कचनकवल (झापा) : नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो ।

कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय तह पनि हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पीको पहुँच रहेको थियो । अभियानको क्रममा बाँकी ५ हजार ६ सय ६३ घरधुरीमा चर्पीको निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।
भौगोलिक, सरसफाइ कभरेज र बसोबासका दृष्टिले पनि खुल्ला दिसामुक्त अभियानमा सबैभन्दा कठिन मानिएको कचनकवल खुल्ला दिसामुक्त घोषणा गर्ने झापाको बाह्रौं स्थानीय तह हो ।
दीपावलीमा कचनकवलमा रहेका सरकारी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय, सरसफाइ अभियानकर्ताहरु, र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
यसअघि मंगलबार विहान र दिउँसो जागरणमूलक -याली र गौरवयात्रा गर्नुका साथै टोल सरसफाइ गरिएको थियो ।
कचनकवल गाउँपालिकाको वडाको रुपमा रहेका साविकका बनियानी, बालुवाडी, केचना र घेराबारी यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । साविक पथरिया र पाठामारीसहित गाउँपालिका नै बुधबार खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

कचनकवल गाउँपालिकामा विराट सामुदायिक अध्ययन केन्द्र र सहारा नेपालले खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरेका थिए ।



1454 पटक हेरिएको 

