सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर

स्याङ्जा : माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन ।

योजना ल्याउनुअघि गरिएको अध्ययनमा गाउँपालिकाअन्तर्गतका ९ माविबाट प्रत्येक दिन २ छात्रा कक्षामा अनुपस्थित रहने गरेको पाइएको थियो । गाउँपालिकाअन्तर्गत ४ निजीसहित २९ विद्यालय छन्, जसमा ९ मावि पर्छन् ।

‘महिनावारी भएकै कारण छात्रा विद्यालय नआउने जानकारी भएपछि इन्सिनेरेटरको व्यवस्था गरेका हौं,’ गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘महिनावारीको समस्या मावि तहमा नै हुने हो भनेर सेनेटरी प्याडसँगै यसलाई विर्सजन गर्न इन्सिनेरेटर हस्तान्तरण गरेका हौं ।’ अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शनिबार छात्रा र शिक्षिकाको जिम्मा लगाइएको उनले बताए । गाउँपालिकाले केही महिना अगाडि सेनेटरी प्याड बनाउने तालिमको आयोजना गरेको बेला यसलाई कसरी विसर्जन गर्ने भन्नेबारे पनि सिकाइएको थियो ।

गाउँपालिकाले सेनेटरी प्याडको पनि व्यवस्थापन गरेको छ । निजी विद्यालयहरूले सेनेटरी प्याडको व्यवस्थापन आफैं गर्ने बताएपछि गाउँ कार्यपालिकाले सामुदायिकलाई मात्र वितरण गरिएको जनाएको छ । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने उद्देश्यले वातावरणीय दुष्प्रभाव प्रभाव नपर्ने गरी व्यवस्थापन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए ।

ढुवानीसहित ९ इन्सिनेरेटरलाई १ लाख रुपैयाँ खर्च गरिएको छ । महिला शौचालयसँगै राखिने इन्सिनेरेटर ग्यासको सिलिन्डर जस्तै छ । माथि मुखबाट प्याड राखिन्छ । प्याडले भरिएपछि आगो लगाइन्छ । प्याड खरानीमा परिणत हुन्छ ।

कान्तिपुर दैनिकबाट


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार