ओखलढुंगा : ओखलढुंगाका तीन वटा खानेपानी योजनामा एकैसाथ पानी प्रशोधन केन्द्र निर्माण शुरु गरिएको छ । ओखलढुंगाको सदरमुकाम ओखलढुंगा बजार, रूम्जाटार र कुन्तादेवी खानेपानी योजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाले पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाएको हो ।
२ करोड २० लाख लागतमा ३ वर्षअघि सुरू भएकोे ओखलढुंगा सदरमुकामको प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सकिएको छ भने रूम्जाटार पानी प्रशोधन केन्द्रको काम ६० प्रतिशत सकिएको डिभिजन कार्यालयले जनाएको छ । रुम्जाटार प्रशोधन केन्द्रको दुई करोड ६७ लाख लागत अनुमान गरिएको छ । यस्तै कुन्तादेवीमा गत आर्थिक बर्षबाट काम सुरू भएको छ । कुन्तादेवीको २ करोड ९७ लाख लागत अनुमान गरिएको छ ।
ट्रिटमेन्ट प्लान्टको काम सकिएपछि सेडिमेन्टेसन ट्यांक, रफिङ फिल्टर, स्लो स्यानी फिल्टर लगायत पानी शुद्धीकरण गर्ने संरचना तयार हुनेछन् । ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएपछि खानेपानी गुणस्तर मापदण्ड २०६२ ले तोकेको मापदण्ड अनुसारको सुरक्षित पानी उपभोग गर्न पाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाका डिभिजन प्रमुख किरण आचार्यले बताउनुभयो ।
पहिलो चरणमा शुरु भएका तीनवटा खानेपानी योजनाको प्रशोधन केन्द्र निर्माण पछि अरू योजनामा पनि निर्माण गर्दै लगिने उहाँले बताउनुभयो । सन् २०३० सम्ममा जिल्लाभित्र रहेका सबै खानेपानी योजनाको पानी शुद्धीकरण गरेर मात्र वितरण गरिने डिभिजन प्रमुख आचार्यले बताउनुभयो ।


1709 पटक हेरिएको 

