काठमाडौं : सत प्रतिशत घरमा चर्पी निर्माण भएको बर्ष दिन बित्दा पनि सोलुखुम्बुु, भोजपुर, दोलखा र रुपन्देहीलाई अझै खुला दिसामुक्त घोषणा गर्न सकेको छैन । खानेपानी तथा ढल निकास विभागमा ती जिल्लाले सबै घरमा शौचालय बनिसकेको प्रतिवेदन दिएको बर्षदिन भन्दा बढी भइसक्दा समेत खुला दिसामुक्त घोषणा गर्न नसकेको हो ।
खानेपानी तथा ढल निकास विभागले गत बर्ष भदौमा भोजपुर, संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरलाई खुला दिसामुक्त घोषणा गर्न परिपत्र गरेको थियो । विभागले सोलखुम्बु, सुनसरी, सिन्धुली, रुपन्देही, बाँके र कैलालीमा समेत जनचेतना, समन्वय लगायत स्थानीयस्तर बाट गर्न सकिने क्रियाकलापहरु अवलम्बन गरी २०७४ कार्तिकमै खुला दिसामुक्त घोषणा गर्न भनेको थियो ।
संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला, कञ्चनपुर, सुनसरी, सिन्धुली, रुपन्देही, बाँके र कैलालीले विभागको परिपत्र बमोजिम खुला दिसामुक्त घोषणा गरेपनि सोलुखुम्बु, भोजपुर, रुपन्देही र दोलखाले अझै खुला दिसामुक्त घोषणा गर्न सकेको छैन ।
साउनको अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका जिल्ला समन्वय समिति र स्थानीय तहलाई खुला दिसामुक्त अभियानमा सहकार्य गर्न निर्देशन दिइसकेको छ । खुला दिसामुक्त घोषणा हुुना बाँकी सबै जिल्लालाई पत्र पठाई सन् २०१८ भित्र देशलाई खुलादिसामुक्त बनाउने अभियानमा स्थानीय तहलाई समेत अविलम्ब खुला दिसामुक्त घोषणा गराउन प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
नेपालले अन्तर्राष्ट्रिय मन्चहरुमा सन् २०१८ भित्रै नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर अझै पनि १७ जिल्ला खुलादिसामुक्त घोषणा हुनै बाँकी छ ।


1719 पटक हेरिएको 

