काभ्रेपलाञ्चोक : काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनकी सरस्वती लामा बिहान दुध बेच्न जानुहुन्छ । दुध बेचेको पैसाले फर्किदा त्यही भाँडोमा पानी किनेर ल्याउनुहुन्छ । यो समस्या चण्डेनीमण्डनकी लामाको मात्र होइन, चण्डेनीमण्डनमा बसोबास गर्ने २५० परिवारको साझा समस्या हो ।
२०७२ बैशाख १२ गतेको भूकम्पले खानेपानीमा क्षति पु-याएपछि पानीको यत्तिसारो दुःख भएको हो । गाउँमा खानेपानी निर्माणाधीन अवस्थामा छ, तर यतिबेला पनि प्रतिलिटर २ रुपैयामा पानी किन्नुपर्ने बाध्यता छ ।
गाउँमा खानेपानीको चरम अभाव भएपछि फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन अवस्थामा छ । २ वर्ष अघि शुरु भएको खानेपानी आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कुमार तामाङ्गले बताउनुभयो ।
१ करोड ३० लाख अनुमानित लागतको यो आयोजनाका लागि अहिले करिव आधा रकम नपुग भएपछि झन समस्या भएको छ । उहाँका अनुसार आयोजनाका लागि अब ५० लाख रकम अभाव छ । यसका लागि स्थानियस्तरमा श्रमदान गर्ने र चन्दा उठाउने काम भइरहेको भएपनि त्यतिले मात्र यति ठूलो आयोजना सम्पन्न गर्न कठिन भएको उहाँले बताउनुभयो ।
आयोजनाबाट सो क्षेत्रका २५० परिवारका १५ सय जनसंख्यालाई सेवा पुग्ने र एक घर एक धारा निर्माणको लक्ष्य लिइने बताइएको थियो । आयोजना सम्पन्न भएपछि सबै उपभोक्ताहरुको आयस्तर बढ्ने र जिल्लाकै नमुना आयोजना बन्नेछ , तर सोचे भन्दा धेरै लगानी लाग्ने र त्यतिबेला बचन दिएका संस्थाहरुले सहयोग गरेपनि रकम नपुग भएपछि उपभोक्ता समितिलाई काम गर्न समस्या भएको बताइएको छ ।
यस्तो बन्नेछ खानेपानीको संरचना
योजना सम्पन्न गर्नका लागि गाउँ भन्दा २ किमी तल रहेको पानीको मुहानबाट विजुली र पम्पसेटको मद्दतले माथि तानेर ३ ठाउँमा अलग अलग ट्याङ्की निर्माण गरिसकिएको छ । ज्यामिरे, तीनधारा, धारापानी, सुलिकोट र चण्डेनीथुम्कामा पानी वितरण गरिनेछ ।
अहिले मुहानसम्म ट्रान्समिटर जडान गर्न र विजुली तार लैजान स्थानियबासीहरु विजुलीको पोल बोकेर लैजान बाध्य छन् । १५ वटा विजुली पोल र ५० केभिएको ट्रान्समिटर राखेपछि मात्र खानेपानी आयोजना संचालन गर्न सम्भव भएकाले स्थानियबासिन्दा पहिले यसतर्फ अग्रसर भएका हुन् ।

ट्यांकी निर्माण कार्य पनि भइरहेको छ । वडा र नगरकै सबैभन्दा ठूलो र नमुना हुने यस खानेपानी योजनाका लागि १० नम्बर वडाले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने वडाअध्यक्ष विष्णुमणि नेपालले बताउनुभयो ।


1207 पटक हेरिएको 

