विद्यालयबाटै स्यानिटरी प्याड दिइने

🔗
0
Shares

कञ्चनपुर : महिनावारी हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ ।

महिनावारी भएको बेला पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुने जस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो ।

नगरपालिकाभित्र सञ्चालित ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले एक लाख बजेट छुट्याएको र विद्यालयमा महिनावारी सचेतना सम्बन्धीका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

महिनावारी हुँदा पानी छुन नदिने, धार्मिक स्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने लगायत परम्परा अझै समाजमा विद्यमान छ । समाजमा रहेका यस्ता कुप्रथालाई हटाउनका लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम समेत सञ्चलन गरिरहेको छ ।

यसैगरी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा तीन हजार भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ ।

सुत्केरी पछि तीन पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई समेत प्रोत्साहन स्वरुप नगरपालिकाले तीन सय रुपैयाँका दरले रकम उपलब्ध गराउनाका साथै पाठेघर खसेका महिलाका लागि स्क्रीनिङ गर्नका लागि दुई वटा क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सो कार्यका लागि एक लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरिएको छ ।

गर्भवती तथा बालबालिका पोषण प्रर्वद्धन तालिमका लागि एक लाख र किशोरकिशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालिम आयोजना गर्न एक लाख ५० हजार रुपैयाँ छुट्याएको नगरपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार