दशैंको शुभकामना कार्डमा पानी शुद्धिकरणको घरेलु विधि

काठमाडौ : दशैंको शुभकामना कार्डमा के कुरा उल्लेख गरिएको हुँदो हो ? सुख, शान्ति, समृद्धि र दिर्घायुको कामना होइन ? सामान्यतयः तपाई हामीले यही सोचेका हुन्छौं र कसैले दिएछ भने पनि दशैंको शुभकामना कार्डमा यही कुराहरु उल्लेख गरिएको पाउँछौं ।

तर वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यसबर्षको दशैंको उपलक्ष्यमा जारी गरिएको शुभकामना कार्डमा ती सुख, शान्ति र समृद्धिको कामना त गरिएको छ नै यसका अतिरिक्त पानी शुद्धिकरण गर्ने घरेलु विधि समेत समावेश गरिएको छ ।

शुभकामना सँगै पानी शुद्धिकरणको विधिका बारेमा पनि जानकारी दिन पायौं भने यसले फाइदा नै गर्छ भन्ने सोचेर यो उपाय निकालेका हौं” – कार्यकारी निर्देशक डंगोल

एन्फोले ‘मीठो खानाका साथै याद राखौं सुरक्षित पानी, सधैं अपनाऔं पानी शुद्धिकरण गर्ने बानी’ भन्ने उदघोषका साथ पानी शुद्धिकरण गर्ने विधिको सचित्र व्याख्या गरेको छ ।

 

 

‘दुषित खानेपानीका कारण विभिन्न पानीजन्य रोगहरु लाग्न सक्ने हुँदा सधैं सुरक्षित खानेपानी मात्र पिउनु पर्दछ । यसका लागि पानी शुद्धिकरणको कुनै एक विधि अपनाई पनि शुद्धिकरण गर्न सकिन्छ ।’ एन्फोको आग्रह छ ।

शुभकामना कार्डको बाहिर पट्टिको भागमा पानी शुद्धिकरणको घरेलु विधिहरुको बारेमा व्याख्या गरिएको छ ।

१. उमाल्ने

जीवाणु नष्ट गर्न पानीलाई कम्तीमा एक भुल्को उमाल्नुपर्छ ।

धमिलो पानीलाई थिग्राएर छानेपछि मात्र पानी उमाल्नुपर्छ ।

उमालिसकेको पानीलाई पुनः प्रदुषित हुन नदिन छोपिराख्नुपर्छ ।

२. क्लोरिनेसन

एक लिटर पानीमा तीन थोपा पियूषको झोल राख्नुपर्छ ।

यस्तैगरी, पियूष प्लस प्रयोग गर्ने हो भने १० लिटर पानीमा विर्कोको तल्लो धर्को र १५ लिटर पानीमा विर्कोको माथिल्लो धर्कोसम्म पियूष प्लस राख्नुपर्छ ।

क्लोरिन हालेको आधा घण्टापछि मात्र पानी प्रयोग गर्नुपर्छ ।

३. फिल्टर

क्याण्डल फिल्टर : यस फिल्टरले केही मात्रामा किटाणु हटाउँछ ।

कोलाइडल सिल्भर फिल्टर : यस फिल्टरको क्याण्डलमा चाँदी लेपन गरिएको हुन्छ । जसले सुक्ष्म जीवाणुलाई नष्ट गर्छ ।

बायोस्याण्ड फिल्टर : यसले पानीमा भएका जीवाणु, धमिलोपना, आइरन र गन्घ हटाउँछ ।

कञ्चन आर्सेनिक फिल्टर : यसले पानीमा भएको धमिलोपना, सुक्ष्म जीवाणु, आइरनको साथै आर्सेनिक समेत हटाउँछ ।

४. सोडिस

यसको लागि सफा, पारदर्शी (बिना रंगको) प्लाष्टिकको पेट बोतलमा खानेपानी भरेर घाममा राख्नुपर्दछ ।

बोतलको मोटाई (ब्यास) १० सेन्टिमिटर भन्दा ठूलो हुनुहुँदैन

घाम लागेमा बोतललाई दिनभर राख्नुपर्छ ।

पानी परेको बेलामा यो विधि अपनाउन उपयुक्त हुँदैन ।

 

दशैंको शुभकामनाका साथै पानी शुद्धिकरण गर्ने विधि समेत शुभचिन्तकहरु सम्म पु-याउन यस्तो उपाय अपनाएको एन्फोका कार्यकारी निर्देशक बिपिन डंगोलले बताउनुभयो । ‘हामी हाम्रा सन्देशहरु धेरै मानिसहरुको कानसम्म पु-याउने उपाय खोजिरहेका हुन्छौं, दशैंको बेला प्रयोग गरिने प्रदुषित पानीले पनि धेरै मानिस प्रभावित हुन सक्छ, यस्तो बेला शुभकामना सँगै पानी शुद्धिकरणको विधिका बारेमा पनि जानकारी दिन पायौं भने यसले फाइदा नै गर्छ भन्ने सोचेर यो उपाय निकालेका हौं’ कार्यकारी निर्देशक डंगोलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार