काठमाडौं : खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ।
मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गर्नुभएको छ ।
‘आयोजनाप्रति कहीं कतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ(आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएकोछ।
सीएमसीले भुक्तानी नपाएको कारण देखाउँदै काम रोकेपछि सचिव ठाकुरले आयोजना निर्माण तालिका प्रभावित नहुने भन्दै विज्ञप्ति जारी गर्नुभएको हो । मंसिर २७ सम्म भुक्तानी नपाए आपूmले काम नगर्ने चेतावनी सीएमसीले मन्त्रालयलाई पहिले नै दिइसकेको थियो। यो अवस्थामा आउनुमा मन्त्रालय नै जिम्मेवार रहेको सिएमसीको भनाई छ ।
खानेपानीमन्त्री बिना मगर, सचिव ठाकुर, आयोजना प्रमुख सूर्यप्रकाश कँडेल लगायतले केही महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने सार्वजनिक रूपमै घोषणा गर्दै आउनु भएको थियो ।


1053 पटक हेरिएको 

