आज विश्व हात धुने दिवस, नेपालमा पनि मनाईंदै

काठमाडौ : आज विश्व हात धुने दिवस, सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित नेपालमा पनि मनाईंदैछ । सफा हातले रोगव्याधी लगायत अन्य संक्रमण र किटाणुहरुबाट जोगाउन मद्दत गर्दछ ।

विश्वभरि नै हात सफा नभएका कारणले बिभिन्न रोग र संक्रमणका कारण लाखौंले ज्यान गुमाईरहेका छन् । अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु हुने गरेको र ती झाडापखालाकै कारण हुने गरेको छ । तर हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा हुने मृत्युदरलाई कम गराउन सकिन्छ ।

खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मिचीमिची हात धुन जरुरी छ ।

विश्वमा हरेक ३ मध्ये एकजना नवजात शिशु झाडापखालाको संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारित धेरै रहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफा अनि स्वच्छताको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएको हो ।

विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी छ ।

शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।

हात धुने तरिका

सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुबै हत्केलालाई एकआपसमा दलेर औंलाका कापसम्म साबुन पूर्याउने
यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने

यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।

धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा तौलिया वा कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् ।

साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता हुन्छ नि होइन ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार