यी हुन्, सरसफाइ क्षेत्रका जादुगर

  पी.टी.लोप्चन  2606 पटक हेरिएको

उहाँको सामु परेपछि जस्तो सुकै अटेरी व्यक्ति पनि चर्पी बनाउने बाचा गरेर फर्किन्छन् । चर्पी बनाउन आग्रह गर्दा रीसले आगो भएकाहरु पनि उहाँको कुरा सुनेपछि मत्थर हुन्छन् र भन्न थाल्छन् ‘हजुर ! चर्पी त हाम्रै लागि हो ।’

SNV नेपालमा वास एडभाइजरको रुपमा सिरहामा कार्यरत रामप्रकाश सिंह सँग यस्ता दर्जनौं विधिहरु छन्, जसले चर्पी बनाउन नाइनास्ती गर्नेहरु पनि उहाँको कुरा सुनेपछि चर्पी बनाउन लालयित हुन्छन् । सरसफाइ क्षेत्रकै व्यक्तिहरु पनि भन्छन् ‘रामप्रकाश सिं सरसफाइ क्षेत्रको जादुगर नै हो ।’

उहाँले जुन ठाउँको काम गर्ने जिम्मेवारी पाएको हुन्छ त्यो ठाउँ खुला दिसामुक्त भएरै छाड्छ । मानिसहरुलाई खुला दिसामुक्त अभियानमा सरिक गराउने उहाँको गज्जबको शैली छ, चर्पी बनाउन नमान्ने मानिसहरुलाई साँच्चिकै जादु चलाएरै चर्पी बनाउन राजी बनाउनुहुन्छ ।

 

जादु नं. १:  चर्पी नभएको घरमा खाना नखाने, बास नबस्ने 

कुनै अपरिचित घरमा पुग्दा उहाँको पहिलो जिज्ञासा नै चर्पी हुन्छ । चर्पी छ, खाना, खाजा स्वीकार्नु हुन्छ, चर्पी छैन, उहाँ केही खानुहुन्न । यस विषयमा कालिकोटको एउटा स्मरणीय घटना छ उहाँ सँग । खानेपानीको मर्मत सम्भार सम्बन्धी तालिम सञ्चालन गर्ने निधो गरेर अघिल्लै दिन त्यो घरमा पुग्नुभएको थियो रे, त्यो घरमा चर्पी नभएको पत्ता लागेपछि उहाँले तालिम स्थल नै परिवर्तन गरी विद्यालयमा पुर्याउनुभएछ । गाउँको अगुवाको घरमा समेत शौचालय नहुँदा तालिम सार्नुपरेको कुरा गाउँभरि फैलिएपछि गाउँले सबैले चर्पी बनाए । त्यसपछि त्यो गाउँ र गाविसलाई नै खुला दिसामुुक्त घोषणा गर्न सफल भएको कुरा उहाँको स्मरणमा अहिले पनि ताजै छ ।

जादु नं. २ : चारवटा रणनीति 

उहाँले सञ्चालन गरेको सरसफाइ अभियानमा चारवटा रणनीति प्रयोग गर्नुहुन्छ । जसले गर्दा अभियानलाई चलायमान बनाउँछ ।

अनुदानलाई तोड्ने र पुरस्कारमा परिणत गर्ने : उहाँ जहिले पनि अनुदानलाई सरसफाइको दुश्मन ठान्नुहुन्छ । त्यसैले उहाँको पहिलो काम अनुदानलाई तोडेर पुरस्कारमा बदल्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘अनुदान बाधा हो भने पुरस्कार सफलताको कडी हो, त्यसैले कसेको आशामा बाँच्न होइन, आफैले बनाउँन प्रेरित गर्ने र पुरस्कार दिने परिपाटीको शुरुवात गर्ने हो ।’

पारदर्शिता : अर्को रणनीति हो पारदर्शिता । अपारदर्शिता भएमा बजेटमा होस् वा कार्यक्रममा, त्यसले वाधा पुरयाउने उहाँको धारणा छ । त्यसैले पहिलो काम आफ्नो कार्यक्रमबारे पारदर्शी बनाउनुहुन्छ । कार्यक्रम तथा बजेटलाई पारदर्शी बनाउँदा सबैको विश्वास जितिने र सबैको समर्थन प्राप्त हुने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ ‘यो कार्यक्रम नै सबैको सरोकार रहने विषय हो । कार्यक्रमबारे पारदर्शिता भयो भने सबैले मेरो कार्यक्रम हो भनेर अपनत्व महसुस गर्न थाल्छन् र चर्पी निर्माणले गति लिन्छ ।’

सहभागिता : कतिपय कार्यक्रममा सहभागिताको नाममा हस्ताक्षर गराउने काममा मात्र सहभागी गराएको हुन्छ । तर राम प्रकाश सिं त्यस्तो सहभागितालाई अर्थपूर्ण मान्नुहुन्न । उहाँ हरेक कार्यक्रममा समावेशी र अर्थपूर्ण सहभागितालाई जोड दिनुहुन्छ । समाजमा असमावेशीमा परेका मानिसहरुलाई पनि बोलाएर उनीहरुलाई निर्णय प्रक्रियामा सहभागी गराउने र अर्थपूर्ण बनाउने कामले सरसफाइ अभियानलाई गति दिन मद्दत मिल्छ ।

जो सँग छ त्यहाँबाट शुरु : उहाँले काम गर्ने समुदायमा चर्पी बनाउने काम जो सँग छ त्यही बाट शुरुवात गर्नुहुन्छ र जो सँग छैन, त्यहाँ अन्त्य गर्नुहुन्छ । यसो गर्दा जो सँग आर्थिक हैसियत छैन, विपन्न छन् वा चर्पी बनाउने जन नै छैन भने पनि त्यस्ता वर्ग थोरै बाँकी रहन्छ । उनीहरुका लागि समुदायमै छलफल गरेर चर्पी निर्माण गराउन सकिन्छ ।

जादु नं. ३ : भगवान बन्ने कथा 

तालिम तथा गोष्ठीमा उहाँले भगवान बन्ने कथा सुनाउनु हुन्छ । सहभागीहरु कान ठाडो पारेर सुनिरहेका हुन्छन् ।
एक जना मूर्तिकार थियो, मूर्तिकारले खोलाबाट ढुंगा लिएर आउँदै गर्दा ढुंगाले सोधेछ ‘मलाई कहाँ लिएर जाँदैछौं ?’

मूर्तिकारले भनेछ ‘म तिमीलाई भगवानको मूर्ति बनाउँछु, मूर्ति बनाएर मन्दिरमा स्थापना गरिदिन्छु । मन्दिरमा स्थापना गरेपछि तिमीलाई सबैले फूलमाला लगाएर मीठामीठा खानेकुरा चढाएर सबैले धुपबत्ती बाल्छन्, सबै जना नमस्कार गरेर शीर निहुँराउँछन् ।’
ढुंगाले सोधेछ ‘ठीक छ राम्रो कामको लागि लैजादै हुनुहुन्छ । तर यो मूर्ति कसरी तयार पार्नुहुन्छ ?’

मूर्तिकार – ‘एउटा छिनो र हथौडा लिन्छु, हथौडा र छिनोले ड्याम ड्याम… हानेर कान बनाउँछु, नाक बनाउँछु, आँखा बनाउँछु र मन्दिरमा स्थापना गरिदिन्छु ।’
आत्तिदै ढुंगाले भनेछ ‘छिनो र हथौडाले हान्दा त निक्कै दुख्छ होला ?’
मुर्तिकार –‘दुख्न त दुख्छ नदुखिकन भगवान बन्न सक्दैन ।’

ढुंगा – ‘म यो पीडा सहन सक्दिन, बरु ढुंगाकै अवस्थामा रहन दिनुहोस्’
मूर्तिकार – ‘भगवान बन्नका लागि जबरजस्ती छैन, अब तिमीलाई खोलामा लैजाने कुरा हुँदैन, म यही बाटोको छेउमा राखिदिन्छु । फेरि अर्को ढुंगा लिन जान्छु ।’
मुर्तिकारले अगाडिको ढुंगालाई बाटोको किनारामा राखेर फेरि अर्को ढुंगा लिन खोलामा जान्छ । ढुंगा लिएर आउने क्र

ममा अर्को ढुंगाले पनि सोध्छ ? मलाई कहाँ लैजाने हो ?

मुर्तिकारले अघिकै कुरा दोहोर्याउँछ ‘छिनो हथौडाले हानेर आँखा, नाक, कान बनाएर मन्दिरमा स्थापना गरिदिने ।’
दोस्रो ढुंगा – ‘पीडा त हुन्छ होला, म भगवान बन्न चाहन्छु तर मेरो आग्रह छ, तपाईले एकैचोटि हानेर बनाउँदा दुख्छ होला ? अलि विस्तारै विस्तारै हानेर विस्तारै आँखा, नाक, कान बनाईदिनुहोस् ।’

मूर्तिकार ढुंगाको आग्रह मान्न तयार हुन्छ र ढुंगालाई भगवानको मूर्ति बनाएर मन्दिरमा स्थापना गरिदिन्छ, अनि मानिसहरु धुपबत्ती बाल्छन्, फूलमाला लगाइदिन्छन् ।

पहिलो ढुंगा (जसलाई बाटोको किनारामा राखिएको हुन्छ) त्यसलाई भने मानिसहरुले दिसापिसाब गर्ने, कुल्चिने गरिरहेका हुन्छन् ।
सहभागीहरुले एकनाशले सुनिरहेका हुन्छन् । त्यत्ति नै बेला सहभागीलाई दुई विकल्प रोज्न दिइन्छ । पीडा सहेर भएपनि भगवान बन्ने कि पीडा नसहने र बाटोको छेउमा बसेर दुनियाँको दिसा पिसाब टाउँकोमा स्वीकार्ने ?
सहभागीहरु पीडा सहेर भएपनि भगवान बन्न तयार हुन्छन् । र भगवान बन्न चाहनेहरु चर्पी बनाउने कसम खाएर छुट्छन् ।

जादु नं. ४ : सबैभन्दा ठूलो अपराधी को ?

सबैभन्दा ठूलो अपराधी को होला ? भनेर सहभागीलाई नै सोधिन्छ । सहभागीहरुले कोही हत्यारा भन्छन् कोही बलात्कारी भन्छन्, कसैले डकैती भन्ने उत्तर दिन्छन् ।

सहभागीको उत्तर आएपछि ती पनि अपराधी त हुन् तर खुला दिसा गर्ने मानिसहरु झनै ठूलो अपराधी हो भन्ने प्रमाणित गरिन्छ ।
‘कसरी सर ?’ सहभागीहरु प्रश्न गर्छन् ।

रामप्रकाश सिं को जवाफ हुन्छ ‘हत्या गर्नेले १, २ वा ३ जनालाई हत्या गर्ला, बलात्कार गर्नेले पनि एक जनालाई वा २ जनालाई गर्न सक्लान् ? तर खुला ठाउँमा दिसा गर्ने व्यक्तिले हजारौं हजारलाई विरामी बनाउन सक्छ र हजारौं हजारलाई मार्न सक्छ । त्यसैले यो ठूलो अपराधी हो ।’

यो कुरामा सबै जना विश्वस्त हुन्छन् र चर्पी बनाएर चर्पीमा मात्र दिसा गर्न सहमत हुन्छन् । सिरहामा नागरिक र पुलिस सम्मिलित कार्यक्रममा त पुलिसका अधिकृतहरुले भन्नुभएको थियो रे ‘साँच्चिकै हत्या गर्नेलाई, चोरी गर्नेलाई, डकैती गर्नेलाई समात्न पाउँदा मलाई एकदम खुसी लाग्थ्यो । तर आज मलाई महसुस भयो, खुला ठाउँमा दिसा गर्नेहरुलाई छाडेर ठूलो भूल गरेको रहेछु, यसअघि यस्ता अपराधी नचिनेर पक्राउ नगरी छाडेका रहेछौं, अब देखि त्यस्ता व्यक्तिहरुलाई पनि छाड्ने छैन ।’

सरसफाइ क्षेत्रमा नवीन सोचहरु सिर्जना गरी सरसफाइलाई अग्रगमनको बाटोमा हिडाउने राम प्रकाश सिं सरसफाइ क्षेत्रको जादुगर नै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार