“जब चाहना बलियो हुन्छ तब केही अबरोध हुन्न”, लोहागढ सरसफाइ नमुना टोलका अध्यक्ष लौटन चौधरीले गर्व गर्दै भन्नुभयो “कानै नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै हाम्रो टोलमा उदाहरणीय बन्नु भएको छ।”
गेरुवा गाउँपालिकाको वडा नं ६ साविक मनाउ गाविसमा पर्दछ लोहागढ । यस समुदायमा थारु जातिका ३५ घरपरिवारका २०५ जना बसोबास गर्दछन् । दुबै कानले नसुन्ने र बोल्न पनि नसक्ने मंगल र प्रेमलौटी दम्पत्तीको यही समुदायमा घर छ । उहाँहरुको साथमा दुई छोरी र एक छोरा छन् ।
जेठी छोरी निश्चल १२ बर्षकी छिन् भने कान्छी छोरी आरती ७ बर्षकी । दुबै जना लोहागढमै रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । निश्चलले सांकेतिक भाषा अध्ययन गरेकी त हैनन् तर सानैदेखि बुवाआमासँग कुराकानी गर्ने क्रममा जानेकी छिन् । उनैले दोभाषेको काम गरी पूर्ण सरसफाइमा आफ्नो परिवारको कथा बाहिर ल्याउन सहयोग गरिन् ।

मंगलको परिवारको मुख्य पेशा खेतीपाती र ज्याला मजदुरी हो । खेतीपाती गर्नका लागि निजी १४ कट्ठा र अधियामा लिएको १० कट्ठा खेत छ । घर बनाउने काम पाउँदा मंगल ज्यामी गर्न जानुहुन्छ ।
खुल्ला दिसाुमक्त अभियान सञ्चालन हुनुभन्दा पहिले मंगलका सपरिवार गेरुवा नदी किनारातिर खुल्ला स्थानमा दिसापिसाब गर्ने गर्दथे । चर्पी नहुँदा झाडापखालाजन्य रोग लागेर अति दुःख पाएको स्मरण गर्दै प्रेमलौटी भन्नुहुन्छ “छोरीहरुलाई मात्रै हो र मलाई पनि पखाला लागि रहन्थ्यो, बिरामी स्याहार्दा, हेल्थपोष्ट लैजादा हैरान हुन्थ्यौं, पैसा खर्च भैरहने, दिसा गर्न बाहिर जाँदा अरुले देख्ने, जंगली जनावर र सर्पको डर हुन्थ्यो । अभियानको समयमा (सन २०१३ मा) घरमा चर्पी बनेपछि आनन्द भएको छ , झन् २ बर्ष पहिले गोबर ग्याँस जडान गरेपछि खाना पकाउन पनि सजिलो भएको छ ।”

“दुबै जनाले न त सुन्नु हुन्छ, न त बोल्नु हुन्छ, तर सबै सरसफाइ र स्वच्छताका आनीबानी अपनाउनु भएको छ । उहाँहरु छरछिमेकमा कसैले नयाँ गरेको देख्ने बित्तिकै सिको गरिहाल्नु हुन्छ ।” लौटन चौधरीले समुदायको बैठकको सम्झना गर्दै बताउनुभयो ।
वायोस्याण्ड फिल्टर राख्ने बारेमा छलफल भईरहेको थियो, मंगल पनि बैठकमा आउनु भएको थियो । मैले जानी नजानी सांकेतिक भाषामा उहाँलाई अब फिल्टर राख्नु पर्छ भने, मंगलको केही प्रतिकृया आएन, मैले फेरि इशारा गर्दै भने, “तपाईको छोरा सानो छ, फोहोर पानीले बच्चालाई झाडापखाला लाग्छ, बिरामी पर्छ,, तपाईको परिवारमा अरुलाई पनि स्वास्थ्य समस्या आउन सक्छ ।”
मंगलको तीन दाजुभाई खलकमै छोरा छैन, उहाँकै मात्रै भर्खर दुई महिना पहिले जन्मेको हो, मेरो कुराले मंगलको दिल छोएछ, उत्ति बेलै फिल्टर राख्नेमा नाम टिपाउनु भयो, अनि पहिलो किस्ता स्वरुप तीन हजार नगद दिनुभयो । फिल्टरको मूल्य ४७ सय भनेको छ ।”
लोहागढमा २०७४ को भदौं महिनादेखि पूर्ण सरसफाइ अभियान शुरु भएको हो । खानेपानीको प्रमुख स्रोत ट्युववेल हो । तर धेरै छिमेकीहरुको झै मंगलको ट्युववेलमा पनि प्लेटफर्म बनेको थिएन, पानीको निकाश पनि उचित थिएन । अहिले मंगलको धारामा पन्ध्रसय खर्च गरि प्लेटफर्म बनेको छ । सँगै भाँडा माझ्ने जुठेल्ना र भाडा सुकाउने चाङ्ग बनाउनु भएको छ । फोहोर मलाई राख्नु भएको छ । घर आँगन वरिपरि क्यारी बनाएर फूल रोपिएको छ ।
‘बच्चाको दिसा लागेको कपडा कहाँ धुनुहुन्छ ?’ मैले प्रेमलौटीलाई सोधें । उहाँबाट सहज उत्तर आयो “पहिले चर्पी पनि थिएन, सरसफाइ बारे त्यत्ति थाहा पनि थिएन, छोरीहरु हुर्काउदा दिसा गरेको कपडा गेरुवामा लगेर धुने गर्थे, तर अहिले पहिले चर्पीमा लगेर दिसा जति चर्पीमा बगाउने अनि खोलामा लगेर धुने गरेकी छु ।’
साबुन पानीले हात धुनु पर्ने अबस्थाका बारेमा पनि उहाँहरुले थाहा पाइसक्नु भएको रहेछ । छोरालाई बोकेर वायोस्याण्ड फिल्टर देखाउदै प्रेमलौटीले भन्नुभयो “हरेक मानिसले सुरक्षित खानेपानी पिउनु पर्छ, त्यसैले वायो स्याण्ड फिल्टर वा अन्य बिधि अपनाएर पानी शुद्धिकरण गरौं । सरसफाइ र स्वच्छता सम्बन्धी स्वस्थकर आनीबानी अपनायो भने मात्रै स्वास्थ्य राम्रो हुन्छ, आत्मसम्मान बढ्छ, गर्व गर्न पाइन्छ । त्यसैले सरसफाइ अभियानमा लागौं, पहिला आफुलाई बदलौं ।”

प्रेमलौटीका कुरा सुनेर मंगल थारु मख्ख पर्नु भएको थियो । ‘सरसफाइको माध्यमबाट आफ्नो परिवार र समुदायमा भएको प्रगति र परिवर्तन देख्दा कस्तो महसुस भईरहेको छ ?’ हाँसिरहेका थारुले भन्नुभयो “मलाई एकदमै राम्रो लागिरहेको छ, पहिले भन्दा सहज रुपमा खुशी हुँदै गर्वका साथ बाँचिरहेका छौ ।” मेरो गाउँ पनि अति सुन्दर बनेको छ, छिमेकीहरुले पनि हाम्रो ख्याल गर्नु हुन्छ ।” निश्चललाई कुराकानी गराएर सहयोग गरेकोमा धन्यवाद दिदै थियौ, मंगलले हामी (यु.एन. ह्याविटाट, आई.डि.एस नेपाल, मायुस, र सरसफाइ समिति) तर्फ औंला देखाउदै भन्नुभयो ‘‘अभियान सञ्चालन आफ्नो र समुदायको जीवनलाई अझ राम्रो बनाउदै गर्व गर्न पाउने अबस्थामा पु¥याएकोमा धेरै धेरै धन्यवाद ।”
आई.डि.एस.नेपाल/मायुस बर्दिया द्वारा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम अन्र्तगत यु.एन ह्याविटाटको सहयोगमा बर्दिया जिल्लाको गेरुवा र बढैयाताल गाउँपालीकामा अगस्ट २०१७ देखि पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ ।


2058 पटक हेरिएको 

