कालिकोटका सात बस्ती छाउगोठमुक्त

धमाधम छाउगोठ त्याग्दै 

🔗
23
Shares

कालिकोट : कालिकोटको पलाता ९, थिर्पुकी ३५ वर्षीया रुगु विश्वकर्मा महिनावारी भएको २० बर्षपछि घर बस्न थाल्नुभएको छ । उहाँ गत फागुनदेखि छाउगोठ छाडेर घरमा बस्न थाल्नुभएको हो ।
पलाता गाउँपालिकाको अगुवाइमा दिगो खानेपानी तथा स्वच्छता कार्यक्रम सुरु भएपछि सुरक्षित महिनावारीबारे थाहा पाएका उहाँ जस्ता धेरै महिलाले अहिले छाउगोठ छाडिसकेका छन् । सरसफाइ कार्यक्रम शुरु भएपछि महिनावारी भएको समयमा घरैमा बसेमा देउता रिसाउँछन्, घरपरिवार र आफै बिरामी परिन्छ भन्ने सबै वाहियात भएको उहाँले बताउनुभयो ।
फागुनमा भएको गाउँमा भेलामा महिलाले स्वास्थ्य र सरसफाइका लागि गोठमा नबस्ने सामूहिक निर्णय गरेका थिए । अहिले गाउँका सबैजसो महिला घरकै कोठामा बस्न थालेका छन् ।
यसअघि उनीहरुले महिलाले महिनावारी भएपछि तीन दिन, पाँच दिन र सात दिन पुगेपछि नुुहाएर मात्र घरमा पस्न पाइन्थ्यो । तर अहिले घरपरिवारसँगै बसेर एउटै भान्सामा खाना खान्छन् । देउता पनि कसैलाई नलागेको उनीहरूको भनाइ छ ।
पलाता गाउँपालिकाले समाजमा भएका सबै खाले अन्धविश्वास, विकृति र विसंगति अन्त्य गर्ने घोषणा सहित पलाता ९ मा दिगो खानेपानी तथा सरसफाइ अभियान सुरु गरेको छ ।
पलाताका वडा नं. १ देखि ६ सम्मका महिला महिनावारीको बेला घरमा बस्ने गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

कालिकोटका सात बस्ती छाउगोठमुक्त

तीन नगर र ६ गाउँपालिका भएको कालिकोटको बरातुलाई पाँच वर्षअघि छाउगोठमुक्त घोषणा गरिएको थियो । त्यसलगत्तै छाउपडी प्रथा विरुद्धको अभियान चलेको हो । खाडाचक्र ११, स्थित बरातु, जिम्जेडी वडा नं. ५ को राताडाव, पिली तलसेरा, पाखा, नानीकोटको कोटिला, फोइमहादेवलाई छाउगोठमुक्त गराइएको छ ।
त्यस्तै पाखाको दशाला र सेरावाडालाई छाउगोठमुक्त बस्ती घोषणा गरिएको छ । खाडाचक्र ५, छाउमुक्त गराइएपछि किशोरी र महिलाले महिनावारीको बेला गोठमा नबस्ने प्रतिबद्धता गरेका छन् ।
यसअघि जिल्लाभर ७५ प्रतिशत महिला महिनावारी भएका बेला छाउगोठमा बस्ने गरेको खाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले बताउनुभयो । पहिलो पटक महिनावारी हुँदा किशोरीले आमाबुवालाई मुख देखाउनु हुँदैन भन्ने अन्धविश्वासले महिनावारीको पाँच दिनसम्म घरबाहिर लुकेर बस्ने चलन अहिले पनि व्याप्त छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार