मेलम्चीको पानी ६० दिनमा नआउने राष्ट्रिय सरोकार समितिको ठहर

काठमाडौ : खानेपानीमन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौमा नआउने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरेपछि मेलम्चीको पानी काठमाडौ तत्काल आउने सम्भावना नरहेको ठहर गरेको हो ।

सतही व्याख्या र अनुमान भन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडौ आउने सम्भावना नदेखिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दील कुमारी रावल थापाले जानकारी दिनुभयो ।

 

गत आईतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौ आउने दाबी गर्नुभएको थियो । उहाँले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने
र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पु-याउने दावी गर्नुभएको थियो ।

त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले दशै अगाडि नै मेलम्चीको पानी काठमाडौ आउने ठोकुवा गर्नुभएको थियो ।

मन्त्री र सचिवले आ आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको वास्तविक अवस्था  भने भिन्न छ । साँच्चै मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी काठमाडौ आउने अवस्था छैन ।

अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फाइनल फिनिसिङ , २ वटा भेन्टीलेसन साइट निर्माण , ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्विप्मेन्ट जडान लगायतका काम बाँकी रहेको छ ।

बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात २०७५ चैत सम्ममा सक्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कंडेलले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार