खुलादिसामुक्त पलाँतामा टोइलेटको यस्तो हालत

  मनिराज पाण्डे  1285 पटक हेरिएको

कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको वडा नं. ७ र ८ का अधिकांश टोइलेट कच्ची छन् । कच्ची टोइलेटको ढोका समेत कतै सारी र कतै फरियाको ढाक्ने गरिएको छ । खुला दिसामुक्त घोषणा भएको सात बर्ष भईसक्दा पनि शौचालय सुधार नभएको हो । पालाँता गाउँपालिकालाई २०६८ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो ।

 

घोषणा–घोषणामै सिमित भयो, घोषणा पछि सरसफाइका कुनै क्रियाकलाप गरिएन पलाँता ८ का वडा अध्यक्ष पटक बहादुर बमले भन्नुुभयो । विकास निर्माणका अन्य क्रियाकलापहरुमा गाउँपालिकाले काम गरिरहेको भएपनि खानेपानी, सरसफाइ र स्थानीयको क्षमता विकासमा भने खासै चासो दिएका छैन ।

सानै देखि लागेको बानी हटाउन नसकेर स्थानीयले शौचालय मर्मत सुधार तथा प्रयोग गर्न नसकेको पलाँता ७ का वडा अध्यक्ष बर्जबहादुर बमले बताउनुुभयो । पलाँता ७ र ८ को तुलनामा वडा नं. ९ मा सरसफाइको अवस्थामा धेरै सुधार आएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनुुभयो ।

 

बमका अनुसार पलाँता ९ मा किर्डाक नेपालले खानेपानी र सरसफाइका क्षेत्रमा काम गरिरहेको छ । खानेपानीको चरम अभाव रहेको पलाँतामा शौचालय प्रयोगको अवस्था सन्तोषजनक नरहेको किर्डाक नेपालका परियोजना अधिकृत धनबहादुर केसीले बताउनुुभयो ।

वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिको तथ्याङ्क अनुसार वडा नं ७ मा ६० प्रतिशत र वडा नं. ८ मा ५३ प्रतिशत घरमा मात्र शौचालय बनेका छन् । तर प्रयोगको अवस्था भने झनै न्यून छ । शौचालय छ, ढोका छैन । शौचालय छ, पानी छैन । शौचालय छ, सरसफाइ छैन । यस्तै यस्तै अवस्था छ वडा नं. ७ र ८ का घरधुरीमा ।

विद्यालयको सरसफाइ अझ नाजुक

यहाँका बिद्यालयहरुमा शौचालय छन् तर प्रयोगमा छैनन् । सरसफाइको अवस्था जोखिमपुर्ण र डरलाग्दो छ । कतिपय बिद्यालयहरुमा शौचालयको एक कोठा मात्र प्रयोगमा छ । शिक्षकहरुले आफ्नो लागि मात्र शौचालय प्रयोग गर्ने गरेको बाल क्लवका सदस्य मनिराज रोकाले बताउनुुभयो ।

त्यस्तै दुधेसिल्ला माध्यामिक विद्यालय, माडुगडा आधारभूत बिद्यालय, कलशा आधारभूत बिद्यालय, जनजागरण आधारभूत विद्यालय र उज्वल आधारभूत बिद्यालयमा शिक्षकका लागि शौचालय छ तर बिद्यार्थीका लागि शौचालय छैन । १४ सय ५० भन्दा बढी बिद्यार्थी खुल्ला ठाउँमा शौच गर्छन् । यहाँको महादेव बालविकास केन्द्रमा ७६ जना बिद्यार्थी छन् तर शौचालय छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार