काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाका जिल्ला समन्वय समिति र स्थानीय तहलाई खुला दिसामुक्त अभियानमा सहकार्य गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले खुुला दिसामुक्त घोषणा गर्न बाँकी काठमाडौ, रुपन्देही, कपिलवस्तु, धादिङ, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुुषा, मोरङ, झापा, सोलुखुम्बु र भोजपुरलाई पत्र पठाई सन् २०१८ भित्र देशलाई खुलादिसामुक्त बनाउने अभियानमा स्थानीय तहलाई समेत अविलम्ब खुला दिसामुक्त घोषणा गराउन प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले जिल्लाको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मार्फत आवश्यक सहयोग, समन्वय तथा सहकार्य गरिदिन समेत भनेको छ । मन्त्रालयले सम्बन्धित जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई निर्देशन दिनु अघि खुला दिसामुक्त अभियानमा समन्वय गरिदिन आग्रह गरिदिन खानेपानी मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो ।
सरसफाइ गुरुयोजना २०११ ले नेपाललाई सन् २०१७ भित्रै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको थियो । सातौं साकोसन सम्मेलनको घोषणापत्रमा नेपालले सन् २०१८ भित्र खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने उल्लेख छ । यस्तै दिगो विकास लक्ष्य नं. ६ ले सन् २०३० भित्र नेपाललाई पूर्णसरसफाइयुक्त बनाउने भनिएको छ ।
सरसफाइ गुरुयोजना २०११ अनुसार जिल्ला समन्वय समितिका प्रमुखहरु जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अध्यक्ष रहन्छन् ।


2194 पटक हेरिएको 

