स्वदेश फर्किदै गर्दा खानेपानीमन्त्री मगरले के भनिन् ?

काठमाडौ : खानेपानीमन्त्री बीना मगर महात्मागान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्कनु भयो । चार दिने सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा उहाँ निक्कै उत्साहित हुनुहुन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले सम्मेलनमा सहभागी सबै राष्ट्रले सरसफाइको क्षेत्रमा साझा सङ्कल्प बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरसफाइ क्षेत्र सबैका लागि साझा एजेण्डा भएकाले अहिले सबै राष्ट्रले सरसफाइ तथा ढलका बारेमा चिन्ता र चासो देखाएको उल्लेख गर्नुभयो । नेपालले सरसफाइको क्षेत्रमा अरूको भन्दा राम्रै उपलब्धि हासिल गरेको दाबी गर्दै मन्त्री मगरले भन्नुभयो, “ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिइरहेका छौँ ।”

मन्त्री मगरले राज्यका सबै निकायले सरसफाइ र ढलको क्षेत्रमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको बताउनुभयो । महात्मागान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन उहाँ गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा नेपालका तर्फबाट उहाँले भाग लिनुभएको थियो ।

सम्मेलनमा खानेपानीमन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनीलकुमार दास पनि सहभागी हुनुहुन्थ्यो । सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी भएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार