सहकर्मी सिकाइबाट महिनावारी स्वच्छताको पाठ सिक्दै किशोरीहरू

  वास खबर सम्बाददाता  37 पटक हेरिएको
🔗
18
Shares

बर्दिया : महिनावारीका बेला के गर्ने, कसरी स्वच्छता कायम राख्ने र प्रयोग गरिसकेको प्याड कसरी व्यवस्थापन गर्ने ? यस्ता प्रश्नको जवाफ अब किशोरीहरूले आफ्नै साथीबाट सिक्न थालेका छन् ।

बर्दियाको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आहाना थारु आफ्ना साथीहरूलाई महिनावारी स्वच्छता बारे चित्र मार्फत जानकारी गराउँदै हुनुहुन्छ । उहाँले महिनावारीका बेला अपनाउनुपर्ने सावधानी र स्वच्छताका उपायहरू चित्रमा देखाउँदै साथीहरूलाई त्यसको महत्त्व बुझाइरहनुभएको छ ।

उहाँले महिनावारी हुँदा सबैभन्दा पहिले सफा र गुणस्तरीय स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । प्याड समय–समयमा परिवर्तन गर्ने, परिवर्तन गर्नुअघि र पछि साबुनपानीले राम्ररी हात धुने तथा प्रयोग गरिसकेको प्याडलाई सुरक्षित रूपमा डस्टबिनमा व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । त्यस्तै, सफा र आरामदायी कपडा लगाउन पनि उहाँले साथीहरूलाई सिकाइरहनु भएको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

आहाना महिनावारीलाई स्वाभाविक प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताउनुहुन्छ । महिनावारी हुँदा पौष्टिक खानेकुरा खानुपर्ने र यस विषयमा आमा, बुबा तथा दाजुभाइसँग खुलेर कुरा गर्नुपर्ने उहाँको भनाइ छ ।

पाठ्यपुस्तकमा पढेका कुरा चित्र मार्फत बुझाउने र साथीहरूबीच अनुभव तथा जानकारी साटासाट गर्ने यो अभ्यासले महिनावारीबारे खुलेर कुरा गर्ने वातावरण बनाउन सहयोग पुर्‍याएको छ । शिक्षकले मात्र सिकाउने होइन, विद्यार्थीले पनि विद्यार्थीलाई सिकाउन सक्छन् भन्ने उदाहरण बनेको छ, आहानाको यो प्रयास ।

Terre des hommes (टिडिएच) र गेरुवा ग्रामीण जागरण संघले सञ्चालन गरेको सफल परियोजना अन्तर्गत व्यवहारिक शिक्षा अबलम्बन गर्न थालेपछि फोहोर व्यवस्थापन, वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन, हातको स्वच्छता जस्ता बिषयमा सहकर्मीहरुबाटै व्यवहारिक शिक्षा लिने वातावरण बनेको हो ।

सहकर्मी सिकाइको यस्तो अभ्यासले किशोरीहरूमा महिनावारी स्वच्छता सम्बन्धी सही ज्ञान र व्यवहार विकास गर्नुका साथै महिनावारी प्रतिको संकोच र भ्रम हटाउन पनि सहयोग पुगेको त्रिभुवन माध्यमिक विद्यालय बाँसगढी बर्दियाका वास फोकल शिक्षक गोविन्द हरि शर्माले बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार