काठमाडौं : जलवायु परिवर्तनका कारण पानी पर्ने दरमा कमी आउँदा यसको असर खानेपानीको स्रोतमा पर्न थालेको एक अध्ययनले देखाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी विषयमा नेचर्स कन्जरभेसन प्राइभेट लिमिटेडले गरेको अध्ययनले खानेपानीको मुहान सुक्ने, खानेपानीको उत्पादनमा कमी आउने लगायतका समस्याहरु सिर्जना भएको देखाएको हो ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पानी पर्ने दरमा प्रति बर्ष १.३३ मिलिमिटरका दरले घट्दै गएको देखाएको छ । यसले गर्दा खानेपानी उत्पादनमा कमी आएको, खानेपानीको स्रोत सुक्दा खानेपानी योजनाहरु बन्द भएको र खानेपानीको समस्या सिर्जना हुने गरेको अध्ययनले देखाएको छ ।
जलवायु परिवर्तनका कारण कतै अतिवृष्टि हुने र कतै अल्पबृष्टि हुने समस्याले खानेपानीको स्रोतमा ठूलो समस्या सिर्जना गरेको छ । अतिवृष्टिका कारण हिमाली क्षेत्रमा पहिरोको जोखिम बढेको र यसले खानेपानीको संरचनामा क्षति पु¥याएको अध्ययनको निष्कर्ष छ । पहिरोले पाइप पुर्ने, इन्टेक बगाउने लगायत समस्या सिर्जना भएकाले खानेपानीको पूर्वाधार निर्माण गर्दा पनि जलवायु समानुकुलित बनाउनुपर्ने खाँचो औल्याएको छ ।
अतिवृष्टिकै कारण पहाडमा बाढीको जोखिम ४ गुणा बढेको अध्ययनले देखाएको छ । यस्तै तराईमा डुबान पर्दा भूमिगत पानीको स्रोत प्रदूषण हुने र गुणस्तरमै ह्रास आउने लगायतका समस्या देखिएको छ ।
नेचर्स कन्जर्भेसन प्राइभेट लिमिटेडले हिमाली क्षेत्रको मुस्ताङ र दोलखा, पहाडी क्षेत्रको भक्तपुर, अछाम, डडेलधुरा र जाजरकोट तथा तराईको धनुषा, नवलपरासी र सप्तरी जिल्लाका ६६९ वटा खानेपानी योजनाहरुको अध्ययन गरेको थियो ।
९ वटा जिल्लामा गरेको अध्ययनले ५५ वटा अर्थात ८ प्रतिशत कामै नलाग्ने अवस्थामा र ६१४ योजनाहरु सुचारु अवस्थामा भेटिएको थियो । ती मध्ये नमुनाको रुपमा ५९ प्रतिशत योजनाहरु पहाडी जिल्लाको लिइएको थियो भने ३२ प्रतिशत हिमाली र ९ प्रतिशत खानेपानी आयोजना तराईबाट लिइएको थियो ।
नेचर्स कन्जर्भेसनले अध्ययन स्थलमै पुगेर खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्तासँग छलफल तथा अन्तरक्रिया र अवलोकन गरी संकलन गरेको प्राथमिक सूचना र खानेपानी तथा ढल निकास विभागले उपलब्ध गराएको तथ्यांकहरु, राष्ट्रिय सूचना व्यवस्थापन शाखाको प्रतिवेदन, सम्बन्धित जिल्लाको जिल्ला पाश्र्वचित्र तथा विपद पूर्वतयारी र प्रतिकार्य योजनाको तथ्यांकहरुको आधारमा विश्लेषण गरेको जनाएको छ ।
नेचर्स कन्जर्भेसनले खानेपानी तथा ढल निकास विभाग, युनिसेफ, विश्व स्वास्थ्य संगठन (WHO) र अक्सफार्मको सहयोगमा सन् २०१७ जनवरी देखि अध्ययन शुरु गरेको हो ।


1693 पटक हेरिएको 

