
काठमाडौं : बाढीले घर, विद्यालय र खेल्ने आँगन मात्र क्षतिग्रस्त बनाएन, नुवाकोट र रसुवाका धेरै बालबालिकाको दैनिकीबाट हाँसो, रमाइलो र बालसुलभ गतिविधि समेत खोस्यो । गत सेप्टेम्बर २६ मा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीपछि प्रभावित बालबालिकाको जीवनमा फेरि खुसी र उमङ्ग फर्काउने प्रयास स्वरूप कलाकारहरू उनीहरूकै समुदायमा पुगेका छन् ।
प्लान इन्टरनेसनल नेपाल, क्लाउन्स विदाउट बोर्डर्स यूके र शिल्पी थिएटर नेपालको सहकार्यमा आयोजित सिर्जनात्मक प्रस्तुति तथा खेल गतिविधिले बाढी प्रभावित बालबालिकालाई हाँस्ने, खेल्ने, रमाउने र आफ्ना भावना अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ ।
कार्तिक २९ देखि मंसीर ६ सम्म सञ्चालित कार्यक्रममा अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले विद्यालय र समुदायमा पुगेर मनोरञ्जनात्मक प्रस्तुति, सामूहिक खेल, सिर्जनात्मक अभ्यास र अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरेका थिए ।
कार्यक्रमको उद्देश्य बालबालिकालाई केही समय रमाइलो गराउनु मात्र नभई उनीहरूको मनोसामाजिक स्वास्थ्यमा सहयोग पुर्याउनु, साथीहरूसँगको सम्बन्ध पुनः स्थापित गर्नु र सुरक्षित वातावरणमा बाल्यकालका स्वाभाविक गतिविधिमा सहभागी गराउनु रहेको प्लान इन्टरनेशनल नेपालका मिडिया तथा सञ्चार विज्ञ विभुराज आचार्यले जानकारी दिनुभयो ।

बाढीका कारण बालबालिकाले घर तथा विद्यालयमा भएको क्षतिसँगै नियमित पढाइ, सामाजिक सम्बन्ध र खेल्ने सुरक्षित स्थानसमेत गुमाउनुपरेको थियो । विपद्का बेला राहत सामग्री र भौतिक पुनर्निर्माण जति आवश्यक हुन्छ, बालबालिकाको भावनात्मक अवस्था र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने मान्यताका साथ कार्यक्रम सञ्चालन गरिएको प्लान इन्टरनेसनल नेपालले जनाएको छ ।
कार्यक्रममा बालबालिकाले कलाकारका प्रस्तुति हेर्नुका साथै प्रस्तुति सकिएपछि आयोजित कार्यशालामा समेत सहभागी भएर विभिन्न सिर्जनात्मक गतिविधि गरेका थिए । यसले उनीहरूलाई आफ्ना भावना व्यक्त गर्न, नयाँ कुरा सिक्न, साथीहरूसँग घुलमिल हुन र सकारात्मक अनुभव साटासाट गर्न सहयोग पुर्याएको थियो ।

क्लाउन्स विदाउट बोर्डर्सकी कलाकार हानाले बाढी प्रभावित समुदायमा बालबालिकासँग काम गर्दाको अनुभवलाई अर्थपूर्ण बताउनुभयो । उहाँले भन्नुभयो, “यी समुदायमा आएर बालबालिकाका लागि प्रस्तुति दिनु मेरा लागि अत्यन्त अर्थपूर्ण अनुभव रह्यो । यहाँको अवस्था हामीले सामान्यतया सामना गर्ने परिस्थितिभन्दा फरक थियो । बालबालिकाले भोगेका अनुभव देख्दा प्रस्तुतिको अर्थ नै फरक महसुस भयो । यस्तो समयमा यहाँ आएर हाँसो र खेलमार्फत बालबालिकासँग काम गर्न पाउँदा मलाई निकै खुसी लागेको छ ।”

कार्यक्रमले बालबालिकासँग प्रत्यक्ष गतिविधि सञ्चालन गर्नुका साथै स्थानीय स्तरमा बालमैत्री सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिन सक्ने जनशक्ति तयार पार्न पनि जोड दिएको थियो । यस अन्तर्गत कार्यान्वयन साझेदार संस्थाका कर्मचारी तथा समुदायका स्वयंसेवकलाई ‘लाफ्टर एन्ड प्ले’ (हाँसो र खेल) पद्धतिबारे क्षमता विकास तालिम प्रदान गरिएको थियो ।
‘लिभ इट, लर्न इट, लिड इट’ अर्थात् अनुभव गर, सिक र नेतृत्व गर भन्ने अवधारणामा आधारित तालिमले सहभागीलाई बालबालिकासँग सिर्जनात्मक तथा स्थानीय संस्कृति अनुकूलका गतिविधि सञ्चालन गर्ने व्यावहारिक सीप प्रदान गरेको थियो ।

नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिका तथा रसुवाको कालिका र उत्तरगया गाउँपालिकाका विभिन्न विद्यालयमा प्रस्तुति तथा खेल गतिविधि सञ्चालन गरिएको थियो । तालिम र क्षमता विकासका गतिविधि भने विदुरमा आयोजना गरिएको थियो ।
कार्यक्रम प्लान इन्टरनेसनल नेपालका स्थानीय साझेदार संस्थाहरू डिप्रोस्क नेपाल, किर्डाक नेपाल र सिविन नेपालको सहकार्यमा सञ्चालन गरिएको हो ।
प्लान इन्टरनेसनल र क्लाउन्स विदाउट बोर्डर्स बीच १५ वर्षभन्दा लामो समयदेखि विश्वव्यापी साझेदारी रहँदै आएको छ । यस साझेदारी मार्फत मानवीय संकट तथा विपद्बाट प्रभावित बालबालिका र किशोर किशोरीका लागि सिर्जनात्मक कला, मनोरञ्जनात्मक प्रस्तुति र खेलमा आधारित गतिविधि सञ्चालन हुँदै आएका छन् ।

नुवाकोट र रसुवामा सञ्चालित यस कार्यक्रमले विपद् व्यवस्थापन तथा मानवीय सहायतामा बालबालिकाको मनोसामाजिक स्वास्थ्य, खेल र सिर्जनशीलतालाई पनि प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ ।
भौतिक संरचना पुनर्निर्माणसँगै बालबालिकाको सुरक्षित बाल्यकाल, सामाजिक सम्बन्ध र भावनात्मक खुसी पुनःस्थापित गर्नु पनि विपद्पछिको पुनर्लाभको महत्वपूर्ण पाटो हो भन्ने कुरा यस पहलले उजागर गरेको छ ।


48 पटक हेरिएको 

