हिमाल खरेल, झापा : झापा गाउँपालिकाको टाँघनडुबामा रहेको डिल्लीराज माध्यमिक विद्यालय जिल्ला शिक्षा कार्यालयको श्रोत केन्द्र रहेको नमूना माध्यमिक विद्यालय हो । नमूना विद्यालयको प्रस्ताव स्वीकृति भैसकेको छ र तीन दिने तालिम समेत सम्पन्न भैसक्यो ।
विडम्वना, यही नमूना माध्यमिक विद्यालयका छात्रहरु दिसा पिसाव गर्न विद्यालय भन्दा पछाडि रहेको मकैबारीमा जान्छन् । “पिसाव गर्न स्कूलको पछाडि, दिसा गर्न मकैबारीमा”, कक्षा ८ का विद्यार्थी धिरज गणेश प्रतिप्रश्न गर्नुहुन्छ, “चर्पी नै छैन त, कहाँ जानु ?”
विद्यालयमा अघिल्लो वर्ष १ हजार ९९ सय विद्यार्थी थिए । अहिले त्यो संख्या झनै बढ्दो छ । “भर्ना अभियान झनै प्रभावकारी भैरहेको छ”, प्रधानाध्यापक भगदेव राजवंशी भन्नुहुन्छ, “त्यसैले पनि विद्यार्थी संख्या यस वर्ष झनै बढ्छ ।”
विद्यार्थी जति नै बढे पनि विद्यार्थीले यस वर्ष पनि प्रयोगकर्तामैत्री शौचालयको सुविधा भने पाउने देखिदैन । “छात्रहरुका लागि दुई कोठे चर्पी थियो, तर पाइप फुटेपछि अहिले दिसा पिसाव गर्न रोकिएको छ त्यहाँ”, विद्यालय व्यवस्थापन समितिमा शिक्षकको तर्फबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य शिक्षक दीपक न्यौपानेको भनाइ छ, “उनीहरुलाई दिसा गर्नका लागि मकैबारीमा नै त जानु पर्दैन, हामीले प्रयोग गर्ने चर्पी पनि छ, तर पिसाव गर्न त बाहिरै जान्छन् ।”

शिक्षक न्यौपानेले विद्यार्थीहरु दिसा गर्न शिक्षकले प्रयोग गर्ने चर्पीमा जाने बताए पनि विद्यार्थीहरुले यो कुरा स्वीकार गरेनन् । “सरहरु आफ्ना लागि कोठाभित्र नै चर्पी बनाउनुभएको छ, हामी त मकैबारीमा नै हो”, विद्यार्थी सुजन थापाको प्रश्न छ, “सरहरुले पनि गफ दिनुहुन्छ । अफिसभित्र रहेको उहाँहरुको चर्पीमा हामी कसरी जानु ?”
अवस्थाको ढाकछोप
विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले जिल्ला शिक्षा कार्यालय, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरसफाइ अभियानकर्ताहरुलाई पनि शौचालयको बारेमा कहिल्यै सही रिपोर्टिङ गरेनन् । संस्थागत सरसफाइको अवस्था चिरफारका लागि मिडिया मिसन झापा गाउँपालिका जानुभन्दा अघिल्लो दिन मिसनको तर्फबाट पूर्व जानकारी संकलनका लागि दुई जनालाई पठाउँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज गणेशले भन्नुभयो, “हामीकहाँ चार वटा ब्लकमा चर्पी छन् । छात्रछात्रा सबैका लागि पर्याप्त छन् ।”

मिडिया मिसन पुग्दा भने छात्रहरु पिसाव फेर्दै गरेको अवस्थामा मकैबारीमा भेटिए भने छात्राहरु ढोकामा पर्दा लगाइएको अँध्यारो चर्पीमा जाने गरेको भेटिए । “चर्पीभित्र पानीको व्यवस्था पनि छैन, भित्र पस्दा पनि गन्हाउँछ”, छात्रा पूजा बूढाथोकी भन्नुहुन्छ, “दिसा गर्ने चर्पीमा पनि ढोका छैन, पर्दा नै लगाएको छ ।”
जिल्ला शिक्षा कार्यालयमा गरिएको रिपोर्टिङमा समेत विद्यालयमा पर्याप्त चर्पी भएको उल्लेख छ । विद्यालय सञ्चालन मापदण्ड अनुसार कम्तिमा पनि ३० विद्यार्थीका लागि एक शौचालयको व्यवस्था हुनुपर्ने उल्लेख भए पनि श्रोत केन्द्र रहेको यस विद्यालयमा छात्रका लागि बनाइएको चर्पी एक वर्षदेखि बन्द छ । “जेठ महिनापछि बारीमा मकै पनि हुँदैन । अनि त दिसा गर्न घरतिर जाने हो”, विद्यार्थी सुरज मुखिया सुनाउनुहुन्छ ।

नमूनाको बहानामा विद्यार्थीलाई सास्ती
विद्यालयलाई नमूना बनाउने बहानामा विद्यालयले एक वर्ष अघिदेखि विद्यार्थीहरुलाई सास्ती दिइरहेको छ । “हामीले नयाँ शौचालय ब्लक बनाउने भनेर जिल्लामा माग गरेका थियौं, तर नमूना बन्दैछ भनेर नयाँ ब्लक बनाउने पैसा दिएन”, प्रधानाध्यापक भगदेव राजवंशीको भनाइ छ, “त्यसैले नयाँ चर्पी बनाउन सकिएन ।”
नयाँ चर्पी बनाउन नसके पनि पुरानो किन मर्मत गरिएन भन्नेन जिज्ञासामा प्रधानाध्यापक राजवंशी भन्नुहुन्छ, “पुरानो मर्मत गरे पनि भत्काउनै पर्छ, त्यसैले मर्मत पनि गरिएन ।”

सरसफाइ गुरुयोजना २०६८ अनुसार कुनै पनि तोकिएको ठाउँ खुल्ला दिसामुक्त घोषणा हुनका लागि त्यहाँका संघसंस्थाहरुमा प्रयोगकर्ताको पहुँच पुग्ने आधारभूत सरसफाइ सुविधा आवश्यक हुन्छ । झापा जिल्लालाई यही महिनाभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने योजना भए पनि बन्दै गरेको नमूना माध्यमिक विद्यालयमा छात्रका लागि कहिले चर्पी बनिसक्छ त ? “विद्यालयको भवनसँगै चर्पी पनि बनाउँदै जाने हो । एक दुई वर्ष त लाग्ला नि पूरा हुन”, प्रधानाध्यापक राजवंशीले ढुक्कका साथ सुनाउनुभयो ।
विद्यालयमा आएका विद्यार्थीहरुलाई दिसा पिसाव गर्नका लागि बाहिर पठाउन नपाइने बताएपछि प्रधानाध्यापक राजवंशीले भन्नुभयो, “त्यसो भए अस्थायी चर्पी भए पनि बनाउनुपर्ला ।”
प्रस्तावित नमूना माध्यमिक विद्यालयमा यसअघि पनि प्रयोगकर्तामैत्री शौचालयको सुविधा नभएको भन्दै छात्राहरुले सुरक्षित चर्पी बनाउनका लागि निवेदन पेश गरेका छन् । विद्यार्थीको मागको अहिलेसम्म सुनुवाइ भएको छैन । “पिसाव त यही फेरिन्छ, दिसा गर्न भने कठिन छ”, पूजा बूढाथोकीको भनाइ छ ।
महिनावारी हुने उमेरका छात्राहरुका लागि आधारभूत सरसफाइ सुविधाका साथै प्याड परिवर्तन गर्ने सुविधासहितको शौचालय हुनुपर्ने प्रावधान भए पनि यो डिल्लीराज माध्यमिक विद्यालयका छात्राहरुका लागि आकासको फलजस्तै भएको छ । न त सफा गर्ने पर्याप्त पानी छ, न त प्याड जम्मा गर्ने र जलाउने ठाउँ नै ।

शिक्षक अभिभावक संघ गठनको समयमा पनि शौचालयकै कारण लफडा भयो डिल्लीराज माध्यमिक विद्यालयमा । कुनै पनि समितिको नेतृत्वमा रहनेहरुको घरमा चर्पी हुनैपर्ने प्रस्ताव सरसफाइ अभियानकर्ताहरुले राखेपछि गठनको समयमा हल्लाखल्ला भयो । अन्ततः श्रोत व्यक्तिको मध्यस्थतामा यदि चर्पी नहुने व्यक्ति समितिको अध्यक्षमा चयन भएमा तीन दिनभित्र चर्पी बनाउनुपर्ने सहमति भयो । घरमा चर्पी नहुने व्यक्ति नै अध्यक्षमा निर्वाचित भए । पछिमात्र उनले आफ्नो घरमा चर्पी बनाए ।
“चर्पी अत्यावश्यक पूर्वाधार हो भन्ने भावना नै छैन अभिभावकहरुमा समेत”, अभियानकर्ताहरु भन्छन्, “त्यसैले न अभिभावकले चर्पीको बारेमा सोधखोज गर्छन्, न त विद्यालय प्रशासन नै शौचालयप्रति प्रतिवद्ध छ ।”
त्रिभूवन आदर्शका शिक्षक दिसा पिसाव गर्न पनि बाहिरै
झापा गाउँपालिकामा नै रहेको त्रिभूवन आधारभूत विद्यालयमा एक चर्पी र एउटा यूरिनल छ । तर, शिक्षक शिक्षिकाले चर्पी र यूरिनल प्रयोग गर्दैनन् । उनीहरु दिसा पिसाव लाग्नासाथ स्कूल छोडेर समुदायतिर छिर्छन् । “म आएको चार वर्ष भयो । मैले यहाँको चर्पी प्रयोग पनि गरेको छैन, चर्पी सफा पनि गरेको छैन”, शिक्षक अञ्जितकुमार यादव भन्नुहुन्छ, “हामी दिसा पिसाव लागेमा बाहिरै जान्छौं ।”
सीताराम यादव प्रधानाध्यापकको रुपमा विद्यालयमा आएको तीन वर्ष भयो । “म आउँदा २५–३० जनाभन्दा विद्यार्थी थिएनन् । विद्यालयको भौतिक संरचना पनि लथालिंग थियो”, प्रधानाध्यापक यादव गर्वका साथ सुनाउनुहुन्छ, “अहिले विद्यार्थी ३ सय ६७ जना पुगेका छन् ।”
विद्यालयमा विद्यार्थी त बढे, तर विद्यार्थीका लागि चर्पी भने बनेन । विद्यालयको मैदानमा रहेको दुई कोठे पुरानो चर्पी मर्मत सम्भार नभएर बन्द भयो । अघिल्लो वर्षमात्र बनेको एउटा शौचालयको समेत प्यान फुटेपछि बन्द भयो । ढोकासमेत नभएको यूरिनलमा बाहिरबाट आउनेहरुले समेत दिसा गरिदिए । “ममात्र हो यहाँ पिसाव गर्ने”, प्रधानाध्यापक यादव भन्नुहुन्छ, “अरु सबै शिक्षकहरु बाहिरै जानुहुन्छ । विद्यार्थी त सबै बाहिरै जान्छन् ।”
विद्यालयका लागि अर्को चार कोठे ब्लक बनिरहेको छ, तर त्यहाँ पनि चर्पी छैन । पुरानो ब्लकमा रहेको एउटा कोठा गोबर र दिसाले भरिएको छ, तर कोठामा ताल्चा लगाउनेतर्फ कसैको ध्यान पुग्दैन, न त कोही सफा गर्न नै चाहन्छन् । “यहाँ म बाहेक कोही पनि शिक्षक शिक्षिकाहरुले सफा गर्नेतर्फ ध्यान नै दिनुहुन्न”, यादवको गुनासो छ, “म एक्लैले कसरी स्कूल सम्हाल्नु ?”
सञ्चारकर्मी र सरसफाइ अभियानकर्मीहरुले शौचालयमा लगाइएको ताला खोली सफा गर्न थालेपछि प्रधानाध्यापक यादव र एक शिक्षिकाले सफा गर्न साथ दिए । तर अञ्जितकुमार यादव सफा गर्न आउनुभएन । “चर्पी सफा गरेपछि नुहाउनुपर्छ, चर्पी सफा गरेपछि मैले विद्यार्थीलाई कसरी पढाउनु ?”, आफूले दिसा पिसाव गरेपछि चर्पी आफै सफा गर्न सकिन्छ नि भन्ने जिज्ञासामा शिक्षक यादवले भन्नुभयो, “मेरो काम पढाउने हो । अरु काम प्रधानाध्यापकको हो ।”
अब ध्यान पु-याउँछु : गाउँपालिका अध्यक्ष
गाउँपालिका अध्यक्ष जयनारायण साहले समुदायको सरसफाइ प्रवद्र्धनका लागि आफूहरु प्रतिवद्ध भएको प्रतिक्रिया दिनुभयो । “गाउँपालिकालाई खुल्ला दिसामुक्त बनाउनका लागि आवश्यक रकमको समेत विनियोजन गरेको छु”, अध्यक्ष साहले भन्नुभयो, “आवश्यक पर्छ भने अरु रकम विनियोजन गर्न पनि तयार छु ।”
समुदायका व्यक्तिहरुको सरसफाइप्रतिको दृष्टिकोणको प्रतिविम्व संस्थागत सरसफाइमा समेत देखिएको उहाँले बताउनुभयो । “चर्पीलाई माया गर्ने वानी नै छैन”, उहाँको भनाइ छ, “त्यसैले संस्थागत शौचालय पनि बेवारिसेजस्तै बनेका छन् ।” सबै प्रधानाध्यापक र वडाअध्यक्षहरुलाई संस्थागत सरसफाइ प्रवद्र्धनमा लाग्न निर्देशन दिने समेत अध्यक्ष साहले बताउनुभयो ।


896 पटक हेरिएको 

