काठमाडौ : तपाई पानीपुरी वा चटपटे खानुहुन्छ ? या त ठेलामा बेच्ने त्यस्तै प्रकृतिका अन्य खानेकुरा ? ती खानेकुरा खानुभन्दा अघि उनीहरुले प्रयोग गर्ने पानीको गुणस्तरको बारेमा कहिल्यै सोच्नुभएको छ ? तपाईले अहिलेसम्म ध्यान नपुर्याएको भएपनि अब भने ध्यान पुर्याउनु हुनेछ । काठमाडौ र ललितपुरमा गरेको एक अध्ययनले ठेलामा खानेकुरा बेच्नेहरुले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको पुष्टि भएको छ ।

युनिसेफको सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले गरेको अध्ययनले बर्षायाममा ४७ प्रतिशत धाराको पानीमा बाहेक जार, ट्याङकर तथा ढुङ्गे धाराको पानीमा सत प्रतिशत कोलिफर्म भएको तथ्य भेटिएको हो ।
एन्फोले काठमाडौ र ललितपुरमा ठेलामा खानेकुरा बेच्नेहरुले ग्राहकलाई दिने पानीको नमुना संकलन गरेको थियो । सन २०१७ मा गरिएको अध्ययनमा बर्षायाममा १८७ र बर्षायाम पछि १८४ पानीको नमुना संकलन गरी विभिन्न विधि अपनाएर पानीको परीक्षण गरेको थियो ।
अध्ययनले बर्षाको समयमा भन्दा बर्षपछि कम कोलिफर्म भएको देखाएको छ ।

काठमाडौ र ललितपुरमा ठेलागाडामा खानेकुरा बेच्नेहरुले ग्राहकलाई दिने पानीको गुणस्तर सम्बन्धी अध्ययन प्रतिवेदनले बर्षापछिको समयमा १५ प्रतिशत जारको पानी, २४ प्रतिशत ट्याङकरको पानी र ६४ प्रतिशत धाराको पानीमा कोलिफर्म भेटिएको जनाएको छ ।
एन्फोले बर्षाको समयमा गरिएको अध्ययनका क्रममा खानेपानी शुद्धिकरणका विधिहरुका बारेमा पनि बताएको थियो । यससम्बन्धी जानकारीमूलक पोष्टर तथा पम्प्लेटहरु समेत वितरण गरेपछि दोस्रो चरणको नमुना लिएको थियो ।
अध्ययनका क्रममा भेटिएका अन्य तथ्य
ठेलामा खानेकुरा बेच्ने व्यापारीहरुले मुख्यत: जारको पानी प्रयोग गर्ने गरिएको ।
ललितपुरमा भने धाराको पानी प्रयोग गर्ने गरिएको ।
बर्षाको समयमा गरिएको सर्वेक्षणमा ५ प्रतिशत व्यापारीले मात्र खानेपानी प्रशोधनको विधि अपनाएको पाएको ।
१८७ मध्ये ६९ प्रतिशत व्यापारीले आफूले प्रयोग गर्ने पानी सुरक्षित छ भन्ने जवाफ दिएका थिए ।
बर्षाको समयमा ९५ प्रतिशत व्यापारीले पानी प्रशोधनको विधि नअपनाएको ।
बर्षायाम पछि गरेको सर्वेक्षणमा ९३ प्रतिशत व्यापारीले आफूले दिने पानी सुरक्षित रहेको बताएको ।
८० प्रतिशतले कुनै न कुनै पानी प्रशोधन विधि अपनाएको पाइएको ।

अध्ययन विधि
पानीको नमुना संकलनका लागि KOBO Tool Box प्रयोग गरिएको ।
Vial Test Kit को प्रयोग गरी पानीको गुणस्तर मापन गरिएको ।
बर्षापछिको सर्वेक्षण गर्नुअघि बर्षाको समयमा गरिएको अध्ययनको नतिजा देखाएर जानकारीमूलक सामग्रीहरु वितरण गरिएको ।
पानीको सुरक्षित उपयोग र प्रशोधनका तरिकाहरुको ज्ञान दिएपछि बर्षापछिको अध्ययन सर्वेक्षण सुरु गरिएको थियो ।


2521 पटक हेरिएको 


