काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुगेपछि पनि पुरानै पाइपबाट वितरण गरिने भएको छ । नयाँ बिछ्याइएको पाइपलाइन सफा गर्न ६ महिनाजति समय लाग्ने भएकाले सुरुमा पुरानै पाइपबाट पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए ।
राणाकालमै बिछ्याइएको त्यस्ता पुराना पाइपका कारण उपभोक्ताको धारामा हिलो, लेदो र ढल मिसिएर पिउन अयोग्य पानी पुग्ने गरेको छ ।
निर्देशनालयले काठमाडौं उपत्यकाभरि मेलम्चीको पानी वितरण गर्न नयाँ पाइपलाइन बिछ्याएको छ । निर्देशनालयले हाल बागमतीको पानी शुद्धीकरण गरी मुख्य पाइपलाइन सफा गर्दै आएको छ । पछिल्लो समय बागमतीमा पनि पानीको बहाव कम भएकाले उपभोक्ताको घर–घरमा पुग्ने पाइपलाइन सफा गर्न सम्भव नरहेको ढकालले बताए ।
‘सुरुको ५–६ महिना त पुरानै पाइपलाइनबाट मेलम्चीको पानी वितरण गर्छौं,’ उनले भने, ‘उपभोक्ताको घर–घरमा पुग्ने पाइपलाइन सफा गरेपछि मात्रै नया“ पाइपलाइनबाट पानी वितरण गर्छौं ।’ मेलम्चीको पानीले सबै पाइप पखालिसकेपछि पनि पाइपलाई डिस्इन्फेक्सन गरिने उनले जानकारी दिए । मेलम्चीको पानी आगामी माग फागुन महिनामा सुन्दरीजल आइपुग्ने अनुमान मेलम्ची खानेपानी आयोजनाको छ ।
पुराना पाइप नझिकिने
खानेपानी वितरणका लागि उपत्यकाका सडकभरि बिछ्याइएका पाइपलाइन कुनै पनि ननिकालिने निर्देशनालयले जनाएको छ । बिछ्याएको नया“ पाइप सफा भएपछि त्यसैबाट उपभोक्ताको धारामा पानी वितरण गरिने, तर पुराना पाइप जस्ताको तस्तै छाडिने प्रवक्ता ढकालले जानकारी दिए ।
‘पुरानो पाइप के गर्ने भनेर लामो छलफल पनि ग¥यौँ,’ उनले भने, ‘पाइप निकाल्दा सडक भत्कने र कतिपय स्थानका पाइप खियाले खाइसकेका मक्किएको हुनाले खासै फाइदा नहुने भएकाले त्यसै छाड्न लागेका हौँ ।’
मेलम्चीको पानी भर्न नौवटा रिजर्भवायर तयार
मेलम्चीको पानी उपभोक्ताको धारामा वितरणका लागि नौवटा रिजर्भवायरको निर्माण सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।
काठमाडौंको आरुबारी, महांकाल, बा“सबारी, पानीपोखरी, बालाजु, कीर्तिपुर, सातदोबाटोमा दुईवटा र ठिमीमा तीन हजारदेखि नौ हजार घनमिटर क्षमताका रिजर्भवायर निर्माण गरिएको छ । त्यस्तै, भक्तपुर कटुन्जेमा निर्माण गर्नुपर्ने रिजर्भवायरको निर्माण पनि सुरु भएको प्रवक्ता ढकालले बताए ।
नयाँ पत्रिकाबाट ।


1463 पटक हेरिएको 

