सुन्दरबजारमा ४ करोडको पानी प्रशोधन केन्द्र

 1804 पटक हेरिएको

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका ९ का स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउन पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।

लसुनेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २ वटा पानी प्रशोधन केन्द्र निर्माण गरेको हो । समितिका अध्यक्ष प्रेम जि.सी.का अनुसार फेदीकुना सालघारी र सिख्रमा पानी प्रशोधन केन्द्र निर्माण गरिएको हो । नेपाल सरकारको ८० प्रतिशत र उपभोक्ता समितिको २० प्रतिशत लगानी गरी ४ करोड ११ लाख ६८ हजार ८ सय १० रुपियाँमा प्रशोधन केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । ‘पहिलेको खानेपानी फोहोर आउने गुनासो बढ्न थालेपछि सरकारी योजनामा खानेपानी प्रशोधन केन्द्र निर्माण ग-यौं’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार फेदीकुनामा रहेको प्रशोधन केन्द्रबाट प्रति सेकेण्ड ६ लिटर पानी प्रशोधन हुन्छ । सिख्रमा रहेको प्रशोधन केन्द्रबाट प्रति सेकेण्ड ३ लिटर पानी प्रशोधन हुन्छ । उपाध्यक्ष इन्द्रबहादुर गुरुङका अनुसार प्रशोधन केन्द्रमा ३ तहबाट पानी प्रशोधन गरिएको छ ।

लसुनेखोला र सिस्नेरीको मुहानबाट पानी ल्याई प्रशोधन केन्द्रमा जम्मा गरिएको छ । यसअघि सिधैं ट्याङ्कीको पानी धारामा ल्याउने गरिएको थियो । अहिले प्रशोधित भएर मात्र धारामा आउँछ ।

समितिका अनुसार प्रशोधन केन्द्रको काम २०७३ सालबाट सुरु गरिएको थियो । प्रशोधन केन्द्र निर्माणपछि सिउँडीबार, पैरे, फुलबारी र फेदीकुनाका ६ सय ५९ निजी घरमा धारा जडान गरिएको छ । खानेपानीबाट ६ हजार पाँचसय नागरिक लाभान्वित समितिका सचिव मुरारी भुजेलले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताले घरघरै शुद्ध खानेपानी पाएका छन् ।


खनेपानी प्रशोधन केन्द्रबाट मासिक एक करोड लिटर पानी वितरण भइरहेको समितिले जनाएको छ । खानेपानीको माग हरेक महिना १ करोड ३६ लाख ५० हजार लिटर छ । आयोजनामा कुनै अवरोध नआए मासिक १ करोड २९ लाख ६० हजार लिटर पानी वितरण गर्न सकिने अध्यक्ष जि.सी.ले बताउनुभयो । पानी वितरणको मात्रा बर्खायाममा भने बढी हुन्छ ।

शुद्ध खानेपानी भन्दै यसअघि नजिकैको खोल्सा, खोला, कुवामा धाउँदै आएका स्थानीय अहिले घरघरमै शुद्ध खानेपानी आएपछि खुसी भएका छन् । सुन्दरबजार ९ फूलबारी टोलकी सूर्जेदेवी डौलियाले शुद्ध खानेपानी पाउँदा खुसी लागेको बताउनुभयो । ‘पहिले पानी त आउथ्यो । तर, फोहोर मिसिएको आउथ्यो । अहिले २४ सैं घण्टा शुद्ध खानेपानी पाएका छौं’ उहाँले भन्नुभयो, ‘अब त, न कुनै रोगले समाउला भन्ने डर । न पानीको समस्या होला भन्ने पीर । आनन्द छ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार