मकवानपुर : खानेपानीको महसुल तिर्न जाँदा लाइन बस्नुपर्ने झण्झटबाट अब मुक्त हुने भएको छ । तर नझुक्किनुहोस्, देशका सबै भेगमा यो सेवा लागु भएको छैन ।
प्रविधिको प्रयोग गरेर मकवानपुरका ग्राहकले मात्र खानेपानीको महसुल घरमै बसेर तिर्न सकिने व्यवस्था गरिएको हो । खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडाले आफ्ना ग्राहकका लागि यस्तो सुविधा ल्याएको हो ।
मोबाईल एप ‘इनेट पे ’ र ‘खल्ती एप ’ बाट खानेपानीको पैसा तिर्न सकिने खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका संजय न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार चाँडै इ–सेवाबाट पनि पैसा तिर्न मिल्ने गरी सेवा सञ्चालन गरिनेछ । खानेपानीको महसुल बुझाउन टाढाबाट आउने ग्राहकलाई हुने समस्या र लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्न प्रविधिको प्रयोग गरिएको न्यौपानेले बताउनुभयो । ‘टाढा बाट आउनुपर्दा खर्चालु हुने, झन्झट हुने र भनेको समयमा भुक्तानी गर्न नपाउँदा समयको समेत बर्बाद हुने गरेको थियो । अब यस्तो कष्ट हुने छैन’ उहाँले भन्नुभयो ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हाल १६ हजार ५३१ वटा धाराबाट १ लाख १४ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आईरहेको छ ।


1590 पटक हेरिएको 

