पर्वत : पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा निर्माणाधनी सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको काम ४० प्रतिशत सकिएको छ । निर्माणाधीन खानेपानीको मुहानमा इनार र पम्पिङ हाउस निर्माण भइसकेको छ । प्लेन सेडिमेन्टेसन ट्यांक, स्लो स्यान्ड फिल्टर, रिजभ्र्वायर ट्यांक, सम्पवेल, रेडियल कलेक्टर लगायतको निर्माण कार्य भइरहेको छ भने मुख्य पाइप लाइन, मुख्य कार्यालय भवन र गार्ड भवन निर्माण गर्न बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले जनाएको छ ।
खानेपानी तथा ढल निकास विभागको सहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रम अन्तर्गत पर्वत बेनीमा २०७४ कात्तिकदेखि खानेपानी आयोजना शुरु भएको हो । आयोजना मार्फत् कालीगण्डकी नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्य रहेको छ ।
खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय पर्वतका इन्जिनियर विधान अर्यालका अनुसार विद्युतको सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकी नदीको किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १ सय ५० मिटर माथि रहने ट्यांकीमा ट्यांकीमा संकलन गरिनेछ । त्यहाँबाट चार चरणमा प्रसोधन गरेर मात्र उपभोक्ताका लागि वितरण गरिनेछ ।
प्रति सेकेन्ड १२ लिटर पानी तान्ने क्षमताको पम्प जडान गरिने अर्यालले बताउनुभयो । मुहानदेखि टं्याकी सम्मको उचाई १ सय ५० मिटर र दुरी ७ सय ५० मिटर रहनेछ । आयोजना निर्माणका लागि १२ करोड ४३ लाख ७८ हजार ४ सय ८७ रुपैयाँ लागत अनुमान गरिएको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताउनुभयो । ती मध्ये सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको तीस प्रतिशत श्रम तथा नगद लगानी रहेको छ ।
आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडाको बगरफाँट, पर्वत बेनी र लामा खेतका करिब एक हजार घरपरिवार लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।


1525 पटक हेरिएको 

