सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनु भएको छ ।
प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सरसफाइ मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो ।
‘अब सरकारले सरसफाइ कार्यक्रमलाई यस प्रदेशका १० वटै जिल्लामा अभियानात्मक तरिकाले अघि बढाउँछ, यसमा सबै पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्दछ’ उहाँले भन्नुभयो ।
पछिल्लो समयमा प्लाष्टिकजन्य चीजले वातावरणीय प्रदूषणको प्रभाव बढेको भन्दै उहाँले हरेक गाउँ टोललाई त्यसको उचित व्यवस्थापन गर्न आग्रह गर्नुभयो । राजधानी सुर्खेत मात्र नभइ सबै जिल्लालाई सफा, सुन्दर र स्वच्छ बनाउने गतिविधिमा निरन्तरता दिइने उहाँको भनाइ थियो । स्वच्छ वातावरण, शुद्ध खानेपानी, विकसित तथा शान्त समाज निर्माणमा सरकार आफ्नो यात्रामा अनवरत लागि रहेको उहाँले बताउनुभयो ।
हरिडिल आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले सरसफाइ सभ्य समाजको परिचय हो, भन्नुभयो । सरकारले थालेको अभियान हरेक गाउँ, बस्ती, टोल र विद्यालयस्तरमा पु¥याइनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालयस्तरबाट बालबालिका मार्फत अभिभावकसम्म सरसफाइको महत्व र प्रभावबारे जानकारी दिलाइने हमालको भनाइ थियो । सरसफाइ कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय नागरिक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।