भक्तपुरमा पानीको गुणस्तर र शुद्धिकरणका विषयमा अभिमुखीकरण

भक्तपुर : युवा कृयाकलाप समाज (सोया) ले सूर्यविनायक र चाँगुनारायण नगरपालिका भित्र सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई पानीको गुणस्तर, यसले उपभोक्तामा पार्ने असर र शुद्धिकरणका उपायहरु विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

यूनिसेफ नेपालको सहयोगमा सञ्चालित पानीजन्य रोगको रोकथाम र पूर्वतयारी एवं खानेपानीका स्रोतको स्वच्छता सम्बन्धी परियोजना अन्तर्गत सोमबार पूर्व उद्योग मन्त्री एवं सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा अभिमुखीकरण आयोजना गरेको हो ।

कार्यक्रमका सहभागीले मानव स्वास्थ्यमा स्वच्छ पानीको आवश्यकता एवं उपभोक्ता समिति मार्फत वितरित पानीको स्वच्छता कायम गर्न उपभोक्ता समिति लगायत उपभोक्ता स्वयं पनि सजक रहनुपर्ने र नियमित रुपमा पानीको गुणस्तर मापनका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको थियो ।

भक्तपुर जिल्लालाई खानेपानी तथा सरसफाइको क्षेत्रमा एउटा नमूना जिल्ला बनाउने एवं भक्तपुर जिल्लामा विद्यमान समस्याहरुलाई समाधान गर्दै जानुपर्ने सांसद महेश बस्नेतले बताउनुभयो ।

कार्यक्रममा सोयाका कार्यकारी निर्देशक पहलमान श्रेष्ठले अतिथि एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही कार्यक्रममा पानीको गुणस्तर विज्ञ एवं केमिस्ट के.बी. शाहीले खानेपानीको गुणस्तर, यसका असरहरु र पानी शुद्धिकरणका उपायहरु सम्बन्धि विविधि विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

उहाँले परियोजना अन्तर्गत सूर्यविनायक र चाँगुनारायण नगरपालिका भित्रका ६० वटा स्रोतहरुबाट संकलित पानीको नमूना परिक्षणको नतिजाका विषयमा समेत छलफल गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रम सोयाका अध्यक्ष राध्येश्याम दुवालको सभापतित्वमा सम्पनन भएको हो । कार्यक्रममा जिल्ला खानेपानी तथा सरफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख शिवेन्द्र झा, गै.स.स. भक्तपुरका अध्यक्ष सोमशर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति पुष्कर बुढाथोकी, फेडवासन भक्तपुरका निमित्त अध्यक्ष मनकराम थापा र युनिसेफ नेपालका वास अफिसर लुना केशरी कंसाकार लगायत अतिथि हुनुहुन्थ्यो ।

युवा कृयाकलाप समाज (सोया) ले खानेपानी तथा सरसफाई क्षेत्रमा विगत २४ वर्षदेखि कार्य गर्दै आईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार