सडक सफाइका बहादुर

  पी.टी.लोप्चन  694 पटक हेरिएको

हेल्लो ! ग्रीनसिटी हस्पिटलका अध्यक्ष ज्यू बोल्दै हुनुहुन्छ ? म लीलामणि पौडेल, नेपाल सरकारको मुख्य सचिव

हजुर बोल्दैछु । भन्नुहोस् त मैले के सेवा गरौं ?
तपाई, एम्बुलेन्स लिएर वाग्मती सरसफाइ अभियानमा सरिक भईदिनु पर्यो । यो अभियानमा तपाई जस्तो समाजसेवीहरुको खाँचो छ ।
हवस् हुन्छ हजुर, म आउँछु ।


………………………………………
वाग्मती सफाइ महाअभियानका संयोजक एवं तत्कालीन मुख्य सचिव लीलामणि पौडेलसँग भएको यो नै पहिलो सम्वाद थियो उहाँको । यो फोन सम्वाद हुँदा वाग्मती सफाइ महाअभियानले ५० हप्ता पार गरिसकेको थियो । वाग्मती सफाइ महाअभियान भईरहेको कुरा थाहा भएपनि कुनै न कुनै भूमिकाको खोजीमा रहेका लोक बहादुर टण्डनलाई तत्कालीन मुख्य सचिव पौडेलको फोनले ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो ।

हुन्छ आउँछु त भनें, तर एम्बुलेन्स चाहिं किन होला ? फोन राखेपछि उहाँको मनमा यो कुरा घुमिरह्यो । धेरै मानिसहरुको भेला हुने स्थानमा एम्बुलेन्स लिएर जाँदा हस्पिटलको पनि प्रचारप्रसार होस् भन्ने उहाँको अभिप्राय होला ? यही निष्कर्ष निकालेर उहाँ आफ्नो वचन पूरा गर्दै वाग्मती सफाइ महाअभियानमा सामेल हुनुभयो ।

तर एम्बुलेन्सको प्रयोजनबारेको सोचाई गलत रहेछ भन्ने कुरा उहाँले त्यहाँ सरिक भएपछि मात्र थाहा पाउनुभयो । ‘त्यहाँ त मानिसले जथाभावी फालिएका सीसा, किला काँटीहरु संकलन गर्ने क्रममा सरसफाइकर्मीहरु, अभियन्ताहरु घाइते हुँदा रहेछन् । मेरो सोचाई गलत रहेछ भन्ने कुरा त्यहाँ गएपछि थाहा भयो, त्यहाँ त तत्काल टीटी खोप लगाउन, पहिलो चरणको प्राथमिक उपचार सम्बन्धित ठाउँमै गराउन र कतै जटिल अवस्था आईहाल्यो भने तत्काल अस्पताल पु-याईहाल्न एम्बुलेन्स लिएर आउनुहोस् भन्नुभएको रहेछ’ अभियानको सुरुवाती अवस्थाबारे सम्झिदै अध्यक्ष टण्डनले भन्नुभयो ।

सामाजिक सेवाका हरेक आयामहरुमा आफूलाई समर्पण गर्दै आउनुभएका अध्यक्ष टण्डन त्यसपछि हरेक हप्ताको शनिबार हुने सफाइ अभियानमा सहभागी हुँदै आउनुभयो । समय वित्दै जाँदा वाग्मती सफाइका सहयोगी हातहरु बढ्न थाले । हरेक बुधबार वा विहीबार हुने बैठकमा ती सहयोगी हातहरुलाई एकै ठाउँमा मात्र केन्द्रित नगरी बिस्तारित गर्दा पो अझ बढी प्रतिफल हासिल हुन्थ्यो कि भन्ने विषयमा छलफल चल्न थालिसकेको थियो ।

सफाइ अभियानलाई वाग्मतीमा मात्र केन्द्रित नराखी विष्णुमति, मनहोरा, हनुमन्ते लगायत खोलाहरु र चक्रपथमा पनि विस्तार गर्ने बैठकको निर्णय भयो । चक्रपथ सफाइको संयोजकमा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन तोकिनुभयो ।

 

नयाँ साल नयाँ काम, टण्डनको चक्रपथ सफाइ अभियान

२०७३ साल चैत्रको अन्तिम शनिबारसम्म वाग्मती सफाइ महाअभियानमा अस्पतालका कर्मचारी सहित होमिएका लोक बहादुर टण्डनले चक्रपथ सफाइको नयाँ जिम्मेवारीलाई २०७४ को नयाँ बर्षसँगै शुभारम्भ गर्नुभयो ।

२०७४ साल वैशाख २ गते शनिबार । तत्कालीन शहरी विकास मन्त्री अर्जुन नरसिं केसीको उपस्थितिमा उहाँले चक्रपथ सरसफाइ अभियानको शंखघोष गर्नुभयो । जुन आज पर्यन्त सयौं अभियन्ताहरुको सहभागितामा चलिरहेको छ । आगामी शनिबार ६६ औं हप्ताको कार्यक्रम हुँदैछ ।

सरसफाइका अलावा उहाँले आफू अध्यक्ष रहेको ग्रीन सिटी हस्पिटल मार्फत १६ जना भन्दा बढी मुटुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरेर प्राण बचाउनु भएको छ भने अन्य जटिल प्रकारका रोगहरुको पनि निःशुल्क उपचार गराएर नयाँ जीवन दिनुभएको छ । अस्पतालबाट निःशुल्क उपचार पाएर बाँचेकाहरु उहाँलाई भगवानको उपमा दिने गर्छन् ।

गब्बरसिंको डाइलग भन्न सोलेको फिल्म हेर्नैपर्ने

कतिपय मानिसहरु अनुमानकै भरमा आफ्नो धारणा बनाउँछन् र फ्याट्ट भनिहाल्छन् । ग्रिनसिटी हस्पिटलका अध्यक्ष टण्डनको संयोजकत्वमा चक्रपथ सफाइ अभियान शुरु हुँदा पनि कतिपयले पत्याएकै थिएनन् रे ! टण्डन भन्नुहुन्छ ‘मलाई अहिले पनि ती दिनहरु झल्झली याद आउँछ, म मञ्चमा बसेर अरुलाई सफाइ गर्न आग्रह गर्दै गर्दा मेरै पछाडि कुरा काट्ने मानिसहरु थिए, म सफाइ गरिरहँदा कारमा हुँईकिदै कालो सीसाबाट चियो गर्नेहरु पनि थिए, तर अन्ततः तिनीहरु मध्ये पनि कतिलाई सफाइ अभियानमा समाहित गरेरै छाडें ।’

चक्रपथ सफाइमा को कसरी लागेका छन् ? सफाइ कसरी गरिन्छ ? किन सफाइ प्रति मानिसहरु यत्ति धेरै मरिमेटी लागेका छन् ? यो कसैले सुनेको, हेरेको वा अरुले सुनाएको भरमा थाहा पाउन मुश्किल छ । गब्बरसिंको डाइलग भन्न सोलेको फिल्म हेर्नैपर्छ । हो चक्रपथ सफाइ बारे बुझ्न पनि आफै सरिक भएर सफाइ गर्नुपर्ने उहाँको धारणा छ ।

अहिलेसम्म धेरैले सोलेको फिल्म हेरिसकेका छन् अर्थात चक्रपथ सफाइ अभियानमा सहभागी भइसकेका छन् । अभियानले पचासौं हप्ता पुगेको अवसरमा आयोजना गरेको विशेष सफाइ अभियानमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा १८ हजार सफाइ अभियन्ता मार्फत ७ हजार ५ सय मेट्रिक टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको तथ्याङ्क प्रस्तुत गरेको थियो ।

 

 

फोहोरको मुहान बन्द गर्ने प्रयत्न

चक्रपथ सफाइ अभियान मार्फत फोहोरको मुहान नै बन्द गर्न अनेकौं सिर्जनात्मक कामहरु भएका छन् । महाअभियानले गरेका मुख्य कामहरु :
१. फोहोर जथाभावी नफ्याँक्न र सरसफाइमा सरिक हुन घरदैलो अभियान
२. मौन बसेका मानिसहरुलाई सफाइमा सरिक गराउन अपाङ्गता भएका मानिसहरुलाई समेत सफाइमा परिचालित
३.सफाइमा सबै सहभागी हुनुपर्छ भन्ने भावनाको विकास गराउन सरकारका उच्च पदस्थ व्यक्तिहरु, मन्त्री, कलाकार, पत्रकार लगायत समाजका विशिष्ट व्यक्तिहरुलाई पनि सहभागी गराएको
४. रिचार्ड गरेर फ्याँकेको कार्ड २०० वटा ल्याउनेलाई ५० रुपैयाँ र सुर्ती खैनीको ५०० खोल ल्याउनेलाई १०० रुपैयाँ नगद दिने अभियान
५. रिचार्ड गरेर फ्याँकेको कार्डको प्रशोधन गरी पुनःप्रयोग सम्बन्धी नेपाल टेलिकम र एनसेल सँग छलफल गरिएको

शनिबार आउँदा दशैं आए जस्तो

‘एक हप्ता होइन, दुई हप्ता होइन, हरेक हप्ता निरन्तर कसरी समय निकाल्ने होला ? अल्छी पनि लाग्दैन कि ? कति दिक्क लाग्दो होला नि ?’ सफाइबारे बाहिरी मानिसको मनमा यस्तै कुराहरु खेलिरहेको हुन्छ । तर सरसफाइ अभियानमा सरिक हुने बानी, अभियन्ता टण्डनका लागि एक प्रकारको नशा जस्तै भइसकेको छ । हरेक शनिबार उहाँलाई दशैं जस्तै लाग्छ रे ।

 

‘अहिलेसम्म कति झरी बादल आयो, चुनाव आयो, दशैं, तिहार तथा छठ जस्ता पर्वहरु विते, तर हाम्रो अभियान कहिल्यै रोकिएन । हरेक शनिबार आउँदा दशैं आए जस्तै पो लाग्छ’ अभियन्ता टण्डनले भन्नुभयो ।

नेपालमा हुँदा चक्रपथ सफाइ अभियानलाई कहिल्यै नछुटाउने अभियन्ता टन्डन विदेशमा रहँदा समेत सफाइ अभियानको विषयमा जानकारी राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘म बाहिर हुँदा झनै सकसक लाग्छ, कसरी सफा गर्नुभयो होला साथीहरुले ? को को आउनुभयो होला ? आफू पनि भईदिए आज साथीहरुसँग फोहोर सफा गर्न पाउँथे भनेर सोचिरहन्छु र भाइबर तथा म्यासेन्जरबाट कुराकानी गरेर साथीहरुलाई सल्लाह दिइरहेको हुन्छु अनि फोटोहरु मगाएर हेर्ने गर्छु ।’

एक ट्रक फोहोर ल्याउनेलाई १ लाख रुपैयाँ पुरस्कार

चक्रपथ सफाइ अभियानले सफाइ गरेको क्षेत्रमा अरु स्थानमा जस्तो यत्रतत्र फोहोर छरिएको भेटिदैन । हरेक शनिबार स्वतस्फूर्त रुपमा मानव अधिकारकर्मी, नेपाली सेना, प्रहरी, सामाजिक स्वयंसेवकहरु सफाइमा परिचालित हुन्छन् । अध्यक्ष टण्डनले महाराजगन्जदेखि कलंकी वा महाराजगन्जदेखि कोटेश्वर सम्मको सडकको दायाँबायाँ कसैले एक ट्रक फोहोर बनाएर ल्याएमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो ।

सडक सफा हुँदै गएको यो ठूलो प्रमाण हो । काठमाडौ उत्यकामा उत्पादित फोहोर मध्ये बढीजसो कुहिने फोहोर भएकाले यसबाट यसबाट विद्युत, ग्याँस उत्पादन गरेर आयआर्जनमा ढाल्न सके मानिसहरुले सडकमा फोहोर फ्याँक्न बन्द गर्ने उहाँको तर्क छ ।

 

हामीलाई सोध्ने गर्छन् ? ‘तपाईहरु कहिलेसम्म फोहोर टिप्दै हिड्नुहुन्छ ?’ तर हामीलाई लाग्छ फोहोर सफा गर्दै हिड्नुपर्ने दिनको पनि अन्त्य हुन्छ । तर मानिसहरुमा जथाभावी फोहोर फाल्नुहुँदैन भन्ने सचेतना जगाउन आवश्यक छ । यो आजको भोलि हुने कुरा पनि होइन रहेछ । अभियन्ता टण्डन भन्नुहुन्छ ‘सरकारले २०७५ लाई सफाइ बर्ष घोषणा गरेको छ, अब फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन हुन्छ भन्नेमा हामी आशावादी छौं, यसको कार्यान्वयन भएमा धेरै मानिसहरु सचेत हुनेछन् । आशा छ हामीले चाहे जस्तो सुन्दर नेपाल अबको केही बर्षमै देख्न पाउँनेछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार