उदयपुर : उदयपुरमा कहिल्यै नसुक्ने पानीका मुहानहरु सुक्न थालेका छन् । जलवायु परिवर्तनका कारण उदयपुरको चुरे क्षेत्रको बस्तीमा खानेपानीको समस्या बढेको हो । पछिल्लो समय चुरे पहाडी क्षेत्रमा पानीको मुहान क्रमशः सुक्दै गएपछि समस्या बढेको हो ।
चुरे क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोत साधनमा अत्यधिक दोहन हुन थालेपछि पानीका स्रोतहरु सुकेका हुन् । चुरे क्षेत्रबाट निकालिएको ढुंगा, बालुवा, गिट्टी, माटो र वन विनाशबाट चुरे क्षेत्र नै विनाश हुँदै गएको छ । खानेपानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित छन् । चुरे जंगल आसपासका बस्तीमा भएका इनार, कुवा तथा ट्युबेलमा सुक्खा मौसम सुरु भएसँगै पानी ठप्पै हुने गरेको स्थानीयबासीको भनाइ छ ।
चुरे क्षेत्रमा बर्सेनी पानीको स्रोत सुक्न थालेको त्रियुगा नगरपालिका–३ मोतिगडाका प्रेमबहादुर कार्कीले बताउनुभयो । सुक्खा मौसम सुरु भएसँगै टोलमै खानेपानीको समस्या आएको उहाँले बताउनुभयो ।
पानीका स्रोत सुक्दा वन्यजन्तुसमेत प्रभावित बनेका छन् । चुरे वन क्षेत्रमा लोपोन्मुख निल गाई देखिनै छाडेको उदयपुरगढी गाउँपालिका हाडेबासका हर्कबहादुर मगरले बताउनुभयो ।
पानी सुक्न थालेपछि निल गाई, झारल, घोरल र मयूरजस्ता जंगली जनावर समेत हराउन थालेका छन् । उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिका चुरे क्षेत्रमा पर्छ । चुरे पहाडमा मुहान भएका सिरहा, सप्तरी र उदयपुरतर्फ बग्ने साना र ठूला गरी तीन दर्जन भन्दा बढी खोलामा पानी देखिन छोडेको छ ।
सिरहा र सप्तरीतर्फ तथा करिब दुई दर्जन खोला उदयपुरतर्फ बग्ने गरेका छन् । सिरहाको बलान र सप्तरीको महुली, खाडो लगायतका खोलामा वर्षातको समयमा पानीभन्दा बढी बालुवा र माटोको लेदो बग्ने गरेको सर्वसाधारण बताउँछन् ।


1048 पटक हेरिएको 

