उदयपुर : कटारी नगरपालिकाको लेखानीदेखि बेलकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय बनेका हुन् । ती शौचालय पानी नहुँदा प्रयोगविहीन भएका छन् ।
विद्यालय गएका विद्यार्थी शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर शौच गर्न बाध्य छन् । उदयपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै विद्यालयमा शौचालय निर्माण गरिएको हो । स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरेर झन्डै चार वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
पानीको व्यवस्था नगरी हचुवाका भरमा खुला दिसामुक्त अभियान चलाइँदा विद्यार्थीसँगै सर्वसाधारणले समस्या भोग्नुपरेको छ । शौचालय प्रयोग नहुँदा सरसफाइका क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ । महाभारत पहाडमा रहेका अधिकांश विद्यालयमा शौचालय पनि छन् । तर त्यस क्षेत्रमा पानी अभावमा अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन छन् । वर्षौंदेखि विद्यालयमा पानीको समस्या उस्तै छ । बर्रेको छिन्दरङखोलामा रहेको एक मात्र उच्चमाविमा पानी अभावमा तिर्खा मेटन समेत समस्या छ ।
‘शौचालय जान त कुरै छोडाैं,’ स्थानीय नरेन्द्र कार्कीले भने, ‘विद्यायलमा पिउने पानीकै समस्या, शौचालय प्रयोगका लागि त पानी व्यवस्थै भएको छैन ।’ विद्यालयका सहयोगीलाई पानी बोकेर शिक्षक–विद्यार्थीलाई खुवाउनकै लागि राखिएको उनले बताए ।
विद्यालयका सहयोगी वर्षौंदेखि पानी बोकिरहेका छन् । उनले दैनिक ६ गाग्री पानी बोकेर विद्यालयका शिक्षक विद्यार्थीलाई खुवाइरहेका छ । विद्यालय नजिकै पानीको स्रोत नहुँदा एक घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ । पिउने पानीको व्यवस्था भए पनि शौच गर्न पानी नहुँदा शिक्षक विद्यार्थी जंगल जानुपर्ने बाध्यता छ । झन्डै डेढ दशकदेखि विद्यालयमा पानीको समस्या रहेको स्थानीयले वताए ।
‘शौचालय त बनाइए पनि पानी अभावमा प्रयोग गर्न समस्या छ,’ दुर्गम ताप्ली गाउँपालिकका शिक्षक रोहित मण्डलले भने, ‘पिउने पानी नहुँदा समस्या भोग्नु परेको अवस्थामा शौचालय प्रयोगका लागि पानी कसरी व्यवस्था गर्न सकिन्छ र ।’
पश्चिम उत्तरका दर्जनौं विद्यालयमा पनि शौचालय बनाइएको छ । बर्रे, सोरूङछबिसे, हर्देनी, लिम्पाटार, बराहा, जाते, नामेटारा, ओख्ले, साउने, पन्चावती, रिस्कु लगायतका विद्यालयमा झन्डै ५ वर्षयता शौचालय बनिसेका छन् । तर ती क्षेत्रमा पनि पानी नहुँदा प्रयोगबिहीन बनेको शिक्षकले बताएका छन् ।
कान्तिपुर दैनिकबाट ।


1311 पटक हेरिएको 

