इटहरी : फूलमाया तामाङको नाममा फूल जोडिए पनि बाल्यकालबाटै जीवन भने काँडाजस्तै भयो । सानैमा उनका आमाबुवा बिते । उनी भारतको आसाममा अर्काको घरमा काम गर्दै हुर्किन् । अक्षर चिन्दिनन्, न त आफ्नो जन्म मिति थाहा छ । भन्छिन्, ‘जन्म दिने आमा मरिन् । कसरी जन्म मिति थाहा पाउनु?’
आफ्नो जन्म मिति आफूलाई थाहा नभए पनि गत साल आएको नागरिकताको टोलीले उनको उमेर ५० वर्ष बनाइदिएको छ । कारण देखाउँदै उनी भन्छिन्, ‘बुढा ६० को भएकाले मलाई ५० वर्ष बनाइदिए ।’
बच्चाबाटै अभिभावक नभएकी फूलमायाको उभिने आफ्नै जमिन थिएन । त्यही भएर मोरङको बेलबारी-५ को लोहन्द्रा पुल नजिक खोलाको बगरमा बसिन् । फूलमाया र उनका श्रीमान् प्रेमबहादुरले बालुवा चालेर छोराछोरी दुःखमा हुर्काए ।
चार वर्षअघि फूलमायाले जेठी छोरीको बिहे पनि दुःखैले गरिन् । उनी भन्छिन्, ‘जेठी छोरी सावित्रीको बिहे त खोला किनारबाटै गरियो ।’
‘अब चर्पी छ, कोठा छन् ज्वाईं दशैंमा आउँछन्‘
खोला किनारबाटै छोरी अन्माएर पठाएपछि छोरीज्वाईं घरमा पाहुनाको रूपमा आएकै छैनन् । आउँदा समस्या हुने भएकाले नै नआएको हुनसक्ने फूलमाया बताउँछिन् । ‘खोला किनारको झुप्रोमा दुई कोठा मात्रै छन्,’ तामाङ भन्छिन्, ‘दिशापिसाब बस्ने चर्पी नभएर बिहानै खोलातिर जानुपर्छ ।’
गत वर्षको बाढीमा लाहन्द्रा खोलाले घर बिगारिदियो । त्यसपछि उनीहरूका लागि देश-विदेशबाट सहयोग जुट्यो । बेलायती गोर्खा सैनिकहरूको संस्था गोर्खा पिस फाउन्डेसनले उनीहरूलाई नयाँ घर बनाइदियो ।
अब उनीहरूसँग तीन कोठे पक्की घर, कल र चर्पी सबै छन् । नयाँ व्यवस्थित घरमा काठमाडौंमा काम गर्ने छोरीज्वाईं चाँडै आउनेमा तामाङ ढुक्क छिन् । ‘अब यो दशैंमा छोरीज्वाईं आउँछन् होला,’ तामाङ भन्छिन्, ‘अब चर्पी छ, कोठा छन् ज्वाईंलाई दशैंमा आउन सजिलो छ ।’
बेलबारी-५ कसेनी बस्तीकी तामाङ नयाँ घर हुनुमा थप खुशी हुने अरू कारण पनि छन् । घरको लाजपुर्जा अब उनीहरूसँगै छ । नयाँ पक्की घर खोला किनारमा नभएर निक्कै पर छ । जसले खोला अलिक धमिलो हुनासाथ बाढी बस्छ कि भन्दै जाग्राम बस्ने दुःख छैन । अब पोहोरजस्तै बाढीको समयमा छिमेकी कमला गिरीकोमा शरण माग्नु पर्दैन, उनको परिवारलाई ।
आफू मात्रै होइन, कक्षा-७ मा पढ्ने छोरी सरिता र कक्षा-१० मा पढ्ने छोरा सञ्जीवलाई पनि नयाँ घर बनेपछि सहज भएको छ । पढ्ने ठाउँ फराकिलो भएको छ ।
साभार nepalsamaya बाट ।


1127 पटक हेरिएको 

