काठमाडौ : पानीको क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्जन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान गर्दै Water Knowledge Hub सम्बन्धी एक दिने गोष्ठी सकिएको छ । गोष्ठीमा पानीको क्षेत्रको तथ्यांक तथा मुद्दाको अवस्थाबारे प्रस्तुतीकरण र विभिन्न प्राविधिक तथा सामूहिक सत्रमा छलफल भएको थियो ।
गोष्ठीमा सोफेनका अध्यक्ष रामदीप शाहले Water Knoledge Hub को अवधारणाको बारेमा बताउनुभएको थियो । यस्तै Global Institute of Water, Environment and Health, Switzerland का निदाल सलिमले नेपालमा Water Knoledge Hub सिद्धान्तका विषयमा बताउनुभएको थियो ।
के हो Water Knowledge Hub ?
Water Knowledge Hub भनेको पानी (वास, सिँचाई, जलविद्युत र अरु सम्बन्धित क्षेत्रहरु) सँग सम्बन्धित सूचना र ज्ञान, विभिन्न सरोकारवालाहरु सँगको सहकार्यले संकलन र आदानप्रदान गर्ने एकद्धार अनलाइन प्लेटफर्म हो ।
विश्व बैंकका अनुसार Water Knowledge Hub भनेको तीब्र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरुसँग विकासका अनुभवहरु बटुल्ने, बाँड्ने र साट्ने संस्था वा सञ्जाल हो ।
Water Knowledge Hub किन ?
सूचनाको सजिलो पहुँचका लागि
विभिन्न स्रोतबाट प्राप्त सूचनाहरु दाँज्नका लागि
सूचना र तथ्याङ्कहरु एक आपसमा आदानप्रदान गर्नका लागि
पानीको क्षेत्रको सञ्जालको विकासका लागि
सूचना जोड्न, जान्न र ज्ञानको अभिबृद्धिका लागि
सामूहिक सिकाइका लागि
SDG तथा राष्ट्रिय लक्ष्यहरु हासिल गर्न
सरकार, गैरसरकारी संस्था, विशेषज्ञ, विकास साझेदार, दातृ निकाय, अनुसन्धानकर्ताका लागि एकै ठाउँमा पर्याप्त सूचना प्रदान गर्न ।
गोष्ठीमा कसले के भने ?
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका कूल सचिव डा सुबोध शर्माले संयुक्त राष्ट्र«सङ्घले निर्धारण गरेका दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेकाले सबै जनतालाई सुरक्षित, सफा र स्वच्छ खानेपानी उपलब्ध गराइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री गणेश साह, ग्लोबल इन्स्टिच्युट अफ वाटर, इन्भाइरोमेन्ट एण्ड हेल्थका अध्यक्ष डा निदाल सलिम, नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष डा हरेराम श्रेष्ठ, सोफेनका अध्यक्ष रामदीप साहले खानेपानीबाहेक पनि पानीको बहुउपयोगिता रहेको र नेपालको प्राकृतिक सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकाले यसको संरक्षण र उपयोगका लागि पनि यस्तो केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो ।
योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द देवकोटा, जलवायु तथा मौसम विभागका महानिर्देशक डा ऋषिराम शर्मा, पूर्वऊर्जा सचिव सुमनप्रसाद शर्मा, खानेपानी मन्त्रालयका सहसचिव अजयभद्र खनाल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्रले केन्द्रको आवश्यकताका बारेमा धारणा राख्नुभएको थियो ।
पानीको सूचना पाउन मात्र होइन, खानेपानी, सिँचाइ, जलविद्युत्, जल यातायात आदिका क्षेत्रमा योजना तर्जुमा, कार्यान्वयन गर्न, पानीलाई अधिक हुने क्षेत्रबाट न्यून हुने क्षेत्रमा लगेर मानवीय आवश्यकता पूरा गर्नुका साथै व्यावसायिक लाभ लिन पनि सजिलो बनाउन केन्द्रको आवश्यकता रहेकामा सहभागीले जोड दिनुभएको थियो ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका वरिष्ठ डिभिजनल इञ्जिनियर महेश्वर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै आयोगले नै नेपालमा पानीका सम्पूर्ण तथ्याङ्क तयार पारी काम गरिरहेको बताउनुभयो । आयोगले नै केन्द्रको नेतृत्व गर्नसक्ने उहाँको भनाइ थियो ।
Water Knowledge Hub सम्बन्धी एक दिने गोष्ठी Society of Public Health Engineers, Nepal (SOPHEN) र Global Institute of Water, Environment and Health, Switzerland (GIWEH) ले संयुक्त रुपमा आयोजना गरेको हो ।


1364 पटक हेरिएको 

