पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डदेखि तीन किलोमिटरको कच्ची सडकको यात्रा गर्दै पुगिन्छ सितलडाँडा सुकुम्बासी बस्ती । बस्तीमा एक तले कच्ची घर छन् । कोहीले पाँच धुर त कोहीले एक कट्ठा जमिन चर्चेका छन्, त्यो पनि ऐलानी । नजिकै रहेको सामुदायिक वनबाट कतिबेला कुन जनावर आएर बस्तीमा वितन्डा मच्चाउनेहुन्, थाहा हुँदैन ।
यही सुकुम्बासी बस्तीले अहिले मोरङ मात्र होइन, छिमेकी जिल्लाहरुलाई समेत सरसफाइ सिकाउँदैछ । व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइ सिक्न छिमेकी जिल्ला झापा, सुनसरी लगायतका स्थानबाट त्यहाँ पुग्ने गर्छन् ।

“सफा रहन आफ्नै जग्गामा ठूला ठूला महल हुनुपर्छ भन्ने छैन नि”, वडा नं. १ का सदस्य रमेश निरौला भन्नुहुन्छ “यो झुपडी बस्तीलाई सुन्दर बनाउने प्रयास मात्र भएको छ, केही थपथाप गरेको पाइएन ।”
करिब २५ वर्ष अघिदेखि बसोबास थालनी भएको सितलडाँडामा २२ घरधुरी रहेका छन् । एक टुक्रा जमिन पनि आफ्नो नाममा छैन । कुखुरापालन, बाख्रापालन, खेतीपाती र ज्याला मजदूरी नै यहाँको मूल पेशा हो ।
बेलबारी नगरपालिका, वडा नं. १ मा पर्ने सितलडाँडा सिमसार क्षेत्रमा पर्छ । ‘भोली जग्गा आफ्नो नाममा आउला’ भन्ने आशामा बसेको छ गाउँ । नजिकै सिमसार रहेकोले पनि ‘विकास’ होला भन्ने आशा जागेको बताउनुहुन्छ सितलडाँडा महिला समूहकी अध्यक्ष धनमाया तामाङ । “सरसफाइ आफ्नै लागि हो”,उहाँ सुनाउनुहुन्छ, “त्यसमाथि गाउँको पहिचान बनाउन सकियो भने पछि यहाँ होमस्टे राख्ने योजना छ ।”
मोरङको विराटनगर अहिले प्रदेश नं.१ को राजधानी हो । यही राजधानीबाट समेत जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारी र सरसफाइको क्षेत्रमा क्रियाशील निकायका प्रतिनिधिहरु सरसफाइ सिक्न सितलडाँडा टोलमा पुगे । सुकुम्बासी टोलमा पुग्नेहरुले टोलवासीको मुक्तकण्ठले प्रशंसा गरे । “मैले सोचेभन्दा पनि राम्रो पाएँ”, झापाबाट बस्तीमा सिक्न पुगेका सरसफाइ अभियानकर्ता प्रदीप पुरीले भन्नुभयो, “हामीले झापामा चर्पी बनाउने अभियानमात्र चलाइरहेका छौं । यो अवस्थामा पुग्न त अझै धेरै बाँकी छ ।”
सबथोक सुन्दर
सबै चिज सुन्दर हुन सक्छ भन्ने मान्यता यहाँका बासिन्दाको रहेको छ । प्रत्येक घरमा चिटिक्क पारिएका चर्पी छन् । चर्पी सफा गर्ने सामग्रीका साथै चर्पी जाँदा लगाउने चप्पल पनि अलग्गै राखिएको छ । चर्पीबाट आएपछि हात धुनका लागि प्रत्येक घरमा साबुन पानीको व्यवस्था गरिएको छ । भाँडा धुने छुट्टै सुरक्षित ठाउँ छ । भाँडा सुकाउने चाङ बनाइएको छ प्रत्येक घरमा । फोहर जम्मा गर्ने डोका र टोकरी पनि बाँसबाटै बनाइएको छ । बस्ती नजिकै फोहर जलाउने ठाउँ समेत छ । कुहिने फोहरबाट सबैले प्रांगारिक मल बनाउँछन् ।
बस्तीभित्र फोहर कतै पनि देखिदैन । सडक दायाँ–बायाँ बाँसको घेराबारा लगाइएको छ, त्यो पनि सेतो र गेरुले रंगाएर । “यही बाँसलाई पनि सुन्दर देखाउन सकिन्छ भने किन नदेखाउनु ?”, स्थानीय कुमारी बि.क. भन्नुहुन्छ, “त्यसैले यहाँ जे छ, सुन्दर छ ।”

गाउँ प्रवेश गर्ने मुखैमा जंगल छ । बाँसको फलैचा बनाइएको छ, बाह्र जनासम्म अटाउँछन् एक पटकमा । सडक छेउका पोथ्राहरु काटेर चिटिक्क पारिएको छ, झाडी फाँडिएको छ । पोथ्राका ठुटामा समेत रंग लगाइएको छ । “हेर्दाहेर्दै चिटिक्क पारे”, छिमेकी गाउँका वृद्ध सोमराज भन्नुहुन्छ, “सुकुम्बासी गाउँ पनि सबैले हेर्न आउन लायक बनाए ।”
सोमराज नजिकैको बस्तीका बासिन्दा हुनुहुन्छ । उहाँले दुई दशकअघि देखेको सुकुम्बासी गाउँ र अहिलेको सीतलडाँडामा आकाश पातालको फरक छ । “हामीले त्यही कलको पानी पिउछौं, तर यहाँ पानीलाई पनि बोतलमा राखेर घाममा सेकाएर पिउन थालेछन्”, गाउँमा बाहिरको टोली आउँदैछ भन्ने थाहा पाएर गाउँ छिरेका सोमराजले भन्नुभयो, “पहिले चर्पी पनि थिएनन्, अहिले त सबै घरमा चर्पी र भाँडा धोएर सुकाउने ठाउँ पनि बनाएछन् ।”
गाउँका प्रत्येक घरमा सरसफाइ प्रवद्र्धनका लागि सन्देश राखिएको छ । सबै घरमा पूर्ण सरसफाइका सूचक लेखिएको अनुगमन तालिका झुण्ड्याइएको छ । प्रत्येक साता अनुगमनमा जानेहरुले अनुगमन तालिकामा चिनो लगाउँछन् । स्थानीय सरसफाइ समितिले सबै घरको सूचकहरु हेरेर आवश्यक सुझाव दिन्छ । “तालिका अनुसार काम गरेन भने सुन्दर राख्न कहाँ सकिन्छ र ?”, स्थानीय सलबहादुर गुरुङ सुनाउनुहुन्छ, “टोललाई राम्रो बनाउन हामी सबैको मन मिलेको छ । त्यसैले यहाँसम्म आइपुगेका छौं ।”
गाउँमा मौसम अनुसारका फूल फुल्छन् । तर, गाउँमा पुग्ने पाहुनालाई फूलको माला लगाइदिंदैनन् । बरु हरियो पातको माला बनाउँछन्, कलात्मक रुपमा बुनेर । गाउँमा प्रवेशद्वार बनाइएको छ ।
बेलबारी नगरपालिका अझैसम्म पनि खुल्ला दिसामुक्त भएको छैन । तर, सीतलडाँडा रहेको वडा नं. १ यही पौष महिनामा खुल्ला दिसामुक्त घोषणा भयो । पूर्ण सरसफाइ अभियान अगाडि बढाउन मातृभूमि महिला समाजले सहजीकरण ग¥यो । “हामीले उहाँहरुको होस्टेमा हैसेमात्र थपेका हौं”, समाजका कार्यकारी निर्देशक चन्द्र विष्टको भनाइ छ, “यो सबै उहाँहरुको योजना हो, उहाँहरुकै मेहनतको प्रतिफल हो ।”
जिल्लाको लागि सिकाइ
जिल्ला समन्वय समिति मोरङका सदस्य विश्वेश्वर ढकाल योजना तर्जुमाका लागि सीतलडाँडाले धेरै चिज सिकाएको बताउनुहुन्छ । “सरसफाइलाई क्रस कटिङ विषयको रुपमा राखेर कसरी सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने कुरा मैले यहाँ आएर सिक्न पाएँ”, पूर्ण सरसफाइको सिकाइका लागि पुगेको टोलीसँगै सीतलडाँडा पुगेका ढकालले भन्नुभयो, “नगरपालिका र जिल्लाका लागि नै यस बस्तीले धेरै सिकाएको छ ।”
बेलवारी नगरपालिका, वडा नं. १ का अध्यक्ष चक्रबहादुर खुलाल अन्य वडा र बस्तीहरुले समेत सीतलडाँडाबाट सिक्नुपर्ने बताउनुहुन्छ ।
सीतलडाँडाजस्तै अर्को सुन्दर बस्ती छ बगरटोल । केही वर्ष अघिसम्म बगरको रुपमा रहेको बगरटोलमा ठूला अग्ला रुख समेत भेटिदैनन् । “यहाँ बस्ती बस्न थालेपछि रुख हुर्किने बेला समेत भएको छैन”, स्थानीय पुष्पकला राईको भनाइ छ, “भर्खरै बन्दै गरेको गाउँ हो ।”
बगरटोलमा समेत घरहरु चिटिक्क पारिएका छन् । फोहर जम्मा गर्ने ठाउँ छुट्याइएको छ । सीतलडाँडाभन्दा फरक, बगरटोलमा पर्याप्त जग्गा छ । “यहाँ दीर्घकालीन योजना बनाएर अघि बढ्दा धेरै राम्रो हुने देखिन्छ”, बेलबारीको सरसफाइ हेर्न पुगेका झापाका सरसफाइ अभियानकर्मी किसन गौतमको भनाइ छ, “जमिनको बनोटले समेत साथ दिएको छ ।”

विकास र सामाजिक रुपान्तरणका लागि निरन्तर सहजीकरण आवश्यक भएको ठान्नुहुन्छ वडाध्यक्ष ढकाल । “सामाजिक रुपान्तरणका लागि विकास सहजकर्ताहरुको भूमिका महत्वपूर्ण छ भन्ने कुरा यी दुई टोलले देखाए”, दुबै टोलको स्थलगत अवलोकनपछि आयोजना गरिएको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले इच्छा सुनाउनुभयो, “सुन्दरहरैंचामा पनि यस्तै टोल बनाउनका लागि मैले सहजीकरण गर्ने निकायको खोजी गर्छु ।”
पैसा खन्याएर सामाजिक रुपान्तरण गर्न नसकिने समेत उहाँले सुनाउनुभयो । “पैसा खन्याएर रुपान्तरण हुने भए सहरहरु अहिले नमूना हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “प्यान र पाइप बाँडेर यी बस्ती सफा भएका होइनन् ।”
संस्थागत विकास गर्न सुझाव
पूर्ण सरसफाइका विभिन्न आयाम सिक्न सीतलडाँडा र बगरटोल पुगेका आगन्तुकहरुले सुन्दर बस्तीको प्रशंसामात्र गरेनन्, दिगो बनाउनका लागि सुझावहरु समेत दिए । “खुल्ला दिसामुक्त र पूर्ण सरसफाइउन्मुख मात्र बनाएर पुग्दैन”, यू.एन. ह्याबिट्याट काठमाण्डौका सरसफाइ विश्लेषक मदनकुमार मल्लले भन्नुभयो, “प्लास्टिकमुक्त, पूर्ण साक्षर, पूर्ण खोपयुक्त, पोषणयुक्त, विभेदमुक्त, रासायनिक मल र विषादीमुक्त बनाउन पनि यहाँहरु लाग्नुभयो भने यसले समृद्धि दिन्छ ।”
अर्का अभियानकर्मी सोमनाथ आचार्यले टोलको सुन्दरीकरण र ब्राण्डिङ (विशेष पहिचान) बनाउनुपर्नेमा जोड दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका रुद्रबहादुर न्यौपानेले दुई गाउँहरुले नगरपालिका र जिल्लालाई सरसफाइको सन्देश दिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति झापाका सदस्य जुनु महराले स्थानीय तहहरुको पूर्ण सरसफाइ कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
पुरस्कार नै पुरस्कार
सीतलडाँडा र बगरटोल सरसफाइयुक्त बनेकोमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले कदरपत्रले सम्मान ग¥यो । यसैगरी टोललाई नमूना बनाउनका लागि सरसफाइ कोषमा रहनेगरी दुबै टोललाई ३० हजार रुपैयाँ प्रदान गरियो । नगरपालिकाले समेत कोषका लागि सोही बराबरको रकम दियो ।
राम्रो सरसफाइ गीत गाउने कलाकारहरुलाई आगन्तुकहरुले समेत पुरस्कार दिए ।
“अहिले हौसला बढाउनका लागि सानो साझेदारीमात्र गरेका हौं”, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम नेपालका मदनकुमार मल्लले भन्नुभयो, “तपाईहरु अघि बढ्न तयार हुनुभयो भने हाम्रो सहयोग र साझेदारी निरन्तर रहने छ।”
वडाअध्यक्ष चक्रबहादुर खुलालले समेत योजना तर्जुमाका क्रममा बगर टोल र सीतलडाँडाका लागि विशेष योजना समावेश गर्ने सुनाउनुभयो । जिल्ला समन्वय समितिका सदस्य विश्वेश्वर ढकालले आयआर्जन वृद्धिका कार्यक्रम सञ्चालन गर्न सघाउने बताउनुभयो ।
सरसफाइ सिक्न गएको टोलीले गाउँको तारिफ गरेपछि बगर टोलका युवा मिलन सुन्दास दंग पर्नुभयो । सरसफाइ गीत सुनाउँदै उहाँले वाचा गर्नुभयो, “अब तपाईहरु अर्कोपटक आउँदा अझै धेरै राम्रो बनाएका हुनेछौं ।”


1108 पटक हेरिएको 

