काठमाडौ : सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शिलबन्दी गरेको छ । अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गर्ने कम्पनीहरु स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शिलबन्दी गरिएको हो ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरित संचालनमा आएको कम्पनीमा पानी उत्पादनमा रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधि सम्मत ढंगले सञ्चालनमा नरहेका उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न सचेत गराएको छ । सचिव जिसीले उद्योगमा दर्ता समेत नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पानी उत्पादन गर्न सचेत गराइएको स्पष्ट पार्नुभयो ।
जिसीले तोकिएको मापदण्ड पूरा नगरी पानी उत्पादन गर्ने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आफै मिनरल वाटर कम्पनी अनुगमनमा निस्केका उहाँले मानव स्वास्थ्य माथि खेलवाड हुने गरी खाद्य बस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।


1110 पटक हेरिएको 

