जो गीत गाएरै खानेपानी र सरसफाइको चेतना छर्छन्

उहाँलाई गीत गाउन लेखिरहनु पर्दैन । संगीत पनि अनिवार्य छैन । न कण्ठ नै गर्नुपर्छ । आफै रचनाकार आफै गायककार, त्यो पनि तत्काल मनमै कोरिन्छन् गीतका शब्द । जस्तो परिवेश त्यस्तै किसिमको गीत क्षणभरमै तयार पारेर गाईहाल्ने उहाँको विशेषता हो । उहाँले झण्डै चालीस बर्ष विताईसक्नुभएको छ गीत गाएरै । उमेरले ६० टेक्नै लागेका, गीतको माध्यमबाट सामाजिक चेतना भर्दै आउनुभएका उहाँ हुनुहुन्छ मुगुका कल्से नेपाली ।


खानेपानी, सरसफाइ र जनस्वास्थ्य लगायत सामाजिक बिषयवस्तुलाई टपक्क टिपेर गीत गाउने नेपालीले गीतबाटै समस्या पहिचान गरिदिने र सुल्झाउने उपाय पनि देखाइदिनुहुन्छ ।

उहाँको गीतले सामाजिक आवश्यकता दर्शाउँछ, गाउँले मिलर नै समाधानको प्रयास पनि गर्नुपर्छ भन्ने बोध गराउँछ र समाधानको उपाय गीतबाटै सुझाएको हुन्छ ।
समाजलाई दिशा निर्देश गर्ने खालका उहाँका गीतहरु मुगुको गमगढीमा स्थापना भएका रेडियोहरुमा नबजेको दिनै हुँदैन । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयले समेत उहाँलाई उचित पारिश्रमिक उपलब्ध गराएर सामाजिक सचेतनाका छोटा गीतहरु गाउन लगाएर रेडियोबाट प्रसारण गर्छन् ।

रेडियोमा बज्ने ऋतु अनुसार आउन सक्ने समस्या, विपद र सावधानीका सन्देशहरु प्रायः उहाँकै आवाजमा हुन्छन् । हिउँदको समयमा हावाहुरी चल्ने भएकाले आगलागी हुनसक्ने र त्यसबाट बच्ने उपाय गीतबाटै प्रसारण भइरहेको हुन्छ भने बर्षायाममा लाग्न सक्ने रोग, पानीको शुद्धिकरण जस्ता विषय पनि उहाँको गीतमै अटेका हुन्छन् ।

रेडियोमा मात्र बज्ने कल्से नेपालीको गीत हामीले प्रत्यक्ष सुन्ने अवसर पायौं । गमगढी बजारबाट ओरालो झर्दै गर्दा नेपाली सँग हाम्रो भेट भयो । एक हातमा लौरो, अर्को हातमा श्रीमतीको हात समातेर हिड्दै गरेका नेपालीलाई हामीले गीत गाउन आग्रह गर्यौं ।

 

 

जस्ताको तस्तै छ, जस्ताको तस्तै छ, मुगु जिल्ला खन्यापानी
ठाउँ ठाउँमा बस्दैछ, गरिबी निमुखा जनताहरु
हम्बो खन्यापानी कहिले सुध्रिने होला
पाइप छियो धारो नाई, धारो भए पाइप पाईदैन
सिद्धि त गाह्रो नाई मुगालीले पानी खान हुन्

 

उहाँले साँच्चिकै मुगालीले भोगिरहेको खानेपानीको साझा समस्या दर्शाउनुभयो । खोलाको पानी बोकेर खानुपर्ने, पाइप भए पानी नहुने, पानीको धारो भए पानी नझर्ने समस्या छ मुगुमा ।

उहाँको गीत सुनेर कति समाधान भयो यो भएन , आफ्नै ठाउँमा छ । पानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गर्नुभयो । गीत सुनेर कतिले पानी शुद्धिकरण गर्ने तरिका थाहा पाए ? अनि कतिले शुद्धिकरण गरेर पिउन थाले ? यसको कुनै लेखाजोखा छैन ।

मुगु खुला दिसामुक्त घोषणा भइसकेको छ । मुगुको खुला दिसामुक्त अभियानमा धेरैले आ आफ्नै तरिकाले योगदान दिएका छन् । कसैले तालिम, गोष्ठी चलाए, कतिले कर्मचारी नै परिचालन गरेर चर्पी बनाउन लगाए । तर सरसफाइ अभियानमा कल्से नेपालीले गीतको माध्यमबाट पुर्याएको योगदान पनि चानचुने छैन ।

टोइलेट चर्पी लाउ, मुगाली बजारका मान्ठाहरु हो
त्यत्ति मात्रै राहु जिल्ला मुगुबाट फोगड

गीतको माध्यमबाट सामाजिक चेतना प्रवाह गर्न कहिल्यै नथाकेका कल्से नेपालीलाई सलाम । दृष्टिविहीन नेपालीले दृश्यमा कस्तो भयो भनेर हेर्न देख्न नपाए पनि गीतको माध्यमबाट समाजमा चेतना भर्न सफल भएको सुन्न चाहनुहुन्छ ।

‘मलाई थाहा छ, यहाँको समस्या यस्तो छ । र त म गीत मार्फत भनिरहेको हुन्छु । तर परिवर्तन भएछ भने पनि म देख्न सक्दिन । मेरो आँखाले देख्न नसकेपनि गाउँमा परिवर्तन भएको सुन्न चाहन्छु र यस्तै गीतहरु गाइरहन्छु ।’ नेपालीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार