काठमाडौ : यौनिक अल्पसंख्यकहरुका लागि छुट्टै सार्वजनिक शौचालय नहुँदा शौचालयमा समेत हिंसा सहन बाध्य छन् । महिलाको शौचालयमा जाँदा तपाई पुरुष भएर पनि किन:महिलाको शौचालय आएको भनेर गाली खानुपरेको र पुरुषको शौचालयमा जाँदा असुरक्षित हुने गरेको तेस्रोलिङ्गी सुमन तामाङले बताउनुभयो ।
‘म जैविक रुपमा महिला हुँ, तर म भित्रको चालचलन पुरुषको छ, मलाई पुरुष हुँ भन्ने नै लाग्छ । त्यसैले म पुरुषको व्यवहार गर्छु र पोशाक पनि पुरुष झल्किने नै लगाउँछु । म पुरुषको शौचालयमा जाऊँ असुुरक्षित हुन्छु, महिला शौचालयमा जाऊँ तपाई पुरुष मान्छे किन महिलाको शौचालयमा छिरेको ? भनेर गाली खानुपर्छ । त्यसैले हाम्रो संवेदनशीलता राज्यले बुझिदिनुपर्छ’ तामाङले भन्नुभयो ।
अन्य लेखेको शौचालय हुनुपर्ने
सार्वजनिक शौचालय तथा व्यापारिक प्रतिष्ठानहरुमा महिला र पुरुषका लागि अलग्गै शौचालय निर्माण गरिएको छ । ती शौचालय महिला वा पुरुषका लागि मात्र भएकाले लैंगिक अल्पसंख्यकका लागि छुट्टै शौचालय हुनुपर्ने र यसका लागि ‘अन्य’ लेखिएको हुनुपर्ने तामाङले बताउनुभयो ।
अन्य लेखिएको शौचालय बनेमा शौचालयमा हुने हिंसा व्यहोर्नु नपर्ने र लैंगिक अल्पसंख्यकहरुको समस्या समाधान हुने उहाँले बताउनुभयो ।
‘सरकारले यो कुरा बुझ्न आवश्यक छ कि, महिला र पुरुष बाहेक तेस्रो लिङ्ग पनि हुन्छ भनेर स्वीकार गरिसकेको सन्दर्भमा शौचालय चाहिं महिला र पुरुषका लागि मात्र बनाएर पुग्छ ? त्यसैले हामी यौनिक अल्पसंख्यकहरुका लागि छुट्टै शौचालय निर्माण भएमा मात्र सरसफाइमा तेस्रो लिङ्गीहरुको पहुँच स्थापित हुन्छ ।’ तामाङले भन्नुभयो ।


1138 पटक हेरिएको 

