काठमाडौं : लामो समयसम्म पकाएर राखेको मासु र अन्य खानेकुरा खाएर अस्पताल आउने बिरामीको संख्या बढेका छन् । दशैँको बेलामा अत्यधिक चिल्लो र बासी खानेकुरा खाएर पेट दुख्ने, तथा झाडापखला लागेर अस्पतालमा आउने बिरामीको संख्या बढेको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा मात्र दैनिक २० जना भन्दा बढी फुडप्वाइजन (विषाक्त र बासी खाना खाएर) भएका बिरामी आउने गरेको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताउनुभयो । विशेष गरी दसैँको बेलामा बनाइएका मासुका परिकारहरु दसैंपछि पनि धेरे समयसम्म राखेर खाने भएकाले अझै अस्पतालमा आउने बिरामीको संख्या बढ्न सक्ने उहाँको अनुमान छ ।
लामो समयसम्म पकाएर राखिएका खानेकुरा खाँदा राम्रोसँग पकाएर खानुपर्ने र त्यस्ता खाना राख्दा तापक्रम मिलाएर राख्न्नुपर्ने, मासुका परिकारहरु अझै छन् भने फ्रिजमा राम्रोसँग राखेर मात्र खानुपर्ने उहाँको सुझाव छ ।
‘तपाईंको घरमा अझै पनि दशैँको लागि काटेका मासुहरु छन् भने त्यसलाई राम्रोसँग पकाएर खाने गर्नुहोस्, बाँकी रहेका मासु अब राख्ने नै होइन, तत्काल राम्रोसँग पकाएर खाईहाल्नुस’ उहाँले भन्नुभयो ।
घरपरिवार तथा आफन्तको भेटमा मीठामीठा मासुका परिकारको खाना खाने भएकाले दशैँपछि केही समयसम्म आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।


1004 पटक हेरिएको 

