सल्यान कौछेका बासिन्दाको दुःखका दिन गए

सल्यान : वर्षौंदेखि खानेपानीको संकट झेलिरहेको सल्यानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । लिफ्ट प्रणाली मार्फत गाउँमा पानी पुगेपछि खानेपानी थाप्न धारामा गाउँलेको भीड लागेको छ ।

साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट गाउँमा १२ वटा सार्वजनिक धाराहरु निर्माण भएका छन् । दैनिक १९ हजार १ सय लिटर पानी संकलन हुने खानेपानी संकलन हुन्छ । खानेपानी प्रयोग पछि वाँकी पानी सिंचाईका लागि प्रयोग गर्नका लागि ७ वटा सिँचाइ धारा समेत निर्माण गरिएको छ । वहुउद्देश्यीय योजनाबाट २२ रोपनी जमिनमा सिंचाई पनि सुविधा उपलव्ध हुने दलित विकास समाज सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिनुभयो ।

करिव ४१ लाख रुपैयाँको लागतमा सम्पन्न भएको आयोजनाबाट ५८ घरधुरी लाभान्वित हुने दलित विकास समाज सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिनुभयो ।

गाउँमा खानेपानी नहुँदा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउने गरेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी पुनले बताउनुभयो । नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गर्दा शौचालय निर्माण गरिएको भएपनि पानीको अभावका कारण प्रयोग ल्याउन नसकेको पुनको भनाई छ ।

‘गाउँमा वर्षौ देखि पानीको अभाव थियो पानीकै लागि भौतारिनु प¥यो हामीले राम्रोसंग शौचालय प्रयोग गर्न पाएनौं, अब गाउँमा पानी आयो हामी खुसी छौं । दुःख भनेकै पानीको थियो, अब पानी पनि आएपछि हाम्रा दुःखका दिन गए । अध्यक्ष पुनले भन्नुभयो ।

नगरपालिकाको ध्यान नपुगेको ठाउँमा संस्थाले विकासलाई गति दिएको भन्दै वनगाड कुपिण्डे नगरपालिकाकी उप प्रमुख मञ्जु यरीले धन्यवाद दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार