काठमाडौ : खानेपानीमन्त्री बिना मगरले महिला र पुरुषलाई धर्मले नै विभेद गरेको र यसले महिला पुरुष समविकासमा अवरोध पु-याएको बताउनु भएको छ । एउटा छोरा उमेर पुगेपछि विहे गर्न योग्य भयो हैं भनेर ब्रतबन्ध गर्ने र त्यही घरको छोरी प्रकृतिले शारीरिक रुपमा आमा बन्न परिपक्व बनाउँदा अपमान सहनुपर्ने बताउनुभयो ।
अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा X-Pose Nepal ले गरेको साइकल -यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो ‘महिनावारी, प्रकृृतिले महिलालाई सम्मान स्वरुप दिएको विशिष्ट किसिमको सम्मान हो । यो हाम्रो गर्वको विषय हो, तर यसलाई हाम्रो समाजले छुवाछुत मान्छ ।

छोरालाई पण्डित राखेर खर्च गरेर विहे गर्नका लािग योग्य छौं भनेर लाइसेन्स दिन्छ तर छोरी जब महिनावारी हुन्छे जब शारीरिक रुपमा प्रजनन् प्रक्रियामा सहभागी हुन सक्षम हुन्छिन् तब अपमानित हुनुपर्छ । महिनावारी प्रक्रियालाई जब गलत व्याख्या गरेर धर्म र संस्कृतिसँग जोडेर छुवाछुत गरिन्छ यो गलत हो, यसलाई तोड्नै पर्छ ।’ उहाँलाई यस्तो संस्कारलाई आफ्नो घरबाट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।
महिनावारी छुवाछुत विकासका लागि वाधक
महिनावारी हुँदा गरिने छुवाछुतजन्य संस्कारले कुनै पनि युवतीलाई राष्ट्र निर्माणको भूमिका निर्वाह गर्नका लागि अवरोध सिर्जना गरेको उहाँले बताउनुभयो ।
‘जब एउटी किशोरी समाज परिवर्तनका लागि सोच्न योग्य हुन्छ, समाजको निम्ति आफूले केही गर्न सक्ने अवस्थामा पुग्छिन्, त्यपछि घरबाटै त्यो प्रक्रियामा रोकावट हुन्छ । तिमी छोरी हौ, तिमी महिनावारी हुन्छौं र तिमी एउटा कुनामा बस्नुपर्छ भनेर सिकाइन्छ । अब त्यो किशोरीले यो समाजका निम्ति के दिन सक्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
महिलालाई पछाडि पार्दा राष्ट्र नै अविकसित : श्रेष्ठ
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस आयोजक मूल समारोह समितिका सदस्य सचिव एवं WSSCC जेनेभाका नेपाल प्रतिनिधी गुणराज श्रेष्ठले महिनावारीको विषयलाई लिएर महिलाहरुलाई पछाडि पारिदा विकासमै अवरोध पुगेको बताउनुभयो ।

नेपाल लगायत संसारका धेरै देशहरुमा महिनावारी भएको बेला महिलालाई छुवाछुत गर्ने प्रचलन रहेको उल्लेख गर्दै उहाँले धेरैजसो अविकसित देशहरुमा यो समस्या रहेको बताउनुभयो ।
‘अफ्रिकाको अविकसित तथा एसियाको अविकसित देशहरुमा महिनावारी भएको बेला महिलालाई छुवाछुतजन्य व्यवहार गरेको पाएको छु, यसले के देखाउँछ भने महिलाहरुलाई पछाडि पारेको कारण हामी अविकसित भएको हुन सक्छ । विकसित देशमा यो कुरै छैन ।’ श्रेष्ठले भन्नुभयो ‘महिनावारीको कारण महिलालाई पछाडि पार्यौं भने समृद्ध नेपाल पनि हुन सक्दैन ।’

कार्यक्रममा एसएनभी नेपालकी हरिशोभा गुरुङले महिनावारी सम्बन्धी कुसंस्कार अन्त्यको कदम घरबाटै शुरुवात हुनुपर्ने बताउनुभयो । यो लज्जाको विषय भन्दा पनि गर्वको विषय भएको र महिलाका लागि प्रकृतिले दिएको उपहारको रुपमा ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
‘अति भयो, महिनावारीको सबै सीमा तोडौं’ यस बर्षको अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको मूल नारा रहेको छ ।


1058 पटक हेरिएको 

