लमजुङ : लमजुङको राइनास नगरपालिका ८ हर्राबोटस्थित सर्वोदय सेवा आश्रममा मर्स्याङदी तारेर खानेपानी ल्याइएको छ । आश्रममा आश्रित बृद्धबृद्धालाई खानेपानीको राम्रो व्यवस्था गर्न मर्स्याङदी पारी तनहुँको तुरतुरे मूलबाट पानी ल्याइएको हो ।

गत भदौ २७ गतेको बर्षाले मर्स्याङदीमा आएको बाढीका कारण सोही ठाउँबाट ल्याएको खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको थियो ।
आश्रमका अध्यक्ष कृष्णराज ओलियाका अनुसार खानेपानीको पाइप बगाएकाले खानेपानीको ठूलो समस्या थियो । ‘खानेपानीको पाइप नै लग्यो । कसरी पानीको जोहो गर्ने भन्ने चिन्ता भयो । हर्राबोट गाउँमा जडान गरिएको धाराबाट पानी ल्याउन बाध्य भयौं । अहिले पुनः खानेपानी पाएका छौं । सहज हुने भो’ उहाँले भन्नुभयो ।
हर्राबोट गाउँबाट एउटा धारा आश्रमको लागि भनेर सहयोग गरिएको र विहान २ घण्टा मात्र पानी आउने भएकाले पानी प्रयोग गर्न समस्या रहेको उहाँले बताउनुभयो । अहिले पाइप जडानपछि २४ सैं घण्टा पानी पाउने भएपछि बृद्धबृद्धा समेत खुसी भएका छन् ।
आश्रममा खानेपानीको व्यवस्था मिलाउन नेपाली सेनाको उदीपुरस्थित श्री जंग गणका टोलीको सहयोगमा पाइप टाँगिएको हो । भोटे ओडारको फुलबारी सुरक्षा पोष्टका क्याप्टेन रामकुमार थापाको कमाण्डमा २१ जना सेनाले आश्रममा मर्स्याङदी पारीबाट १६ एमएमको फलामे लठ्ठा र ३२ एमएमको १००/१०० मिटर पोलिथिन पाइप टाँगेको आश्रमका अध्यक्ष ओलियाले बताउनुभयो ।

खानेपानी ल्याउनका लागि पाइप टाँग्न लमजुङ विद्युत उपभोक्ता संस्थाका प्राविधिकले समेत सहयोग गरेको उहाँले बताउनुभयो ।
आश्रममा खानेपानी ल्याउन राइनास नगरपालिकाले समेत एक लाख रुपैयाँ बराबरको २०० मिटर पाइप र २०० मिटर फलामको लठ्ठा उपलब्ध गराएको थियो ।



1696 पटक हेरिएको 

