गुलाम मोहम्मद शेख
पृष्ठभूमि
‘कचनकवल’ स्थान र नाममात्र नभएर, एउटा विम्व रहेछ : कठिन, जटिल, विकट, चेतनाको अभाव, अशिक्षा, पछौटेपन, गरिबी…. । नेपालको समृद्ध पूर्वी प्रवेशद्वार झापामा पर्ने भए पनि सामाजिक परिवर्तन अभियानहरुले त्यति धेरै नछोएको गाउँपालिकाको रुपमा मैले बुझें, कचनकवललाई ।
करिब एक वर्ष झापामा रहेर खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्दा अधिकांश समय म कचनकवलमा नै रहें । बनियानीबाट थालनी भएको सहजीकरण सहयोग क्रमशः बालुवाडी, केचना, पाठामारी र पथरियासम्म पुग्यो ।
अभियानकै सन्दर्भमा जति पटक जिल्ला तहमा वा संस्थामा आएँ, एउटै भनाइ हुन्थ्यो : कचनकवलमा विपन्न छन्, दलित छन्, मुस्लिम छन्, पछाडि परेका वर्ग छन् । उनीहरुको चेतना छैन । कसरी चर्पी बनाउलान् र ? एकातर्फ सामाजिक जागरणमा कर्मी, अर्कोतर्फ आपूर्ति पक्ष ज्यादै कमजोर ।
चर्पी बनाउनका लागि अत्यावश्यक रिङ र स्ल्याब समेत कचनकवलमा पर्याप्त थिएनन् । कचनकवलभित्र पनि सबैभन्दा कम घरधुरीमा शौचालयको पहुँच रहेको पाठामारीमा त एउटै पनि रिङ उत्पादक थिएनन् ।
धेरै वर्षअघि नेपाल रेडक्रस सोसाइटी र अन्य सहयोगी निकायले उपलब्ध गराएको सहयोगबाट कतिपय घरमा चर्पी बनेको रहेछ । केहीले ती चर्पी प्रयोग गरिरहनुभएको थियो भने केही घरमा ती सामग्री प्रयोगविहिन अवस्थामा थिए । अर्काको जमिनमा अस्थायी छाप्रो बनाएर बस्नेहरु नै चर्पी बनाउन तयार थिएनन् । प्रधानाध्यापक र निर्वाचित प्रतिनिधिको घरमा समेत चर्पी थिएनन् । आफ्नै निजी कार चढेर हिड्नेहरु दिसा गर्न झाडीमा जान्थे ।
नेपाल सरकारका स्थायी कर्मचारी नै दिसा गर्न झाडीमा जान पाउनुपर्छ भन्ने हठका अगुवा थिए । युवतीहरुलाई खुल्लामा दिसा गर्दा लाज हुन्छ भन्ने कुराले पटक्कै छुँदैनथ्यो, आफ्नै श्रीमतीलाई गहना र महंगा कपडाले झकिझकाउ पार्न तयार हुने श्रीमान्हरुमा श्रीमतीको सुरक्षा, इज्जत र आत्मसम्मानका लागि चर्पी बनाउनुपर्छ भन्ने भावना थिएन । हिले सडकका कारण एक ठाउँका सामग्री अर्को ठाउँमा लैजान र एक ठाउँबाट अर्को ठाउँमा जान समेत कठिन थियो । नेपाली अभियानकर्ताको सरसफाइ र स्वच्छताका सन्देशभन्दा पनि भारतबाट झोलामा सुई र औषधी बोकेर आउनेहरुको भनाइले बढी ठाउँ पाउँथ्यो, कचनकवलमा ।
धनुषादेखि कचनकवलसम्म
भर्खरैमात्र आफ्नो जिम्मेवारीमा रहेका धनुषाका सुदूरपूर्वी साविकका गाविसहरुमा खुल्ला दिसामुक्त अभियान सहजीकरण गरी घोषणा भैरहेकै बेला, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले फोन गर्नुभयो, “मोहम्मदजी, तपाईका दाजुभाइलाई सुधार्नु¥यो, अब तपाई खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्न झापा आउनुस् ।” मेरो लागि, यो एकातर्फ अवसर थियो, अर्कोतर्फ चुनौति ।
मैले धनुषा जिल्लामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमसँग आवद्ध भएर नै खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको थिएँ, र त्यस ‘टिम’ भित्र रहेर फेरि काम गर्न पाउनु मेरा लागि अवसर थियो । तर, फरक जिल्ला र परिवेशमा भएको ठाउँमा पुगेर, कठिन मानिएको ठाउँमा अभियान सहजीकरण गर्नु आफैमा चुनौति थियो नै ।
कत्ति पनि ढिलो नगरी, म धनुषाबाट झापा आएँ, र विराट सामुदायिक अध्ययन केन्द्रसँग आवद्ध भएर केही दिन कनकाई नगरपालिकामा सहयोग गरी कचनकवल आइपुगें । कचनकवल आउनुभन्दा अगाडि जिल्ला संयोजक विनोद शर्मा, अध्ययन केन्द्रको तर्फबाट कार्यक्रम संयोजक महेन्द्र कार्की र बनियानीकै स्थानीय सहजकर्ता साथी बसन्त खड्कासँग कचनकवलको बारेमा विस्तृत जानकारी लिएँ । परिचालन र सहजीकरणका प्राविधिक पक्षमा जिल्ला संयोजक शर्माले प्रष्ट्याउनुभयो ।
दाजुभाइलाई सुधार्ने जिम्मेवारी
म मुस्लिम परिवारमा जन्मे हुर्केको मान्छे । साथी बसन्त खड्काले मेहनतपूर्वक सहजीकरण गर्दै साविक बनियानीका अन्य वडाहरु करिब खुल्ला दिसामुक्त अवस्थामा पुगेको भए पनि मुस्लिम बाहुल्य रहेका दुई वडाहरुमा चर्पी बन्ने दर ज्यादै न्यून थियो । त्यसैले पनि, विनोद शर्मा सरले मलाई ‘दाजुभाइलाई सुधार्न आउनुपर्छ’ भन्नुभएको रहेछ, किनकि सबै मुस्लिम परिवार मेरा दाजुभाइ नै थिए ।
साविक बनियानी वडा नं. १ र २ मा रहेका मुस्लिम बस्तीमा पुग्दा त्यहाँ पैसाको अभाव देखिएन । मात्र, उहाँहरुसँग नजिकिएर, घुलमिल भएर, उहाँहरुको चिन्तनमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भयो । त्यसैले, थालनीमै उहाँहरुलाई सरसफाइका पाठ पढाउनुभन्दा पनि उहाँहरुसँग अनौपचारिक कुराकानी गर्ने, समुदायमा देखिएको कमजोर सरसफाइको असरबारे सोधपुछ गर्ने र यसलाई धर्म र संस्कारसँग जोडेर लैजाने काम भयो ।
धार्मिक छलफलदेखि नमाज पढ्ने बेलासम्म पनि म पुग्न थालें । कुरानले सरसफाइलाई इमान मानेको छ भन्ने कुरा मुस्लिम समुदायमा प्रष्ट भैसकेपछि, समुदायलाई सरसफाइको बारेमा बुझाउन लामो समय लागेन । उहाँहरुसँगै मिलेर काम गर्दा चर्पी बन्न थाले । समुदाय सफा हुन थाल्यो, र घरआँगनको सरसफाइमा बालबालिकाको समेत सहभागिता जुट्न थाल्यो ।
घरमा चर्पी हुँदाहुँदै पनि खुल्लामा दिसा गर्ने जमात कायमै थियो । त्यसैले साँझ विहान खुल्लामा दिसा हुने ठाउँमा समुदाय मिलेर गश्ती गर्न थाल्यौं । आपूर्ति पक्ष व्यवस्थापन जोड दियौं । राजनीतिक दल, वडा अध्यक्ष, स्थानीय सहजकर्ता, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका सबैको सामुहिक प्रयासबाट बनियानी खुल्ला दिसामुक्त घोषणा गरिसकेपछि झनै फरक रणनीति अवलम्वन गर्नुपर्ने भयो ।
आपूर्ति पक्ष व्यवस्थापनदेखि व्यवहार परिवर्तनसम्म
कचनकवलका बाँकी स्थानका लागि आपूर्ति पक्षको व्यवस्थापन र अभियान सञ्चालन दुबै निकै जटिल थिए । १ हजार २१ घरधुरीमा रहेको पाठामारीमा जम्मा १ सय ४० घरमामात्र शौचालयको पहुँच थियो । बाँकी घरधुरीमा चर्पी बनाउनका लागि करिब पाँच हजार रिङ र एक हजार स्ल्याब आवश्यक पथ्र्यो । एक दिनमा १२ देखि १५ वटासम्म फर्माबाट प्रत्येक दिन पूरा क्षमतामा रिङ उत्पादन गरे पनि, करिब दुई महिना लाग्थ्यो, रिङको आपूर्ति हुन ।
रिङ उत्पादनमा यति ठूलो लगानी गर्न कोही पनि तयार थिएन । न त बाहिरबाट रिङ लगेर नै पाठामारी र केचनामा अभियान सफल पार्न सकिन्थ्यो । स्थानीय तहमा निर्माण सामग्रीको उपलब्धताले चर्पी बनाउनका लागि उत्प्रेरित गर्ने गरेको तथ्य हामीले यसअघि नै देखिसकेका थियौं । त्यसैले, बनियानीमा रहेका र अन्य स्थानका गरी दुई जना रिङ उत्पादकलाई पाठामारीमा लगेर, स्थानीय तहमा नै रिङ उत्पादन गर्न लगायौं ।
जनप्रतिनिधिले स्थानीय निर्वाचनको क्रममा गरेका वाचा कतिपय अवस्थामा अभियानका लागि घातक समेत बने । चर्पी बनाइदिउँला भनेर वाचा गरेका कारण कतिपय सक्षमहरुले पनि चर्पी बनाउन अटेर गरे । सबै घरधुरीलाई एउटै रणनीति र एउटै नीति अवलम्वन गर्न सम्भव पनि थिएन ।
त्यसैले विपन्न घरधुरीलाई सरसफाइसम्बन्धी आनिवानीमा परिवर्तन गर्न सहजीकरण गर्दै, सक्षमहरुलाई सामाजिक दवाव सृजना गर्ने, प्राविधिक सहयोग गर्ने र आपूर्ति पक्ष व्यवस्थापनमा जोड दिने नीति अवलम्वन गरियो ।
साविक केचनामा स्थानीय युवाको सहभागिता ज्यादै महत्वपूर्ण रह्यो । आपूर्ति पक्ष व्यवस्थापनदेखि घरदैलो र प्रज्वलनमा राजनीतिक दल र युवाहरुले खेलेको भूमिका महत्वपूर्ण छ । पथरियामा आपूर्ति पक्ष व्यवस्थापन निकै जटिल भयो ।
घेराबारीमा सहारा नेपालले सहजीकरण गरेको भए पनि, कचनकवलमा नै रहने भएकोले मैले नजिकबाट हेर्न पाएको छु त्यहाँको अभियानलाई समेत । आपूर्ति पक्षको व्यवस्थापन भैसकेपछि अभियानको तीव्रता र आवासीय परिचालन हुन नसक्दा अभियान निस्कर्षमा पुग्न घेराबारीमा धेरै लामो समय लाग्यो । स्थानीय सरोकारवालाले समयमै अगुवाइ नगर्दा बालुवाडीमा तोकिएको समयमा अभियान निस्कर्षमा पुग्न सकेन ।
हरियो झण्डा फहराउँदा खुशी
यी सबै उतारचढावका बावजूद पनि, २०७४ श्रावण १५ गते नेपालकै सबैभन्दा होचो भूभाग कचनकवलको साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भयो । एउटा उत्कण्ठा थियो ः केचना खुल्ला दिसामुक्त घोषणा हुने दिनमा नै झापा जिल्ला पूर्ण सरसफाइ अभियानको औपचारिक थालनी कचनकवल स्तम्भबाटै गर्ने ।

तर, कचनकवलभित्रका तीन वटा वडा खुल्ला दिसामुक्त घोषणा नभएका कारण पूर्ण सरसफाइ अभियानको थालनी त्यहीबाट गर्न सकिएन । तैपनि, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रतिनिधिहरुसँगै हामी अभियानकर्ताहरुले कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको हरियो झण्डा फहराउन पाउँदा, माटोका लागि योगदान दिन सकेको महसुस भयो ।
साविकका सबै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्दै २०७५ असोज २४ गते कचनकवल गाउँपालिका नै खुल्ला दिसामुक्त घोषणा भयो, र कचनकवलले सोही दिन पूर्ण सरसफाइ मार्गदर्शन समेत जारी ग¥यो । सधैंभरि समस्याको रुपमामात्र हेरिने कचनकवललाई जिल्ला सदरमुकामसमेत रहेको नेपालकै पुरानो नगरपालिका भद्रपुर, पूर्वको प्रवेशद्वार मेचीनगर र एक वर्षअघि नै खुल्ला दिसामुक्त अवस्थाको नजिक पुगेको हल्दिबारीभन्दा पहिले खुल्ला दिसामुक्त घोषणा गर्न पाउँदा, र अभियान सहजकर्ताको रुपमा त्यस सफलतामा जोडिन पाउँदा हर्ष लागेको छ ।

खोट समुदायमा होइन, हाम्रो चिन्तनमा छ, काम गर्ने तरिकामा छ र सामाजिक अभियान व्यवस्थापनमा छ भन्ने कुरा कचनकवल, झापा र गौरीगञ्जजस्ता गाउँपालिकाले देखाइसकेका छन् ।
कमजोर सरसफाइको अवस्था र दर्जनौं जटिलका बावजूद पनि यी स्थानीय तह अभियानको कुशल व्यवस्थापन हुन सकेकै कारण अपेक्षित छिटो खुल्ला दिसामुक्त घोषणा कुन सके । झापा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ, र पूर्ण सरसफाइ अभियानको थालनी भएको छ । अब विकासका अन्य सूचकहरुसँगै सरसफाइ नमूना स्थलहरुको विकास गर्दै लैजानुपर्नेछ ।
कचनकवलमा भएका सबै प्रयासहरुलाई सञ्चार माध्यमले बाहिर ल्याएर निकै सहयोग गर्नुभयो । सुरक्षाकर्मी र जनप्रतिनिधि र स्थानीय स्वयंसेवकहरुले आफ्नै दायित्वको अभियान सम्झिनुभयो, सहजकर्ताहरुको निरन्तर सहजीकरण अनुकरणीय रह्यो ।
समग्रमा, ‘टिमवर्क’ का कारण आज जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन सफल भएको छ । आभारी छु, ‘टिमवर्क’ मा प्रशिक्षित गर्ने र यहाँ आएर खुल्ला दिसामुक्त अभियान सहजीकरणको मौका दिने, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमप्रति ।
(शेख विराट सामुदायिक अध्ययन केन्द्रको तर्फबाट खुल्ला दिसामुक्त अभियान एरिया संयोजक हुनुहुन्छ)


1489 पटक हेरिएको 

