवटा ब्लक रहेका छन् । एउटा ब्लक कामै नलाग्ने अवस्थामा छ । “विद्यालय हातामा पर्खाल छैन, बाहिरका मान्छे आएर चर्पी फुटाइदिए, प्रयोग गर्नै नसकिने अवस्थामा भएकोले बन्द गरिएको छ”, प्रधानाध्यापक प्रितिचन राजवंशी भन्नुहुन्छ । अर्को ब्लकमा रहेका दुईवटा शौचालयमध्ये एउटा बन्द गरेर राखिएको छ । विद्यार्थी र शिक्षकका लागि एउटामात्र शौचालय प्रयोगमा छ । “यस वर्ष गाउँपालिका र वडाबाट कम्पाउड लगाउनका लागि चार लाख रुपैयाँ विनियोजन भएको छ”, प्रधानाध्यापक राजवंशीको भनाइ छ, “पैसा बचाउन सकियो भने यी चर्पी मर्मत गर्नुपर्नेछ ।”

 

श्री आधारभूत विद्यालय नेपाल भारत सीमामा रहेको छ । “पहिले भारतबाट करिब सयजना विद्यार्थी पढ्न आउँथे”, उहाँ भन्नुहुन्छ, “अहिले भारतका विद्यालयमा विद्यार्थीले खाजा, साइकल र अन्य सुविधा पाउन थालेपछि उनीहरु आउन छोडे । यहाँ भएका विद्यार्थीलाई त्यही एउटा चर्पीमात्र छ ।”

ठूला विद्यालय, बेजिम्मेवार शिक्षक

साविक गाविस रहँदा कचनकवल–७ बालुवाडीमा रहेको शिव माध्यमिक विद्यालयका चर्पीहरु प्राथमिक विद्यालयकाभन्दा फोहर छन् । महिला र पुरुषका लागि दुई कोठा भएका दुईवटा ब्लक रहेका छन् ।

कुनै पनि चर्पीको ढोका छैनन् । पुरुष शौचालयका चर्पी पुस्तक, कागजका टुक्रा, पातपतिंगर र काठले पुरिएका छन् । महिला शौचालयमा समेत ढोका छैनन् । यूरिनलभरि दिसा यत्रतत्र छरिएको छ । “यहाँ दिसा गर्ने मिल्दैन । त्यसैले दिसा गर्नुपरेमा बाहिर जान्छौं”, कक्षा ४ मा अध्ययनरत रमा राजवंशी भन्नुहुन्छ, “बाहिर एकजना साथी राखेन भने त पिसाव गर्न पनि मिल्दैन ।” रमाको यो भनाइमा सही थप्दै विद्यार्थी अंकिता अधिकारीले भन्नुभयो, “भित्र पस्न त सकिदैन, कसरी दिसा पिसाव गर्नु ?”

सञ्चारकर्मीहरुले विद्यालय जीवन दर्शन दिने ठाउँ भएकोले शौचालय सफा राख्न शिक्षकहरु समेत जिम्मेवार हुनुपर्ने बताउँदा शिक्षक मित्र खनालले यी सुझाव विद्यालयका प्रधानाध्यापकलाई दिनु भन्दै पन्छिनुभयो । “यी सुझाव हामीलाई दिनुभन्दा पनि प्रशासकलाई दिनुभए हुन्थ्यो”, उहाँले भन्नुभयो ।

उसो भए तपाईहरु यहाँको साझेदार नै होइन र हामीले गलत व्यक्तिलाई सुझाव दिइरहेका छौं त भन्ने सरसफाइ अभियानकर्ताहरुको प्रश्नपछि उहाँले आफूहरुको कमजोरी रहेको स्वीकार गर्नुभयो । “हामीले धेरै प्रयास गर्दा पनि सुधार ल्याउन सकेनौं”, उहाँले सुनाउनुभयो, “हामीले विद्यार्थीलाई निःशूल्क दिएका पुस्तक चर्पीमा फालेको पाइयो । पिसाव नलागेका किताव उठाएर ल्यायौं ।”
अनुगमन टोली पुग्दा प्रधानाध्यापक टेकनारायण राजवंशी विद्यालयमा फेला नपरे पनि कचनकवल–७ को कार्यालयमा पुग्दा फेला पर्नुभयो । “यहाँहरुको सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रयास गर्छु”, उहाँको प्रतिवद्धता थियो ।

अनुगमन टोलीमा रहेका सरसफाइ अभियानकर्ताहरुले शौचालयलाई अत्यावश्यक चिजको रुपमा नलिएकै कारण संस्थागत शौचालयको विजोग भएको बताए । “शिक्षक, कर्मचारी र अभिभावकहरुमा समेत विद्यालय र कार्यालय साझा सम्पत्ति हो भन्ने भावना देखिदैन”, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्मा प्रश्न गर्नुहुन्छ, “आफ्नै चर्पी सुचारु नगर्ने स्वास्थ्यकर्मीले विरामीलाई कस्तो सल्लाह देलान् ? विद्यालयकै चर्पी कन्तविजोग हुँदा समेत टुलुटुलु हेरेर बस्ने शिक्षकले विद्यार्थीलाई कस्तो जीवनदर्शन देलान् ?”

आफ्नै कार्यालयको चर्पी प्रयोगविहिन बनाउने वडास्तरीय सरसफाइ समितिले गाउँको सरसफाइ अभियानको कसरी अगुवाइ गर्लान् भन्ने प्रश्न उब्जिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका फोकल पर्सन रुद्रबहादुर न्यौपानेले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार