खानेपानी तथा सरसफाइजन्य जोखिम कम गर्न विद्यार्थीले बनाए कार्ययोजना

काठमाडौ : चन्द्रगिरी नगरपालिकाको ब्राईट फ्यूचर सेकेण्डरी स्कुलमा अध्ययनरत स्तुति अर्यालले यसअघि शिक्षकले पढाएको सुन्ने, नबुझेको कुरा सोध्ने र शिक्षकले अह्राएको काम पूरा गर्ने भन्दा अरु काम गर्नै पाएकै थिइनन् ।

किताबमा लेखिएको कुरा घोक्न सक्ने भएपनि पढाईसँगै सम्बन्धित अतिरिक्त काममा उनको लगाव खासै थिएन । विद्यालयमा पनि खेलकुद, नाचगान, हाजिरी जवाफ प्रतियोगिता जस्ता कार्यक्रमहरु भएपनि समुदायमा गएर अन्तरक्रिया गर्ने, विद्यालय वरपरको वातावरण अवलोकन गर्ने जस्ता कार्यक्रमहरु यसअघि भएकै थिएन ।


विद्यालयमा जब बालबालिका केन्द्रित जोखिम मापन र योजना तर्जुमाका बारेमा सिक्ने अवसर पाइन् त्यसपछि स्तुतिले पढाईलाई फरक ढंगबाट बुझ्न थालिन् । ‘हामीले किताबमा भएका कुरा त पढेकै थियौं, तर किताबमा भएका कुरालाई पनि प्रयोगात्मक विधि र पर्याप्त पाठ्यसामग्रीहरु प्रयोग गरेर पढ्न पाउँदा हामीले राम्रो सँग बुझ्यौं’ बिगतमा पढेको कुराबारे सम्झिदै स्तुतिले भनिन् ।


पाठ्यवस्तुलाई गहिराईमा पुगेर अध्ययन गर्न पाउने स्तुति मात्र एक्ली छात्रा होइनन् । चन्द्रगिरी नगरपालिका भित्र स्थापित विद्यालयका धेरै बालबालिकाले पाठ्यपुस्तकमा समावेश गरिएका खानेपानी तथा सरसफाइसँग सम्बन्धित पाठ्यांशलाई राम्रो सँग बुझ्न थालेका छन् ।


युनिसेफ नेपालको आर्थिक सहयोग Minergy Initiative र चन्द्रगिरी नगरपालिकाको प्राविधिक सहयोगमा चन्द्रगिरी नगरपालिका भित्रका ११ वटा सामुदायिक विद्यालय र ९ वटा निजी विद्यालय गरी २० वटा विद्यालयमा बालबालिका केन्द्रित खानेपानी र सरसफाइजन्य जोखिम मापन र योजना तर्जुमा सम्बन्धी क्रियाकलाप गरेपछि विद्यार्थीहरुले पाठ्यपुस्तकमै भएको बिषयबस्तुलाई राम्रो सँग बुझ्न थालेका हुन् ।


यसका लागि Minergy Initiative ले पाठ्यपुस्तकमा भएको खानेपानी र सरसफाइ सँग बिषयवस्तुसँग सुहाउँदो पर्याप्त शैक्षिक सामग्री निर्माण गरी सम्बन्धित बिषय शिक्षकलाई उपलब्ध गराएको थियो । प्राप्त शैक्षिक सामग्रीको मद्दतबाट शिक्षकले बालबालिकालाई खानेपानी तथा सरसफाइजन्य जोखिम र खतरा पहिचान गर्ने बिषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।


माउण्ट चन्द्रगिरी हाईस्कुलमा अध्ययनरत सुधा घर्ती मगर भन्छिन् ‘हामीलाई खानेपानी तथा सरसफाइजन्य जोखिम भनेको के हो ? खतरा कसरी उत्पन्न हुन्छ ? अनि यसको न्यूनीकरणका लागि क –कसले के –के गर्न सक्छन् भन्ने केही पनि थाहा थिएन । तर मिनर्जी, युनिसेफ र चन्द्रगिरी नगरपालिकाले हामीलाई परम्परागत तरिका भन्दा फरक तरिकाले सिकाउनुभयो हामी सबै विद्यार्थी आभारी छौं ।’


विद्यार्थीहरुले खानेपानी तथा सरसफाइजन्य जोखिमका विषयमा थाहा पाएपछि समुदायको वस्तुस्थिति अवलोकन र स्थानीयबासिन्दा सँग अन्तरक्रिया गरेर खानेपानी र सरसफाइजन्य जोखिमको समेत लेखाजोखा गरेका छन् ।


समुदायमा खानेपानी तथा सरसफाइजन्य जोखिम पहिचान गरी ती जोखिम हुने समयलाई मौसमी पात्रोमा समावेश गरेका छन् । उनीहरुले सामाजिक नक्सा तयार पारी सामाजिक विवरण प्रस्तुत गरेका छन् ।


यसका साथै जोखिम न्यूनीकरणका उपायहरु पनि विद्यार्थीहरु आफैले निकालेका छन् । उनीहरुले ती जोखिम न्यूनीकरणका लागि क –कसको सहयोग आवश्यक पर्छ भन्ने आधारमा जिम्मेवार निकाय समेत छुट्याएका छन् । यसलाई उनीहरुले भेन डायग्राममा अटाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार