तीन दशक देखि अलपत्र पञ्चेश्वर आयोजना अघि बढाउन नेपाल–भारत सहमत

डीपीआर शीघ्र टुंग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउन दुवै देशका प्रधानमन्त्रीको निर्देशन, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालाई पनि गति दिने सहमति

  विनोद धौलागिरि  50 पटक हेरिएको
🔗
24
Shares

काठमाडौं : तीन दशकदेखि चर्चामा रहे पनि कार्यान्वयनमा जान नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच नयाँ सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र कार्यान्वयनको काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

भारतको नयाँदिल्लीमा नोभेम्बर २२ र २३ मा भएको प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई डीपीआर अन्तिम रूप दिने काम तीव्र बनाउन भनिएको छ । साथै, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माणलाई पनि गति दिने सहमति भएको छ ।

‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ नामक संयुक्त भिजन दस्तावेजमा ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलतालाई द्विपक्षीय सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा समेटिएको छ । जलस्रोतको पारस्परिक लाभका लागि उपयोग गर्ने, बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने तथा दिगो र समावेशी विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुवै देशले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

तीन दशकदेखि किन रोकियो पञ्चेश्वर आयोजना ?

नेपाल र भारतबीच सन् १९९६ मा भएको महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने सहमति भएको थियो । महाकाली नदीमा बाँध निर्माण गरी विद्युत् उत्पादन, सिँचाइका लागि पानीको व्यवस्थापन र तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण गर्ने यसको प्रमुख उद्देश्य हो । आयोजनाबाट दुवै देशले जलविद्युत् तथा जलस्रोतको उपयोगमा लाभ लिने परिकल्पना गरिएको छ ।

तर, सन्धि भएको करिब तीन दशक बितिसक्दा पनि आयोजना कार्यान्वयनमा जान सकेको छैन । मुख्यतः पानीको बाँडफाँट, सिँचाइ तथा बाढी नियन्त्रणबाट प्राप्त हुने लाभको मूल्याङ्कन, लगानीको अनुपात, विद्युत्को मूल्य निर्धारण र प्राविधिक विषयमा दुई देशबीच सहमति हुन नसक्दा आयोजना रोकिएको हो ।

नेपालले आयोजनाबाट प्राप्त हुने लाभका आधारमा लगानीको अनुपात निर्धारण गर्नुपर्ने धारणा राख्दै आएको छ । भारतले भने आयोजनाको लागतमा आफ्नो हिस्सेदारी ६५ प्रतिशतसम्म रहने अडान राखेको छ । पानीको उपयोग र तल्लो तटीय क्षेत्रमा प्राप्त हुने लाभको गणनासम्बन्धी विषय पनि विवादका रूपमा रहेका छन् ।

भारतीय सरकारी कम्पनी वाप्कोसले सन् २०१६ मा आयोजनाको प्रारम्भिक डीपीआर तयार गरेको थियो । त्यसपछि दुवै देशका विज्ञ सम्मिलित समूहले त्यसको पुनरावलोकन गरी संशोधित प्रतिवेदन तयार पारे पनि पानीको अधिकार र लाभ बाँडफाँटसम्बन्धी विषयमा सहमति हुन सकेको थिएन ।

विद्युत् व्यापार र लगानीमा पनि सहकार्य

संयुक्त दस्तावेजमा नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने विषय पनि समेटिएको छ । भारतले नेपालको जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा थप लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले त्यस्तो लगानीका लागि उपयुक्त वातावरण तथा पारस्परिक लाभकारी सहकार्यको ढाँचा तयार गर्न सहयोग गर्ने सहमति भएको छ ।

त्यसैगरी, दुवै देशको बजार माग र पारस्परिक लाभका आधारमा विद्युत् व्यापार विस्तार गर्ने सम्भावना खोजिने भएको छ । परम्परागत जलविद्युत्का अतिरिक्त सौर्य ऊर्जा र भूमिगत ऊर्जा स्रोतको विकासमा समेत सहकार्य गरिनेछ । नेपालमा ग्रिन हाइड्रोजनसम्बन्धी नमुना परियोजना सञ्चालन गर्ने विषय पनि संयुक्त दस्तावेजमा उल्लेख छ ।

बाढी पूर्वसूचना र जलवायु उत्थानशीलतामा संयुक्त पहल

जलस्रोतको उपयोगसँगै बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणमा पनि नेपाल र भारतले सहकार्य बढाउने भएका छन् । जल तथा मौसम विज्ञानसम्बन्धी तथ्याङ्कको वास्तविक समयमै दुईतर्फी आदानप्रदान, हिमतालको अनुगमन र पूर्वसूचना प्रणालीलाई संस्थागत गर्ने सहमति भएको छ ।

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा विपद्पछिको पुनर्लाभका लागि दुवै देशका सम्बन्धित निकायबीच संयुक्त अभ्यास, तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछन् । यसबाट विशेषगरी सीमावर्ती नदी प्रणालीबाट प्रभावित हुने समुदायको सुरक्षा तथा जीविकोपार्जन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संयुक्त दस्तावेजमा जलाशय पुनरुत्थान, भूमिगत जल प्रदूषण नियन्त्रण, जलवायु अनुकूल कृषि, वन व्यवस्थापन तथा जोखिम नक्साङ्कनजस्ता क्षेत्रमा पनि ज्ञान र प्राविधिक अनुभव आदानप्रदान गर्ने उल्लेख छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद् उत्थानशील पूर्वाधारका लागि गठबन्धन, इसिमोड तथा अन्तर्राष्ट्रिय बिग क्याट एलायन्सजस्ता बहुपक्षीय संस्थामा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता पनि दुवै देशले जनाएका छन् ।

पञ्चेश्वर, सप्तकोसी र सुनकोसीजस्ता बहुउद्देश्यीय आयोजना अघि बढाउन भएको पछिल्लो सहमतिले नेपालको जलस्रोत विकास र बाढी नियन्त्रणमा नयाँ सम्भावना सिर्जना गरेको छ ।

यद्यपि, आयोजनाको डीपीआर अन्तिम रूप दिने, लगानी तथा लाभ बाँडफाँटका विवाद समाधान गर्ने र कार्यान्वयनको ठोस समयतालिका निर्धारण गर्ने काम अझै बाँकी छ । त्यसैले पछिल्लो सहमति आयोजनाको निर्माण सुरु भएको अवस्था नभई लामो समयदेखि रोकिएको प्रक्रियालाई अघि बढाउने महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक प्रतिबद्धता हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार