महोत्तरी : भारतीय सीमासँग जोडिएको जलेश्वर नगरपालिका–१२ नैनहीमा साता दिनदेखि फैलिएको झाडापखालाबाट एक बालिकाको ज्यान गएको छ । झाडापखालाबाट मावली घर आएकी ४ वर्षीया खुस्बु खातुनको ज्यान गएको हो । गम्भीर अवस्थाका एक गर्भवती र १० वर्षमुनिका ३ सहित ४ जनाको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । बस्तीमा सयौं विरामी छन् ।
जिल्ला स्वास्थ प्रमुख डा। राजिव झाले माहामारी फैलिएको २ दिनपछि मात्र असपतालमा जानकारी आएको बताउनुभयो । ‘जानकारी लगतै डा. आलोक झाको अगुवाइमा खटिएको औषधी सहित मेडिकल टोलीले स्थानीय मदरसामा निशुल्क स्वास्थ्य शिविर खडा गरी उपचार गर्न थालेपछि झाडापखाला अन्य मानिसमा फैलिन रोकिएको छ ।
अहिलेसम्म १ सय २५ जनाको उपचार भइसकेको छ । हिजो ३२ जना झाडापखाला प्रभावित शिविरमा भर्ना भएका छन् । जसमध्ये १० वर्षमुनिका ५ जनालाई सलाइन पानी चढिरहेको र गम्भीर अवस्थाका एक जनालाई जिल्ला अस्पताल पठाइएको नैनहीस्थित स्वास्थ शिविरबाट जनस्वास्थ निरीक्षक सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
वडाध्यक्ष रामतपेश्वर ठाकुरले घना बस्ती भएकोले रोग छिटो फैलिएको र रोकथाम असहज बनेको जानकारी दिनुभयो । धान खेतको प्रदुषित भुरा माछा खानले महामारी फैलिएको वडाध्यक्ष ठाकुरले बताउनुभयो । सुरूमा गाउँका सुलेमान, दाउद लगायत ५ जनाको घरमा देखा परेको झाडापखाला बस्तीभरि फैलिएको हो ।
मेडिकल टोलीले उपचारको साथै प्रदुषित खान नखान, बस्ती सफा राख्न, स्वच्छ पानी प्रयोग गर्न, फोहोर व्यवस्थापन लगायत जानकारी दिन थालेपछि रोग नियन्त्रणमा आएको डा. झाले जानकारी दिनुभयो ।


717 पटक हेरिएको 

